सुक्यो बुलबुले, मेटिँदै पहिचान

सुर्खेत: बुलबुले ताल केवल एउटा ताल मात्र होइन । यो सुर्खेतको पहिचान, वीरेन्द्रनगरको मुटु, प्रकृतिको अनुपम उपहार र लाखौँ मानिसको भावना जोडिएको सम्पदा हो । एक समय यस्तो थियो, जहाँ तालको गर्भबाट निरन्तर ‘बुल… बुल…’ गर्दै पानी उम्लिन्थ्यो । त्यही प्राकृतिक ध्वनिका कारण यसको नाम ‘बुलबुले ताल’ रहन गयो । ताल वरिपरिका दशवटा धाराबाट वर्षभरि स्वच्छ पानी बगिरहन्थ्यो, जसले यो ठाउँलाई जीवन्त बनाएको थियो । तर आज त्यही बुलबुले ताल मौन छ । धाराहरू सुकेका छन् । तालको प्राकृतिक मुहान हराएको छ । यो दृश्यले अहिले बुलबुले ताल अवलोकन गर्न आउने जोकोहीलाई प्रश्न उब्जीएको छ । किन सुक्यो बुलबुले ताल ?

ऐतिहासिक बुलबुले ताल क्षेत्रमा भइरहेको कंक्रिट निर्माण र जग्गा अतिक्रमणले सिमसारको प्राकृतिक अस्तित्व र जैविक विविधतामा गम्भीर संकट उत्पन्न भएको छ । विगतमा संरक्षणको नमूना मानिने बुलबुलेमा अहिले ताल विस्तार र पर्यटकीय संरचना बनाउने नाममा सिमसार मासेर मोटरबोट सञ्चालन तथा पक्की पर्खाल लगाउने काम भइरहेको छ । निर्माण गरिएका पूर्वाधारका कारण ताल सुकेको वीरेन्द्रनगरका स्थानीय चन्द्रबहादुर थापाले बताए । वीरेन्द्रनगर उपत्यकाको पानीको मुख्य स्रोत मानिने सिमसार क्षेत्र संरक्षण गर्न तीनै तहका सरकार चुकेको भन्दै उनले जथाभावी रूपमा संरचना खडा गर्दा पानीको स्रोत नै मासिने अवस्थामा पुगेको जनाए ।

यता वीरेन्द्रनगर नगरपालिकाले भने यसबारे अध्ययन गरिने जनाएको छ । ताल सुकेको विषयमा भूगर्वविदसहितको टोली ल्याएर अध्ययन गरिने नगरप्रमुख मोहनमाया ढकालले बताइन् । पछिल्लो समय सिमसार क्षेत्रमा बस्ती बस्दा पनि बुलबुलेको तालमा घटबढ भइरहेको भन्दै उनले अध्ययन गरेर मात्र भन्न सकिने जानकारी दिइन् ।

मुहानबाट पानी चुहावट भएकाले धारामा मात्र पानी नआएको भन्दै भू–तथा जलाधार व्यवस्थापन कार्यालयले पानीको मुहान नसुकेको जनाएको छ । अहिले बुलबुले धाराको मात्र पानी सुकेको कार्यालय प्रमुख शिखर चपाईले बताए । बाहिर जथाभाबी रूपमा गरिएको प्रचारजस्तो नभइ मुहानबाट पानी चुहावट भएको उनले जानकारी दिए । नगरपालिकाले बाहिरी रूपमा मात्र संरचना निर्माण गरेको भन्दै उनले भित्रि संरचना जीर्ण भएकाले ती ठाउँबाट पानी लिक भएको र मर्मत गरे पुन सञ्चालन हुने जनाए । उनले भने, ‘धारामा मात्र पानी नआएको हो, मुहान सुकेको छैन, दुई–चार वटा ठाउँबाट पानी लिक हुनेगरेको छ, त्यसको मर्मत भए पुनः धाराबाट पानी बग्छ ।’

सुर्खेत उपत्यका नगर विकास समितिले बुलबुलेको संरक्षण, सम्वद्र्धन र विकासका लागि भन्दै २०७४ मा गुरुयोजना बनायो । २० वर्षे गुरुयोजनामा विभिन्न २२ वटा योजना रहेका समितिले जनाएको छ । जसको कार्यान्वयन गर्न ३१ करोड ६३ लाख रूपैयाँ लाग्ने अनुमान छ । ठूलो र फराकिलो पार्किङ, पक्की सडकसँगसँगै चक्रपथ । उद्यान क्षेत्रमा पक्की पर्खाल, छुट्टै स्विमिङ पुल, सुविधासम्पन्न रेस्टुरेन्ट, ग्रिन हाउस, विश्राम कक्ष, बालबालिका खेल्ने ठाउँदेखि महिला र पुरुषलाई छुट्टाछुट्टै नुहाउने ठाउँ, सोलार बत्ती र अहिलेको भन्दा करिब तीन गुणा ठूलो तालको विस्तार गर्ने गुरुयोजना समावेश भएको छ । पहिलो चरणमा ताललाई पक्की पर्खालले घेर्ने योजना छ । तालको आकार करिब तीन गुना बढेको छ । फैलिएको तालमा मोटरबोट सञ्चालनमा आएको छ । ताल क्षेत्रभित्र अन्य भौतिक संरचनासँगै पिकनिक स्पट, यात्रु विश्रामस्थल, इत्राम खोलामा तटबन्ध, पैदल मार्ग, तारबार, रेलिङ, सोलार बत्ती जडानलगायतका काम भएको छ ।

