एमाले उपाध्यक्ष पौडेल पक्राउ

सुर्खेत: नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो ।

पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभागले जनाएको छ ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत आएका थिए । एमालेको चुनावी समीक्षा एवम् पुनर्गठन कार्यदलका सदस्य पौडेल सुझाव संकलनका क्रममा आइतवार सुर्खेत पुगेका थिए । सुर्खेतको शुभ होटलमा सुझाव संकलन तथा छलफल कार्यक्रम रहेको थियो । पौडेललाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो । सुर्खेत प्रहरीको सहयोगमा सम्पत्ति शुद्धीकरण विभागको टोलीले पक्राउ गरेको जनाइएको छ । उनी पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत हुन् ।

 

प्रकाशित मितिः   ९ असार २०८३, मंगलवार १८:०७