संकटतर्फ राउटे समुदाय: मृत्युदर बढ्दै, जनसंख्या घट्दै
सुर्खेत: लोपोन्मुख राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया फलाटो शाही रहेकी छिन् । उनी राउटे समुदायका मुखिया मध्येका एक प्रकाश शाहीकी आमा हुन् । दीर्घरोगको बिरामी थिइन् । नियमित औषधी सेवन गरिरहेकै अवस्थामा उनको मृत्यु भएको राउटे परियोजनाका कर्मचारी लालबहादुर केसीले बताए । केसीले भने, ‘औषधी सेवन गरिरहेकी थिइन्, अहिले साउने संक्रान्तिको अवसरमा अत्यधिक मदिरा सेवन पनि भएकाले बिहीवार बिहान २ बजेतिर मृत्यु भयो, यसअघि पनि स–साना समस्या आइरहन्थ्ये ।’
फलाटो शाहीको मृत्युपछि अब राउटे समुदायको कुल जनसंख्या एक सय ३२ मा झरेको छ । गत वर्ष साउन महिनामा उनीहरूको जनसंख्या एक सय ३५ थियो । हाल राउटे पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–९, खानीखोलामा बस्दै आएका छन् । मानवीय त्रुटिका कारण राउटे समुदाय मासिँदै गएको छ । फिरेन्ते जीवन बिताउने यो समुदायमा रोगको उपचार नहुँदा मृत्युवरण गर्न बाध्य बनेको छ । उनीहरूले आफू भन्दा बाहिरका मानिसको कुरा विश्वास गर्दैनन् । समुदायमा अत्यधिक मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या पनि उच्च छ । काठ र कपडाको पालमुनि चिसो भुइँमा रात बिताउने यो समुदायका महिला, बालबालिका र वृद्धवृद्धामा समस्या देखिएको छ ।
सरकारले विशेष संरक्षण नीति बनाएर यो वर्षदेखि कार्यान्वयन गर्ने जनाएको छ । बर्सेनि रूपमा टाउटेको जनसंख्या भने घट्दो क्रममा देखिन्छ । कर्णाली प्रदेश सरकारले राउटे संरक्षण नीति बनाएको छ । लोपोन्मुख राउटे समुदायको मूलप्रवाहीकरण नीति–२०८३ निर्माण गरिएको हो । राउटे संरक्षणका लागि नीति बनिरहेपनि कार्यान्वयन फितलो छ । यो वर्षबाट नीति कार्यान्वयन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन एकीकृत नीति निर्माण गरिएको मन्त्रालयका महाशाखा प्रमुख सुवर्ण खड्काले बताए । राउटेहरूमाथि गैरराउटे समुदायबाट असुरक्षा बढ्दै गएपछि उनीहरूको कला, संस्कृति र मौलिकता जोगाउँदै सामाजिकीकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति निर्माण गरिएको खड्काको भनाइ छ ।
पछिल्लो समय राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको छ । जसले गर्दा उनीहरू असुरक्षित बन्दै गएका छन् । केही समय पहिले दुई जना राउटे युवतीमाथि गैरराउटे समुदायका युवाहरूले यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको थियो । समुदाय नै असुरक्षित बन्न थालेपछि उनीहरूका लागि प्रदेश सरकारले एकीकृत नीति बनाएर संरक्षण गर्न लागिएको जनाएको छ । परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसात् गर्दै राउटेसम्बन्धी नीति तयार गरिएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारले बनाएको नीतिमा घुम्ती तथा खेलको माध्यमबाट शिक्षण सिकाइका गतिविधिहरू सञ्चालन गर्ने, भाषालाई लिपीबद्ध गर्दै संस्कृतिको संरक्षण गर्ने तथा नागरिकता उपलब्ध गराउनेलगायतका विषयहरू समेटिएका छन् । ‘राउटे समुदायले घर निर्माणका लागि प्रयोग गर्ने पाललाई रूपान्तरण गरी स्थायी घर निर्माण गरिनेछ,’ नीतिमा भनिएको छ, ‘फिरन्ते जीवनयापन गरिरहेका राउटे समुदायले गर्ने बसाइँसराइँलाई रोक्नका लागि स्थायी बसोबास आवश्यक छ ।’
लोपोन्मुख राउटे समुदायलाई राज्यको मूूल प्रवाहीकरणमा ल्याउन आवश्यक देखिएकाले एकीकृत नीति निर्माण गरिएको हो । नागरिकताविना पनि सरकारबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका राउटेलाई अब नागरिकता वितरण गर्ने नीति छ । उमेर पुगेका राउटे समुदायका नागरिकहरूलाई तत्कालै नागरिकता वितरण गर्ने एकीकृत नीतिमा उल्लेख गरिएको छ । तीन वर्षअघि गुरासँ गाउँपालिका–८ को ठेगाना राखेर अस्थायी परिचयपत्र दिएको सरकारले राउटे समुदायलाई नागरिकता नै वितरण गर्ने भएको हो ।
प्रकाशित मितिः २२ श्रावण २०८३, शुक्रबार १०:२२

साझा बिसौनी ।