अधुरो मिलन
-ज्वाला रोकाया
सुन्दर पहाडको एउटा गाउँमा राम र सीता नामका युवा–युवती बस्थे । उनीहरू एउटै विद्यालयमा पढ्थे । बाल्यकालदेखि नै उनीहरू असल साथी थिए । उमेर बढ्दै जाँदा उनीहरूको त्यो मित्रता बिस्तारै प्रेममा बदलियो ।
त्यस समयबाट उनीहरू सम्बन्ध मायामा परिवर्तन भएकोले राम धेरै शान्त स्वभावको थियो । सीता चञ्चल स्वभावकी थिइ । उसले हाँस्दा रामलाई संसारकै सबैभन्दा सुन्दर संगीत सुने जस्तो लाग्थ्यो । उनीहरूसँगै विद्यालय जान्थे, सँगै फर्किन्थे र भविष्यका सुन्दर सपनाहरूको बारेमा कुराकानी गर्थे ।
एक समय गाँउको डाँडामा बसेर सीताले रामलाई सोधी, ‘राम यदि कुनै दिन म तिमीबाट टाढा भएँ भने के गर्छौं ?’ राम मुस्कुरायो ।
‘संसारको जुनसुकै कुनामा भएपनि म तिमीलाई खोजेर ल्याउनेछु ।’ सीताले उनको हात समातेर भनी, ‘म पनि तिमीलाई कहिल्यै छोड्ने छैन ।’
जीवनले उनीहरूको लागि अर्कै कथालेखिरहेको थियो । सीताको परिवारमा आर्थिक समस्याका कारण सहजताका लागि कामको खोजिमा सहर बसाइ सर्ने निर्णय गरिन् । यो खबर सुनेपछि दुवैको संसार उजाडिएको थियो । सीताको शहर जाने दिन नजिक नजिक आएको थियो । शहर जाने दिन बिहान राम सीतालाई बिदाइ गर्न बसपार्कमा पुगे । सीताको आँखामा आँशु आएको थियो । सीता रोइरहेको देखेर रामको आँखामा पनि आँशु आएको थियो ।
ऊ भन्छे, ‘म फर्केर आउनेछु ।’
राम ‘पर्खिरहनेछु’ भन्ने जवाफ दिन्छ ।
बस बिस्तारै अगाडी बढ्न थाल्यो । उसले झ्यालबाट हात हल्लाइरही । राम बस नदेखिने गरी टाढा नजाउञ्जेल त्यही उभिइरह्यो ।
त्यो दिन उनीहरूको प्रेममा पहिलो ठूलो विछोडको आँधीबेहरी आयो । सुरुमा केही वर्ष उनीहरूले चिठी आदान–प्रदान गरे । फोनमा कुरा हुन्थ्यो तर समयसँगै परिस्थिति बदलिँदै गयो । एक दिन अचानक सीताको चिठी आउन छोड्यो । त्यसपछि फोन नम्बर पनि बन्द भयो । रामले धेरै प्रयास ग¥यो । तर सीताको कुनै खबर भेटिएन । दिन÷महिना बित्दै गयो । त्यसपछि केही महिना÷वर्ष बित्दै गएपछि रामको मनमा हजारौँ प्रश्न उब्जीन थाले ।
‘के उसले मलाई बिर्सी ? के ऊ खुसी
छे ? के ऊ अझै मलाई सम्झन्छे ?’ तर कुनै उत्तर थिएन ।
यता सीताको जीवन पनि सजिलो थिएन । शहर पुगेपछि उनका बुबा विरामी भएका थिए । घरको सम्पूर्ण जिम्मेवारी सीताको काँधमा आएको थियो । उनले पढाइसँगै काम गर्न थालेकी थिइन् । त्यसैबीच उनको मोबाइल हरायो । पुराना सम्पर्क नम्बरहरू सबै हराए । धेरै पटक उनले रामलाई खोज्ने प्रयास गरिन् । तर गाउँको पुरानो ठेगाना बाहेक केही थिएन ।
समय बित्दै गयो । मनमा प्रेम बाँकी थियो तर दुरी भने झन् बढ्दै गयो । दश वर्ष बितिसकेको थियो । राम अहिले गाउँमै विद्यालयमा शिक्षक बनेको थियो । ऊ बाहिरबाट सामान्य देखिन्थ्यो । तर मनभित्र सीताको सम्झना अझै ताजा थियो । गाउँका धेरै मानिसहरूले विवाह गर्न दबाब दिए । तर उसले सधै एउटै उत्तर दिन्थ्यो, ‘मेरो मन अझै कसैको प्रतीक्षामा छ ।’
