उपमहानगरमा स्तरोन्नति गर्ने लक्ष्य

सुर्खेत: कर्णाली प्रदेशको अग्रणी स्थानीय तह हो, वीरेन्द्रनगर नगरपालिका । प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर विकासका दृष्टिले पनि कर्णालीका अन्य पालिकाको तुलनामा अगाडि छ । जनसंख्यादेखि पूर्वाधार विकासलगायतका कोणबाट हेर्दा वीरेन्द्रनगर अब उपमहानगरपालिका बन्न सक्षम छ । त्यसो त वीरेन्द्रनगरले उपमहानगरको सपना देख्न थालेको पनि वर्षौ भइसकेको छ । विगत केही वर्षदेखि नै उपमहानगरको रूपमा प्रस्तावित भएपनि त्यसले पूर्णता पाउन सकेको छैन । यद्यपि, अहिले पनि नगरपालिकाले स्तरोन्नतिको पहल भने अघि बढाइरहेको छ । यो वर्षमा उपमहानगर घोषणाको योजनालाई नीतिगत रूपमै समेटेको छ । आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममार्फत पनि नगरपालिकाले आफ्नो योजना सार्वजनिक गरेको छ ।

उपमहानगर बन्ने योजना बुनिरहेको वीरेन्द्रनगर नगरपालिकाको वार्षिक बजेट भने महानगरपालिकाको भन्दा पनि ठूलो छ । यो वर्ष वीरेन्द्रनगरले ल्याएको बजेट देशका ६ वटामध्ये दुईवटा महानगरको भन्दा ठूलो आकारको छ । नगरपालिकाले चार अर्ब ७१ करोड दुई लाख ७२ हजार बराबरको बजेट ल्याएको छ । जबकी आर्थिक केन्द्र मानिने विराटनगर महानगरपालिकाले यो वर्ष तीन अर्ब ५६ करोडको बजेट ल्याएको छ । अर्को ठूलो आर्थिक केन्द्र रहेको वीरजंग महानगरको बजेट पनि वीरेन्द्रनगरको भन्दा सानो छ । वीरजंगले चार अर्ब ४२ करोड बराबरको बजेट ल्याएको छ । महानगरकैभन्दा ठूलो आकारको बजेट बनाएको वीरेन्द्रनगर भने उपमहानगरमा स्तरोन्नति हुने प्रयासमा रहेको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । ढकालले वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउन पहल गरिने जानकारी दिइन् । सबै हिसाबले वीरेन्द्रनगर उपमहानगर बन्न योग्य रहेको भन्दै उनले नीतिगत रूपमै निर्णय गरेर त्यसका लागि पहल थालिएको बताइन् ।

वीरेन्द्रनगर पछिल्लो समय व्यवस्थित बन्दै छ । प्रदेशका अन्य जिल्लाको तुलनामा राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यको हबका रूपमा रहेको वीरेन्द्रनगरको मुख्य सडक चार लेनको छ । अन्य भित्री परम्परागत सडकलाई व्यवस्थित र नयाँ सडकको मापदण्ड तय गरेर सुरक्षित सहर बनाउन नगरपालिकाले विभिन्न योजनाहरू अघि बढाइरहेको छ । घण्टाघर पार्कलाई व्यवस्थित, फोरलेन सडक र टोलटोलमा उज्यालो बनाउन काम भइरहेका छन् । बढ्दो सुरक्षा चुनौतीलाई समाधान गर्नका लागि ट्राफिक लाइट जडान गरिएको छ । वीरेन्द्रचोकमा ट्राफिक लाइट जडान गरिएको छ । यो वर्षमा मूलपानीचोक र दैलेख रोडमा लाइट जडान गर्नेगरी नगरपालिकाले योजना बनाएको छ ।

