तीर्थयात्रीलाई हिल्साबाट फर्कन आग्रह
सुर्खेत: रसुवामा भोटेकोशी बाढीपछि चीनसँगको हुम्लास्थित हिल्सा नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकका लागि अध्यागमन विभागले अस्थायी व्यवस्था गरेको छ । रसुवाको टिमुरेहुँदै चीन प्रवेश गर्ने सडक, पुललगायत भौतिक संरचनामा बाढीका कारण क्षति पुगेपछि विभागले यस्तो व्यवस्था गरेको हो ।
अध्यागमन विभागका अनुसार विदेशी नागरिकले १३ जिल्लाका प्रचलित अध्यागमन कानुनबमोजिम तोकिएका निषेधित क्षेत्रमा पदयात्रा गर्दा विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ । कैलाश मानसरोवर तीर्थयात्राको उपयुक्त समय रहेकाले ठूलो संख्यामा भारतलगायत अन्य मुलुकका नागरिक रसुवा जिल्लाको टिमुरेमा रहेको अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिएर रसुवागढी सीमाबाट चीन प्रस्थान गरेका छन् ।
तर, १० भदौमा रसुवा जिल्लाको टिमुरे क्षेत्र हुँदै बग्ने भोटेकोसी नदीमा आएको बाढीका कारण सो क्षेत्र हुँदै चीन प्रवेश गर्ने सडक, पुललगायत भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । उक्त यात्रामा गएका तीर्थयात्रीहरू सोही बाटो हुँदै पुनः फर्कन सक्ने अवस्था नरहेकाले नेपाल–चीन सीमाको हिल्सा नाका र सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकासमेत नेपाल फर्किने विकल्पका रूपमा रहेको विभागले जनाएको छ ।
अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ बमोजिम हिल्सा नाकाबाट नेपाल प्रवेश गर्दा विदेशी नागरिकहरूले निषेधित क्षेत्र प्रयोग गर्नुपर्ने र त्यसका लागि तोकिएबमोजिमको पदयात्रा दस्तुर तिर्नुपर्ने व्यवस्था छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै मानवीय सुरक्षालाई पहिलो प्राथमिकतामा राखी कैलाश मानसरोवर तीर्थयात्रीको सहज आवतजावत सुनिश्चित गर्न ११ भदौदेखि लागू हुने गरी एक हप्ताका लागि हुम्लास्थित हिल्सा नाकाबाट नेपाल प्रवेश गर्दा सम्बन्धित अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिएका कैलाश मानसरोवर तीर्थयात्रीबाट फर्किने विदेशी नागरिकका लागि उक्त निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिनाहा गरिएको विभागले जनाएको छ । साथै, उक्त क्षेत्रमा पदयात्रा अनुमतिका लागि विदेशी नागरिक र ट्रेकिङ गाइडको बीमा तथा ट्रेकिङ गाइडसम्बन्धी व्यवस्थालाई अनिवार्य गरिएको सूचना पनि सरोकारवाला सबैलाई गराइएको छ ।
प्रकाशित मितिः १५ भाद्र २०८३, सोमबार १८:०८
साझा बिसौनी ।