मानिसहरू उसलाई पागल भन्थे । तर उसले प्रेमलाई कहिल्यै धोका दिएन । उता सीता पनि अस्पतालमा नर्सको रूपमा काम गरिरहेकी थिइ, उनलाई पनि धेरै प्रस्ताव आए । धेरैले प्रेम प्रस्ताव राखे । तर उनले कसैलाई स्वीकार गरिनन् । किन कि उनको हृदयमा अझै राम बसिरहेको थियो ।
एक वर्ष गाउँमा ठूलो स्वास्थ्य शिविर आयोजना गरियो । शहरबाट डाक्टर र नर्सहरूको टोली आयो । सीता पनि त्यही टोलीमा थिइ । उनीहरू गाउँ पुगे ।
सीतालाई यो गाउँ अनौठो रूपमा परिचित लाग्यो । डाँडाहरू उस्तै थिए । खोल्साहरू पनि उस्तै थिए । हावा पनि उस्तै थियो । उनको मुटु अचानक छिटो धडकिन थाल्यो । त्यही दिन राम विद्यालयबाट फर्कदै थियो । उसले स्वास्थ्य शिविरतिर भीड देख्यो । जिज्ञासाले ऊ त्यता गयो, सीता विरामीहरूको नाम लेखिरहेकी थिइन् ।
रामको नजर अचानक उनीमाथि प¥यो । उसको पाइला रोकियो । सास रोकिएजस्तो भयो । दश वर्षदेखि सपनामा देखिरहेको अनुहार आज उसको अगाडी थियो । उसले विश्वास गर्न सकेन । उता सीताले पनि टाउको उठाइ । दुवैका आँखा जुधे । समय रोकिएजस्तो भयो । वरिपरिको भीड, आवाज, संसार सबै हरायो । बाँकी थियो केवल दुई हृदयको धड्कन ।
सीताको आँखाबाट आँसु बग्न थाल्यो । रामका आँखाहरू पनि रसाए । दश वर्षको विछोड एक क्षणमा आँसु बनेर बग्न थाल्यो । सीता बिस्तारै अगाडी बढिन् । ‘राम ?’ उनले काँपेको स्वरमा भनिन् । रामले मुस्कुराउँदै उत्तर दियो, ‘मैले भनेको थिएँ नि म तिमीलाई खोज्नेछु ।’
सिता रोइन् । ‘मैले कहिल्यै तिमीलाई बिर्सेकी थिइनँ ।’
‘मैले पनि तिमीलाई कहिल्यै बिर्सेको थिइनँ ।’ जब दुवैले एक–अर्काको हात समाते, दश वर्षको लामो दूरी एकै स्पर्शमा मेटियो । त्यही ठाउँमा, जहाँ कहिल्यै भविष्यका सपनाहरूको बारेमा कुरा गरेका थिए, आज फेरि पुराना यादहरू ताजा थिए ।
सूर्य अस्ताउदै थियो । आकाश सुनौलो बनेको थियो । सीताले सोधी, ‘तिमीले यति वर्ष किन पर्खियौँ ?’
राम मुस्कुरायो र भन्यो, ‘किनकि साँचो प्रेम समयले मेटाउन सक्दैन ।’ सिता फेरि रोइन् । तर त्यो पीडाको आँशु थिएन, त्यो खुसीको आँसु थियो ।
केही महिनापछि गाउँभरी खुसीको खबर फैलियो । राम र सीताको विवाह हुने भयो । गाउँका सबै मानिसहरू उत्साहित थिए । विवाहको दिन नजिक आयो । दुवैले एक अर्कालाई त्यो नजरमा दश वर्षको पीडा थियो । दश वर्षको प्रतिक्षा थियो र अन्ततः प्राप्त भएको सुख थियो ।
विवाहपछि एक रात सीताले रामको काँधमा टाउको राखेर भनी, ‘हाम्रो प्रेम अधुरो रहला जस्तो लाग्थ्यो ।’
राम मुस्कुरायो । र भन्यो, ‘हाम्रो मिलन हुन लेखिएको थियो ।’
कतिपय कथाहरूको अन्त्य ढिलो हुन्छ, तर सुन्दर हुन्छ । आकाशमा पूर्णिमाको चन्द्रमा चम्किरहेको थियो । दुवैका मुहारमा मुस्कान छरिएको थियो । उनीहरूको प्रेमले नयाँ कुरा सिकायो ।
-ज्वाला रोकाया
प्रकाशित मितिः १३ असार २०८३, शनिबार ०५:०४

ज्वाला रोकाया ।