बाढीपीडितलाई राहत
रसुवाको भोटेकोशी र त्रिशुलीमा विनाशकारी बाढी आएको पाँच दिन बितिसकेको छ । बाढीको वेग रोकिएको छ, पानीको सतह केही सामान्य बन्दै गएको छ, तर विपत्तिले छाडेको पीडा अझै कायमै छ । बाढीले पु¥याएको क्षति यकीन भइसकेको छैन । सात सयजना भन्दा बढीको मृत्यु भएको पृष्टि भइसकेको छ । दुई हजार जनाभन्दा बढी अझै बेपत्ता छन् । उनीहरूको खोजी कार्य चलिरहेको छ । कतै आफन्तको खोजी भइरहेको छ, कतै घरबारविहीन परिवार खुला आकाशमुनि छन् । कतै बाढीले बगाएका संरचनाको भग्नावशेष छ, कतै आफ्नो मान्छे फर्केर आउने आशामा परिवारका सदस्यहरू बाटो हेरिरहेका छन् । सरकारले खोजी तथा उद्धार कार्यलाई अघि बढाइरहेको छ, यद्यपि त्यसले अपेक्षाकृत गति लिएको छैन ।
बाढी आएको पाँच दिन बितिसक्दा पनि खोजी तथा उद्धारको काम पूर्णरूपमा सम्पन्न हुन नसक्नु गम्भीर विषय हो । विपद्को प्रारम्भिक समय जति महत्वपूर्ण हुन्छ, त्यसपछिका केही दिन पनि उत्तिकै संवेदनशील हुन्छन् । हराइरहेकाहरूको खोजीमा प्रत्येक घण्टा महत्वपूर्ण हुन्छ । त्यसैले अब उद्धार कार्यलाई सामान्य प्रशासनिक प्रक्रियाका रूपमा होइन, समयसँग प्रतिस्पर्धा गर्नुपर्ने आपत्कालीन अभियानका रूपमा अघि बढाउन आवश्यक छ । यति ठूलो विपत्तिका बीच उपलब्ध जनशक्ति, प्रविधि र स्रोतसाधनलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने देखिन्छ । सम्भावित जोखिमयुक्त स्थानमा खोजीका लागि आवश्यक उपकरण, दक्ष जनशक्ति र प्रविधिको प्रयोग बढाउनुपर्छ । उद्धारसँगै राहत वितरणमा पनि गति आवश्यक छ । बाढीबाट विस्थापित परिवारका लागि अहिलेको सबैभन्दा ठूलो आवश्यकता सुरक्षित आश्रय, खाद्यान्न, खानेपानी, कपडा, औषधि र सरसफाइ हो । राहत पुगेको छ कि छैन भन्ने मात्र होइन, कसलाई कति आवश्यक छ र कसले अझै राहत पाउन सकेको छैन भन्ने विवरण यकिन गरेर राहत वितरण गर्नुपर्छ । अझै पनि सबै क्षेत्रमा पर्याप्त राहत नपुगेको खबर सार्वजनिक भइरहेका छन् । यसतर्फ सरकारको विशेष ध्यान जान जरुरी छ ।
विपद्का बेला सबैभन्दा बढी प्रभावित, असहाय, बालबालिका, वृद्धवृद्धा र जोखिममा रहेका परिवारलाई पहिलो प्राथमिकतामा राखिनुपर्छ । राहत वितरणमा पारदर्शिता कायम गर्दै वास्तविक पीडितसम्म राहत पुगेको सुनिश्चित गर्नुपर्छ । अर्कोतर्फ, बाढीपछि उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमप्रति पनि समयमै सचेत हुनुपर्छ । दूषित पानी, फोहोर तथा भग्नावशेषका कारण महामारीजन्य रोग फैलिन सक्ने जोखिम रहन्छ । त्यसैले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन, खानेपानीको व्यवस्था र सरसफाइलाई उद्धार तथा राहतकै अभिन्न अंगका रूपमा अघि बढाउनुपर्छ । हराइरहेकाहरूको खोजी, जोखिममा रहेकाहरूको उद्धार र प्रभावित परिवारसम्म तत्काल राहत अहिलेको आवश्यकता हो ।
प्रकाशित मितिः १५ भाद्र २०८३, सोमबार ०५:०३
सम्पादकीय ।