विस्तार भएको ठूलो तालको माथिल्लो भागमा अर्को सानो ताल निर्माण सुरु भएको छ । दोस्रो चरणको योजनाअनुसार, चार हजार दुई वर्गमिटरमा अर्को ताल विस्तार हुनेछ । जसका लागि कर्णाली सरकारले करिब साढे दुई करोड खर्च गर्नेछ । बुलबुलेको विकासका लागि उपत्यका नगर विकास समितिले सिमसार क्षेत्रमा डोजर चलाएर निर्माणका कामहरू गरिरहेको छ । बुलबुले उद्यानको स्तरोन्नतिका लागि पनि भारी उपकरणहरूको प्रयोग भयो । त्यसपछि कंक्रिटका संरचनाहरू खडा भएका छन् । जसले गर्दा अहिले बुलबुलेका धारामा पानी नै सुकेको स्थानीय बताउँछन् ।

बुलबुलेको माथिल्लो छेउमा उद्यानभित्र टिकट घर, पिकनिक स्पट, डुंगा सवारी, रंगीन बगैँचा, धार्मिक कामका लागि छुट्टै भौतिक संरचना, विश्राम कक्षलगायतका संरचना निर्माण गर्ने गुरुयोजना छ । ताल निर्माणको काम पाएको कर्णाली प्रदेश सरकारको भू–जलाधार तथा व्यवस्थापन कार्यालय सुर्खेतका शिखर चपाईंले जैविक विविधताको अस्तित्व जोगाउने गरी ताल निर्माण, पर्खाल, नाली र फुटपाथ व्यवस्थापनको काम भइरहेको बताए । उनले भने, ‘गुरुयोजनामा उल्लेख भएकै कुराहरूलाई आधार मानेर तालमा काम भइरहेको छ । सानो तालमा ढल पस्ने र पानी फोहोर हुने भएपछि डेढ÷दुई मिटरको पर्खाल लगाइएको हो, अहिले धारामा पानी नआएको मात्र हो, ताल नै सुकेको छैन ।’

सिमसारका अध्येता मनोज एमसी बुलबुलेको बृहत्तर विकासका लागि भन्दै बनाइएको गुरुयोजना कार्यान्वयनमा उपकरणहरूको प्रयोग र त्यसपछि कंक्रिटका संरचना बनाउनु आवश्यक नभएको बताउँछन् । उपत्यका नगर विकास समितिले बुलबुले क्षेत्रलाई पिकनिक खाने क्षेत्रको रूपमा समेत प्रवद्र्धन गरेको छ । पिकनिक खाँदा प्लाष्टिकजन्य फोहोर बढ्ने र त्यसले सिमसार क्षेत्रमा ह्रास ल्याउने उनले बताए ।

बुलबुले ताल विस्तारका लागि भन्दै वरपरका कैयौं रुखहरू काटियो । तालमा मोटरबोट सञ्चालन भयो । अहिले मुख्य आकर्षणको विन्दु मानिएको बुलबुले धारामा पानी नै आउन छाडेपनि स्थानीयबासी चिन्तीत बनेका छन् । नगर विकास समितिले बुलबुलेलाई पिकनिक क्षेत्रमा प्रवद्र्धन गरिरहेको छ । पिकनिकमा आउनेहरूको क्रियाकलापले त्यहाँ प्लाष्टिकका फोहोर बढिरहेका छन्, जसले सिमसार संरक्षणमा प्रत्यक्ष असर गरेको स्थानीयवासी बताउँछन् । स्थानीय दुर्गा केसीले भने, ‘पहिला बुलबुलेको तल्लो गेट वरपर पूरै दलदले थियो, अहिले त्यहाँ पार्किङ बनाउने नाममा गिट्टी र बालुवाले पुरिएको छ । त्यही ठाउँको दलदलेबाट संकलित पानी तल बगेर बुलबुल गर्दै निस्किन्छ, निर्माण गरिएका पूर्वाधारले संरक्षण नै मासिने भयो ।’ बुलबुले संरक्षणको चिन्ता गर्नेहरू बुलबुले उद्यान नजिकै ठूलो पार्किङ आवश्यक नभएको बताउँछन् । उद्यानमा पक्की पर्खालका साथै पक्की सडक सहितको चक्रपथ, छुट्टै स्विमिङ पुल र सुविधासम्पन्न रेस्टुरेन्ट बनाउन खोजिएको छ ।

प्रकाशित मितिः   २९ असार २०८३, सोमबार ०५:०५