कृषिमा युवा आकर्षण बढाउने योजना
सुर्खेत: कृषिमा युवा आकर्षण बढाउन नयाँ कार्यक्रम कार्यान्वयन गरिने भएको छ । कर्णाली प्रदेश सरकारले बजेटमार्फत युवाहरूलाई कृषिमा आकर्षण गर्ने कार्यक्रम ल्याएको हो ।
यसअघि स–साना कार्यक्रम मात्र सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटिने गरेका थिए । प्रदेश सरकारले निर्वाचन क्षेत्रमा पूर्वाधार लक्षित कार्यक्रम मात्र कार्यान्वयन गर्ने गरेको थियो । यो वर्षदेखि युवा लक्षित कार्यक्रम कार्यान्वयन गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । कृषि क्षेत्रमा युवाको आकर्षण बढाउने उद्देश्यसहित ‘निर्वाचन क्षेत्र विशेष युवा लक्षित कार्यक्रम’ सञ्चालन गर्न लागिएको मन्त्रालयका योजना महाशाखा प्रमुख तिलक पाण्डेले बताए । उक्त कार्यक्रम कार्यान्वयनका लागि नौ करोड ६० लाख रूपैयाँ विनियोजन गरिएको पाण्डेले जानकारी दिए ।
एक निर्वाचान क्षेत्रमा ४० लाखका दरले बजेट कार्यान्वयन गरिनेछ । जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालयमार्फत कार्यक्रम कार्यान्वयन हुनेछ । अहिले कार्यविधि निर्माणको काम भइरहेको छ । नयाँ कार्यक्रम भएकाले कसरी कार्यान्वयन गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल समेत गरिएको थियो । सरकारले युवा वर्गलाई उद्यमी, स्वरोजगार, व्यवसायी बनाउनका लागि नयाँ कार्यक्रम ल्याएको हो । विदेशिने युवाहरू रोक्न प्रदेश सरकारको योजना रहेको छ । पहिलो पटक युवालाई नै तोकेर प्रदेश सरकारले कार्यक्रम ल्याएको छ ।
चालु वर्षमा युवा लक्षित कार्यक्रम बनाएरै बेरोजगारी समस्यालाई सम्बोधन गर्न खोजिएको छ । कृषि उत्पादन बजारीकरणमा सहजता दिनुका साथै अनुदानका कार्यक्रममा समेत जोड दिइएको छ । रोजगारमुखी वातावरण नहुनु, लगानीका सम्भावित क्षेत्र पहिचान नहुनु, राज्यसँग स्रोतको अभाव हुनु, सार्वजनिक निजी साझेदारी प्रभावकारी नहुनु, युवामा पनि उद्यमशीलताको सोच विकास नभइ जागिरे मानसिकता हाबी हुनाले ठूलो संख्यामा युवा विदेशिने गरेका छन् । सरकारले युवालाई स्वदेशमै रोक्ने नीति ल्याएको छ । रोजगारी र अध्ययनका लागि भनेर विदेश जाने युवाहरूको तथ्यांक डरलाग्दो छ । अर्कातिर, उत्पादनका क्षेत्रहरूमा मानवीय श्रमको अभाव छ । उर्वरा खेतीयोग्य भूमि बाँझो पल्टिएको छ । निर्माण कार्यमा आवश्यक पर्ने श्रमशक्ति न्यून हुँदै गएको छ । यस्तो बेला युवाहरूलाई प्रदेशभित्रै कृषि उत्पादन तथा उद्यममा जोड्ने योजना प्रदेश सरकारले बनाएको छ । प्रदेश सरकारले बढ्दो प्रतिभा पलायनलाई रोकेर युवाको ज्ञान, सीप, क्षमता र सिर्जनशीलतालाई स्वदेशमै उपयोग गर्ने उद्देश्य राखेर ‘निर्वाचन क्षेत्र विशेष युवा लक्षित कार्यक्रम’ कार्यान्वयन गर्न लागेको हो ।
कर्णालीका युवाहरूले ऊर्जाशील जनशक्ति भारतलगायतका तेस्रो मुलुकमा रोजगारीको खोजिमा विदेशिनुुपर्ने बाध्यता छ । सरकारसँग रोजगारीका कार्यक्रम नहुँदा पछिल्ला वर्षहरूमा प्रदेशमा शिक्षित बरोजगारको संख्या बढ्दै जानु चिन्ताको विषय हो । त्यसैले पनि प्रदेश सरकारले विभिन्न कार्यक्रम र बजेट विनियोजन गरेर युवा जनशक्तिलाई स्वदेशमै रोक्ने योजना बनाएर कार्यान्वयन गर्न लागेको जनाएको छ । उक्त योजनाले युवाहरूलाई स्वदेशमै रोक्ने छ भने रोजगारीका अवसर पनि सिर्जना गर्ने अपेक्षा राखिएको छ । अक्सर विदेशमै बस्नेहरूको जनसंख्या पनि ठूलो देखिएको छ ।
कर्णालीका ९४ हजार तीन सय २० जना अक्सर विदेशमा बसोबास गर्ने गरेको पाइएको हो । जसमा ७७ हजार दुई सय ७८ जना पुरुष छन् भने १७ हजार ४२ जना महिला छन् । परदेशतिरै बसोबास गर्ने जनसंख्या पनि पछिल्लो दशकमा वृद्धि भएको छ । २०६८ मा ६७ हजार पाँच सय ८२ जना परिवारभन्दा बाहिर बसोबास गरेको तथ्यांक थियो भने दश वर्षमा उक्त संख्या २६ हजार सात सय ३८ ले बढेको छ । बारीमा उब्जनी कम हुँदा कर्णालीका धेरै घरपरिवारले खाद्यान्न अभावको समस्या झेलिरहेका छन् । उनीहरूको आम्दानीको स्रोत भनेकै कालापहाड हो । कर्णालीका थुप्रै घरका पुरुषहरू मजदुरीका लागि कालापहाड जाने गर्छन् । कतिपयले परिवारसहित नै कालापडा जाँदा बालबालिकाको पढाई नै प्रभावित बनिरहेको छ ।
प्रकाशित मितिः ३ भाद्र २०८३, बुधबार ०५:०५
रजनी याेगी ।