प्रदेश अध्यक्षमा शाही

सुर्खेत, २६ जेठ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ६ को अध्यक्षमा सुर्खेतका पदमबहादुर शाही चयन भएका छन् । शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न महासंघको प्रथम प्रदेश अधिवेशनबाट शाहीको अध्यक्षतामा सर्वसम्मत् कार्यसमिति चयन गरिएको हो । यसअघि मध्यपश्चिम क्षेत्रीय उद्योग वाणिज्य संघको अध्यक्ष थिए भने सुर्खेत उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष पनि हुन् ।

वाणिज्य उपाध्यक्षमा कमलबहादुर बुढा, एशोसियट उपाध्यक्षमा शान्तिप्रसाद शर्मा, कोषाध्यक्षमा सुदन श्रेष्ठ चयन भएका छन् भने सदस्यहरूमा नामग्याल तामाङ, कविराज कँडेल, कृष्णप्रसाद कोइराला, कमानबहादुर खड्का, रविन रेग्मी र एशोसियट सदस्यमा छत्र बडुवाल चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता उत्तम आचार्यले जानकारी दिए ।
अधिवेशनको उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले निजी क्षेत्र र स्थायीय तहबीच समन्वयात्मक सहकार्यबाट स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन सकिने बताए । निजी, सरकारी र स्थानीयतहबीचको सामूहिक एकताबाट लगानी भिœयाउन सकिने उनको भनाइ थियो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले मानव सूचकांकमा सबैभन्दा पछाडि रहेको ६ नं. प्रदेशको समृद्धिका लागि स्थानीय सरकार निजी क्षेत्रसँग सहाकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । महासंघका केन्द्रीय सदस्य निरक केसी, अर्का केन्द्रीय सदस्य लंकमान रोका, प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मितिः   २७ जेष्ठ २०७४, शनिबार १५:२१