नगरपालिका क्षेत्रभित्र सर्वसुलभ नगर यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरी यसै वर्षदेखि नगरबस सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । बढ्दो सहरीकरणसँगै व्यवस्थित सार्वजनिक यातायातको अभाव झेलिरहेका नगरवासीलाई राहत दिन नगरपालिकाले यो महŒवपूर्ण योजना अघि सारेको हो । नगरबस सञ्चालन तथा खरिदका लागि दुई करोड विनियोजन गरिएको छ । नगर क्षेत्रभित्र सर्वसाधारणलाई सुलभ, भरपर्दो र व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले नगरबस सञ्चालनको तयारी थालिएको हो । यसअघि निजी क्षेत्रबाट नगरबस सञ्चालन भएपनि केही समयमै बन्द भयो । यो वर्षमा नगरपालिकाले सहरी पूर्वाधार र सौन्दर्यतर्फ राजधानी केन्द्रित पूर्वाधारहरूजस्तै ट्राफिक लाइट, रोड मार्किङ, फुटपाथ व्यवस्थापन, सीसी क्यामरा र हाईमास्ट लाइट जडानका लागि १२ करोड रूपैयाँ विनियोजन गरेको छ । साथै, घण्टाघर पार्कलगायत अन्य पार्क निर्माण र क्रमागत आयोजनाका लागि २२ करोड ३४ लाख बजेट राखिएको छ । २०३३ सालमा उपत्यका क्षेत्रभित्र पर्ने कटकुवा, गोठीकाडा र जर्बुटा गाउँ पञ्चायतभित्र पर्ने केही भागलाई मिलाएर बनेको वीरेन्द्रनगरले ५० वर्षपछि उपमहानगरपालिकाका लागि आवश्यक पर्ने सबै मापदण्ड पूरा गर्न सक्षम भएको छ । उपमहानगरपालिकाका लागि आवश्यक मापदण्ड दुई लाख जनसंख्या, २५ करोड आन्तरिक राजश्व र आवश्यक प्रशासनिक संरचना हुनुपर्छ ।

यस्तै, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा कर्णालीकै पहिलो आकासे पुल निर्माण गर्न लागिएको छ । यात्रुको सहजता र सडक दुर्घटना न्यूनीकरण गर्न आकासे पुल निर्माण गर्न लागिएको हो । वीरेन्द्रनगर गौरवको आयोजनाअन्तर्गत आकासे पुल निर्माण गर्न लागिएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । २०८२ पुस २६ देखि २०८३ जेठ ३१ गतेसम्म निर्माण गरिसक्ने गरी सम्झौता गरिएको छ । वीरेन्द्रनगर नगरपालिका र अर्जुन कन्स्ट्रक्सन काठमाडौंबीच ठेक्का सम्झौता गरिएको हो । भ्याटबाहेक ९९ लाख ९३ हजारमा आयोजनाको ठेक्का सम्झौता गरिएको नगरपालिकाका इन्जिनियर ईश्वरी ढकालले जानकारी दिए ।

वीरेन्द्रनगरमा पहिलो पटक आकासे पुल निर्माण थालिएको हो । यसको सफल रूपमा प्रयोग भएको खण्डमा अन्य स्थानमा पनि निर्माण गरिने जनाइएको छ । दोस्रो चरणमा यरी चोक, एयरपोर्ट चोकलगायतका स्थानमा आकासे पुल निर्माणलाई निरन्तरता दिने योजना नगरपालिकाको छ । वीरेन्द्रनगरमा दिनहुँ जसो सडक दुर्घटना हुने गरेको छ । यस्तै, अहिलेसम्म नगरपालिकाले पाँच सय ५० वटा ट्राफिक बत्ती जडान गरेको हो । आर्थिक वर्ष २०८०÷८१ बाट ट्राफिक बत्ती जडानको काम सुरु गरिएको नगरपालिकाले जनाएको छ । यो वर्ष पनि एक सय ५० वटा ट्राफिक बत्ती जडान गर्ने तयारी नगरपालिकाको छ । रेडियो नेपालदेखि बाङ्गेसिमल, धुलियाबिटदेखि सुब्बाकुनासम्म ट्राफिक बत्ती जडान गर्न लागिएको हो । जसका लागि एक करोड १८ लाखमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ ।

प्रकाशित मितिः   ७ भाद्र २०८३, आईतवार ११:४१