कुपोषण घटाउने उपाय
समग्र विकासका सूचकांकमा पछाडि परेको कर्णाली प्रदेशमा बहुसंख्यक नागरिक बहुआयामिक गरिबीको रेखामुनी छन् । यहाँका कतिपय परिवार सन्तुलित आहारबाट वञ्चित मात्र होइन छाक टार्नै मुश्किल अवस्थामा छन् । पौष्टिक आहारको कमीले कुपोषण भयावह बनेको छ । जसका कारण कर्णालीमा कुपोषणको दर निकै डरलाग्दो देखिएको छ । कुपोषण हुनुको प्रमुख कारण खाद्य असुरक्षा हो । जसको प्रभाव बालबालिकामा देखिने गरेको छ । त्यसपछि विषादीयुक्त खानेकुराले पनि यसलाई थप बढाइरहेको छ । बढ्दो कुपोषण रोक्नका लागि सुर्खेतका महिलाहरूले आफ्नै करेसाबारीलाई पोषण, स्वास्थ्य र आम्दानीको आधार बनाएका छन् । जिल्लाका पाँच पालिकाका महिलाहरूले स्वास्थ्य आमा समूह गठन गरेर पोषण सुधारमा सक्रिय बनेका हुन् ।
सुनौलो हजार दिनका आमाहरूले विभिन्न स्वास्थ्य आमा समूह गठन गरी विषादीरहित प्राङ्गारिक तरकारी उत्पादन सुरु गरेपछि उनीहरूको दैनिकी मात्र होइन, सोच र जीवनशैलीसमेत परिवर्तन हुन थालेको छ । आफ्नै बारीमा फलाएका तरकारी बजारसम्म पु¥याउन सफल भएका छन् । यसले एकातिर अर्गानिक उत्पादनमा वृद्धि भएको छ भने महिलाहरू आत्मनिर्भर भएका छन् । आम्दानीको स्रोत बढेको छ । घरपरिवारलाई ताजा र पोषणयुक्त खाना उपलब्ध गराउनुका साथै अतिरिक्त उत्पादन बिक्री गरेर आम्दानी गर्न थालेपछि आत्मविश्वास पनि बढेको अनुभव उनीहरूको छ । सुर्खेतका पाँच वटा पालिकाका स्वास्थ्य आमा समूहरूले पोषण सुधारका लागि अर्गानिक कृषि उत्पादन गर्ने गरेका छन् । ‘स्वस्थ नागरिक, समृद्ध समाज, दिगो कृषि र पोषणयुक्त आहार’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यो अभियानले स्थानीय उत्पादनको प्रवद्र्धन, पोषण सुधार र अर्गानिक खेती विस्तारमा जोड दिइएको छ । वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका र गुर्भाकोट नगरपालिकामा पोषण परियोजना लागू भएको हो । यो अभियानले कृषिमा पहुँच विस्तार हुनुका साथै कुपोषण न्यूनीकरणमा समेत सकारात्मक प्रभाव पारेको छ ।
विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र बालबालिकामा पोषणको कमी नहोस् भन्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको देखिन्छ । पोषणयुक्त भोजनको महङ्खव घर–घरमा पु¥याउन यस्ता कार्यक्रम प्रभावकारी हुन सक्दछन् । किनभने सुर्खेत मात्रै होइन, कर्णाली प्रदेशभर नै कुपोषणको समस्या छ । त्यसैले प्राङ्गारिक खेतीप्रति किसानको आकर्षण बढाउने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने तथा पोषणसम्बन्धी जनचेतना विस्तार गर्ने अभियानले कुपोषण घटाउन समेत सघाउ पु¥याउँछ । अझ यो अभियानले त महिला सशक्तीकरण, पोषण सुधार र दिगो कृषिको विकासमा समेत जोड दिएको छ । अहिले पाँचवटा पालिकामा आमाहरूको अघि बढाइरहेको यो अभियान थप पालिकामा समेत विस्तार हुन आवश्यक देखिन्छ ।
प्रकाशित मितिः १५ असार २०८३, सोमबार ०५:०३
सम्पादकीय ।