सम्पर्कविहीन ७४ जना भेटिए
सुर्खेत: रसुवामा आएको बाढीपछि बेपत्ता भएका कर्णाली प्रदेशका ७४ जना सम्पर्कमा आएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी सन्तोष सिंह राठौरका अनुसार रसुवा बाढीपछि कर्णालीका नागरिक ठूलो संख्यामा सम्पर्कविहीन भएका थिए । त्यसमध्ये आइतवारसम्म ७४ जना सम्पर्कमा आएका छन् ।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा दुई सय २६ जना पुरुष, ३३ जना महिला, पाँच जना बालक र तीन जना बालिका छन् । सम्पर्कमा आएका ७४ जनामध्ये ६८ जना पुरुष, पाँच जना महिला र एक जना बालक रहेका छन् । सम्पर्कमा आउन बाँकी एक सय ९६ जनामा एक सय ६२ जना पुरुष, २७ जना महिला, चार जना बालक र तीन जना बालिका छन् ।
जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै जुम्लाका नागरिक सम्पर्कविहीन भएका छन् । जुम्लाबाट एक सय १० जना सम्पर्कविहीन रहेकामा ३२ जना सम्पर्कमा आएका छन् भने ८१ जनाको अवस्था अझै अज्ञात छ । सल्यानबाट ५९ जना सम्पर्कविहीन भएका छन् । तीमध्ये चार जना सम्पर्कमा आएका छन् भने ५५ जना सम्पर्कमा आउन बाँकी छन् । सल्यानका सम्पर्कविहीनमध्ये ४५ जना पुरुष, ११ जना महिला, दुई जना बालक र एक जना बालिका छन् ।
सुर्खेतबाट २० जना सम्पर्कविहीन भएकामा तीन जना सम्पर्कमा आएका छन् । १७ जना अझै सम्पर्कमा आउन बाँकी छन् । रुकुम पश्चिमबाट १९ जना सम्पर्कविहीन भएकामा १० जना सम्पर्कमा आएका छन् भने नौ जनाको अवस्था अज्ञात छ । मुगुबाट १९ जना सम्पर्कविहीन भएकामा आठ जना सम्पर्कमा आएका छन् भने ११ जना सम्पर्कमा आउन बाँकी छन् । हुम्लाबाट १२ जना सम्पर्कविहीन भएकामा पाँच जना सम्पर्कमा आएका छन् भने सात जना सम्पर्कमा आउन बाँकी छन् । जाजरकोटबाट ११ जना सम्पर्कविहीन भएकामा आठ जना सम्पर्कमा आएका छन् । तीन जना अझै सम्पर्कविहीन छन् । दैलेखबाट सात जना सम्पर्कविहीन भएकामा दुई जना सम्पर्कमा आएका छन् भने पाँच जनाको अवस्था अज्ञात छ ।
कालीकोटबाट ६ जना सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ । उनीहरूमध्ये अहिलेसम्म कोही पनि सम्पर्कमा आएका छैनन् । डोल्पाबाट चार जना सम्पर्कविहीन भएकामा दुई जना सम्पर्कमा आएका छन् भने दुई जनाको अवस्था अझै अज्ञात छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार रसुवा बाढीपछि सम्पर्कविहीन भएका नागरिकको अवस्था यकिन गर्न खोजी तथा आवश्यक समन्वय भइरहेको छ ।
प्रकाशित मितिः १५ भाद्र २०८३, सोमबार १८:०५
साझा बिसौनी ।