नगरप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुर्खेत: रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा चिस्यान केन्द्र निर्माण र अनुदानमा खरिद गरिएका सवारीसाधन दुरूपयोगको आरोपमा नगरप्रमुख, कर्मचारी तथा सहकारीका पदाधिकारीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आठविसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी, पशु अस्पताल तथा पशुसेवा कार्यालय रुकुम पश्चिमका तत्कालीन पशु विकास अधिकृत तथा निमित्त कार्यालय प्रमुख सुवर्णसिंह ठकुरी, पशु स्वास्थ्य अधिकृत तथा निमित्त कार्यालय प्रमुख ज्ञानुकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर पुनविरुद्ध विशेष अदालतमा बिहीवार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यस्तै कृषि विकास कार्यालय रुकुम पश्चिमका कृषि अधिकृत मिनबहादुर केसी, आठविसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह र आठविसकोट दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाय, सचिव गोविन्दप्रकाश खड्का र कोषाध्यक्ष जुनकुमारी चनेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
आठविसकोट–९ निवासी जनक बटालाले आठविसकोट दुग्ध सहकारी नाम डेरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौं रूपैयाँ लिए पनि दुई वर्षसम्म चिस्यान केन्द्र सञ्चालन नगरेको, सहकारीको नाममा खरिद गरिएको सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको लगायतका उजुरीपछि अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले कर्णाली प्रदेश सरकारको दुग्ध व्यवसाय प्रवद्र्धन कार्यक्रमअन्तर्गत कार्यविधिविपरीत प्रस्ताव मूल्यांकन गरी अनुदानका लागि अयोग्य सहकारी छनोट गरेको, सम्झौताविपरीत ९१ लाख १७ हजार आठ सय ७३ अनुदान उपलब्ध गराएको पाइएको अख्तियारले जनाएको छ ।
यस्तै, चिस्यान केन्द्र सञ्चालनमा नआएको थाहा हुँदाहुँदै नगरपालिकाले थप ८० लाख २३ हजार ५१ रूपैयाँ बराबरको अनुदानमा एउटा मिल्क ट्यांक र दुई वटा सिंगल क्याब गाडी उपलब्ध गराएको तर ती सवारी प्रयोगविहीन अवस्थामा राखिएको र सरकारी सम्पत्तिको दुरूपयोग भएको आयोगको निष्कर्ष छ। मुद्दा दायर भएका नगरप्रमुख केसी र प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहसँग ८० लाख २३ हजार ५१ रूपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना तथा थप सजायको माग गरिएको छ ।
तत्कालीन पशु विकास अधिकृत ठकुरी, पशु स्वास्थ्य अधिकृत शर्मा, पशु सेवा अधिकृत खड्का, लेखा अधिकृत पुन, कृषि अधिकृत केसीलाई ९१ लाख १७ हजार ८ सय ७३ बिगोमागदाबी गरिएको छ । आठविसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष बटाला, उपाध्यक्ष रोकाय, सचिव खड्का र कोषाध्यक्ष चनेलविरुद्ध भने चिस्यान केन्द्र निर्माणतर्फको ९१ लाख १७ हजार आठ सय ७३ र गाडी खरिदतर्फको ८० लाख २३ हजार ५१ रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कैद, जरिवाना तथा मुख्य कसुरदारसरह सजायको माग गरिएको आरोपपत्रमा उल्लेख छ ।
प्रकाशित मितिः २२ श्रावण २०८३, शुक्रबार १०:२३
साझा बिसौनी ।