अप्रत्यासित बाढी, अकल्पनीय क्षति
सुर्खेत: भोटेकोशीमा आएको बाढीका कारण अकल्पनीय क्षति भएको छ । रसुवा, नुवाकोट र धादिङसहित तीन जिल्लामा ठूलो भौतिक र मानवीय क्षति भएको हो । चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशुली नदी किनारका धेरै बस्तीहरू बगेका छन् । सरकारले तीन जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ ।
यसक्षेत्रका राजमागर्ग बगेका छन् । ठूला जलविद्युत परियोजनाहरूमा क्षति पुगेको छ । बिहानै आएको बाढीका कारण भएको क्षतिबारे यकीन भइसकेको छैन । मानिसहरूको उद्धार र खोजी कार्य जारी छ । यो समाचार तयार पार्दासम्म बाढीका कारण करिब एक सय जनाको मृत्यु भएको पुष्टि भएको छ । निकै ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन छन् ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत गरिरहेको छ ।
नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा गएको हिमपहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र त्यही बाढी उग्र रूप लिँदै त्रिशूली नदीमा प्रवेश गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ । प्राधिकरणले प्लानेट ल्याबको स्याटलाइट तस्बिर विश्लेषण गरेर यस्तो निष्कर्ष निकालेको हो ।
रसुवादेखि चितवनसम्म ठूलो भौतिक र मानवीय क्षति गराएको ल्हेन्दे खोलाको बाढी पछिल्लो १४ महिनामा दोस्रो पटक आएको इसिमोड नेपालका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ शाश्वत सान्यालले बताएका छन् । ‘यसपटकको बाढी सम्भवतः हिमपहिरोका कारण नदी (ल्हेन्दे) थुनिएर अचानक तलतिर पानीको ठूलो बहाव आएको हुन सक्छ । तर थप जानकारी प्राप्त हुँदै रहेकाले यसको पुष्टि हुन बाँकी छ,’ उनले भने ।
इसिमोड नेपालका जलवायु तथा वातावरणीय जोखिम प्रमुख छ्याङगङ झाङले पनि गत वर्ष रसुवामा आएको बाढीले तहसनहस पारेको यही क्षेत्र फेरि जोखिममा परेको बताएका छन् । ‘ल्हेन्दे खोलामा हिमपहिरोसँगै ढुंगा–चट्टान खसेर नदी थुनिनु बाढीको कारण हुनसक्ने देखिएको छ । तर यसको वास्तविक कारण अझै पुष्टि भएको छैन,’ उनले भने, ‘नेपाल–चीन सीमामा रहेको यस नदीको माथिल्लो भागमा अझै अवरोध कायम रहेकाले दोस्रोपटक पनि बाढी आउन सक्ने चेतावनी दिइएको छ ।’
चार जिल्लामा भारी वर्षाको पूर्वानुमान
कर्णालीका पहाडी जिल्लाका केही भू–भागमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले भदौ ११ र १२ गते धेरै वर्षा हुन सक्ने पूर्वानुमानसहित दैलेख, सुर्खेत, सल्यान र रुकुमपश्चिमका जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
बाढी, पहिरो तथा अन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रदेशका सबै सुरक्षा तथा सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइएको छ । भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै दैलेखको महाबु, बाजुराको बडिमालिका, मुगुको ऋणमोक्षधाम र जुम्लाको ठाकुरज्यूलगायत क्षेत्रमा तीर्थयात्रा तथा पदयात्रामा रहेका यात्रुहरूलाई प्रयोग गर्ने सडक तथा पैदलमार्गको मौसम अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गर्ने निर्णय विपद् व्यवस्थापन समन्वयात्मक बैठकले गरेको हो ।
कर्णाली प्रदेशमा पछिल्लो समय बाढी तथा पहिरोका घटना बढिरहेका बेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । कर्णालीका प्रमुख सचिव राधिका अर्यालले सबै सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई विपद् जोखिमको अवस्थामा तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहेको बताइन् ।
यसैबीच, बैठकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाप्रति बैठकले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ । रसुवाको घटनामा कर्णाली प्रदेशका नागरिकसमेत प्रभावित भएको हुन सक्ने भन्दै विभिन्न कामको सिलसिलामा तथा तीर्थयात्रामा रहेका नागरिकको तथ्यांक संकलन गरी उनीहरूका परिवारसँग सम्पर्क स्थापित गर्ने व्यवस्था मिलाउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको छ ।
त्यसैगरी जाजरकोटमा बाढी तथा पहिरोबाट प्रभावित व्यक्तिका लागि सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबाट भइरहेका उद्धार तथा राहतसम्बन्धी कामको जानकारी बैठकमा लिइएको छ । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट संकलन हुने विपद्सम्बन्धी घटनाका प्रमुख सूचकहरूको विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना बोर्डमा नियमित रूपमा प्रकाशन गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरिएको छ । विपद्को जोखिम कायम रहेसम्म प्रदेशअन्तर्गतका कार्यालय प्रमुख तथा जिम्मेवार कर्मचारीलाई अतिआवश्यक कामबाहेक बिदामा नबस्न र अत्यावश्यक काम परे वैकल्पिक व्यवस्था मिलाएर मात्र बिदामा बस्न निर्देशन दिइएको छ ।
प्रकाशित मितिः ११ भाद्र २०८३, बिहीबार ०९:४३



साझा बिसौनी ।