मुख्यमन्त्रीको अक्षमता

मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको करिब एक महिना भयो । तर अहिलेसम्म उनको मन्त्रीमण्डलले पूर्णता पाएको छैन । अझ रोचक त के छ भने शाही संसदीय दलको नेता रहेको नेपाली कम्युनिष्ट पार्टी(नेकपा) भित्रको अन्तरकलहकै कारण उनले सरकारलाई पूर्णता दिन सकेका छैनन् । मन्त्री नियुक्तिमा विलम्ब भइरहेको छ । नेकपा (एमाले)को समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् । सुरुवातमा दुई दलबीच मन्त्रालयको भागबण्डा मिलेको थिएन । जसले गर्दा केही समय सरकार विस्तार हुन सकेन । यद्यपि, दुई दलबीच भागबण्डामा सहमति भएपछि एमालेबाट सरकारमा सहभागी हुने तीनजना मन्त्री नियुक्त भइसकेका छन् । तर सरकारको नेतृत्व गरिरहेको दलबाटै मन्त्री नियुक्त भएका छैनन् ।

नेकपाभित्र मन्त्री छनोटमा विवाद देखिएको छ । नेकपाभित्रको विवादकै कारण सोमवार नयाँ मन्त्री नियुक्ती र उनीहरूको शपथका लागि गरिएको तयारी पनि अन्तिममा स्थगित भएको थियो । जसले नेकपाभित्रको विवाद छताछुल्ल पारिदिएको छ । मुख्यमन्त्री शाहीले आफ्नै दलभित्रको विवाद मिलाउन सकेका छैनन् । प्रदेशमा नमिलेपछि अब केन्द्रीय नेतृत्वले नै मन्त्री छनोट गर्ने जनाइएको छ । मुख्यमन्त्री शाहीले सोमवार बिहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरूको शपथका लागि समय माग गरेका थिए । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले सरोकारवाला सबैलाई ११ बजे शपथ कार्यक्रममा उपस्थितका लागि जानकारी गराइसकेको थियो । मुख्यमन्त्री शाहीले १० बजेसम्म पनि नियुक्त गर्नुपर्ने व्यक्तिका नाम सिफारिस गर्न सकेनन् । पछि एक्कासी मुख्यमन्त्री शाही नै प्रदेश प्रमुखको कार्यालयमा पुगेर कार्यक्रम रोकिदिन आग्रह गरे । मन्त्री बन्न चाहने सांसदको संख्या धेरै भएपछि समस्या भएको हो । तीन जनाको नाममा सहमती जुट्न नसकेपछि अब त्यसको टुँगो लगाउने जिम्मा केन्द्रलाई नै दिइएको छ । मन्त्रीका लागि आकांक्षी सातजनाको नाम केन्द्रमा पठाइएको जनाइएको छ ।

अब मन्त्रीको छनोट केन्द्रबाट नै हुने भएको छ । भागबन्डाअनुसार नेकपाको भागमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेका छन् । तीन पदमा आकांक्षीको संख्या धेरै छ । एकातिर सत्ता स्वार्थका कारण दलहरूबीच हुने खिचातानी, त्यसमाथि दलहरूभित्रैको अन्तरकलहका कारण नेपाली राजनीति विकृत हुँदै आएको छ । परम्परागत दलहरूप्रति नागरिक निराश हुनुका पछाडि यिनै कारणहरू छन् । यद्यपि, दलहरू भने आफ्नो व्यवहारमा सुधार ल्याउन खोजिरहेका छैनन् । मुख्यमन्त्री नियुक्त भएको महिना दिनसम्म पनि आफ्नै दलबाट मन्त्री छनोट गर्न नसक्नु र विलम्ब गर्नुले स्वयम् मुख्यमन्त्रीको पनि अक्षमता देखाउँछ ।

प्रकाशित मितिः   ११ भाद्र २०८३, बिहीबार ०९:३७