व्यवस्थित सडक योजना
सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले व्यवस्थित सडक योजना ल्याएको छ । तर ती योजनाको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । यो वर्षपनि सुरक्षित सडकको योजना कार्यान्वयन गर्न लागेको नगरपालिकाले जनाएको छ ।
सचेतनादेखि पूर्वाधार निर्माणसम्मको योजना कार्यान्वयन गर्न लागिएको नगरप्रमुख मोहनमाया ढाकालले बताइन् । सडक विकासको आधारभूत पूर्वाधार भएपनि सचेतना नहुँदा दुर्घटना हुने गरेको भन्दै उनले यसको सम्बन्ध यात्रुहरूको सहज यात्रासँग मात्र जोडिएको नभइ विकासका अन्य पूर्वाधार निर्माण र विस्तारसँग पनि जोडिने भएकाले प्रभावकारी योजना कार्यान्वयनमा विशेष ध्यान दिन खोजेको जानकारी दिइन् ।
यात्रुहरूका साथसाथै सवारीका साधनहरू पनि सडकमै गुड्छन् । सहरी क्षेत्रमा त पैदल यात्रु र सवारीका अधिक चाप हुने भएकाले नगरपालिकाले बढी चाप हुने स्थानमा प्रभावकारी योजना कार्यान्वयन गर्न लागेको हो । वीरेन्द्रनगरमा हरेक दिनजसो सानो तथा ठूला सवारी दुर्घटनाका घटना हुनेगरेका छन् । जसमा परेर कतिपयको ज्यान जाने गरेको छ भने कतिपय घाइते भइरहेका छन् । सडकको सदुपयोग सही तरिकाले गर्नका लागि नगरपालिकाले सचेतना कार्यक्रमसमेत राखेको छ । सडक अनुसारको परिपालना अनिवार्य हुने जनाइएको छ ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा भने सडक अनुशासनको पालना हुने गरेको छैन । हेलचक्य्राइँ बढ्दा जोखिम पनि बढाएको नगरपालिकाका इन्जिनियर यज्ञबहादुर कार्कीले बताए । उनका अनुसार पछिल्लो समय वीरेन्द्रनगरमा सहरीकरण बढ्दै छ । सहरीकरणसँगै मानिसको चाप बढ्दा जोखिम पनि बढेको उनको भनाइ छ । अहिले जोखिम न्यूनिकरणका लागि योजना कार्यान्वयन गर्न लागिएको जनाइएको छ । मानिसको चाप बढेसँगै सवारीका साधनहरूको चाप पनि अधिक भएकाले सोही अनुसारका सावधानी अपनाउने खालका कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।
वीरेन्द्रनगरका अधिकांश सडक साँघुरा छन् । त्यसमाथि सडक प्रयोगमा हेलचक्य्राइँ हुँदा थप जोखिम बढेको इन्जिनियर कार्कीले बताए । फुटपाथ पैदल यात्रुले प्रयोग गर्न नपाइएको वडा नं. ६ का स्थानीय रामबहादुर सार्की बताउँछन् । सडक छेउका व्यवसायीहरूले सामान राख्दा हिँड्डूल गर्न समस्या भइरहेको उनको भनाइ छ । यात्रु र सवारी साधन मूल सडकमै हिँड्ने र गुड्ने हुँदा दुर्घटनाको जोखिम झन् बढी हुने गरेको उनले सुनाए । साइकल लेन, जेब्राक्रस, सडक बत्तीलगायतका ठाउँमा जथाभावी रूपमा बाटो काट्दा समस्या भएको हो । सीमित ठाउँमा बनाइएका जेब्रा क्रसको प्रयोग नै हुँदैन । जेब्रा क्रस सडक सुरक्षाको लागि महŒवपूर्ण भएपनि जहाँ पायो त्यहीँबाट बाटो काट्दा दुर्घटनाको डर हुने हुँदा पैदल यात्रुलाई बाटो काट्नका लागि सहज र सुरक्षित बनाउन थप जेब्रा क्रस बनाउने योजना रहेको नगरपालिकाले जनाएको छ । वीरेन्द्रनगरका मुख्य बजार क्षेत्रमा बनाइएका जेब्रा क्रस पनि प्रयोगविहीन छन् ।
जेब्रा क्रस नहुँदा सवारी चलाउने र पैदल यात्री दुवैलाई समस्या हुने गरेको छ । हेलचक्य्राइँ कुनै एक पक्षबाट मात्र पनि भएको छैन । पैदल यात्रु, सवारी चालकका साथै नियम पालना गराउनुपर्ने निकाय ट्राफिक प्रहरीबाट पनि बेवास्ता हुने गरेको छ । यात्रुले जहाँकहीँबाट बाटो काटिरहेका हुन्छन् । जेब्रा क्रससम्म पुग्दैनन् । अर्कोतर्फ सवारी चालकहरू जेब्रा क्रस भएको स्थानमा पनि गति कम नगरेर सवारी हाँक्छन्, यात्रु नै डराउनु पर्नेगरी । दुवै पक्षले नियम पालना नगरेपछि जेब्रा क्रस हुनुको पनि कुनै अर्थ रहेन । त्यसमाथि ट्राफिक प्रहरीको कर्तव्य सडक अनुशासन पालना गराउनु, नियम लागू गर्नु र पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउनु हो । तर नियमनकारी निकायले नै बेवास्ता गरिरहेको छ । मुख्य चोकमै नियमविपरित यात्रुहरूले बाटो काटिरहँदा नजिकै रहेका प्रहरी मुकदर्शक बनिरहेका हुन्छन् । यो अवस्थाको अन्त्य गरी सडक अनुशासन पालना गराउन सके अहिले भइरहेको दुर्घटना र त्यसले निम्त्याउने क्षति न्यूनीकरण हुने स्थानीय शिवराम चौलागाईको भनाइ छ ।
प्रकाशित मितिः १३ भाद्र २०८३, शनिबार १५:४६
रजनी याेगी ।