फेरि ब्युँतियो जाजरकोट–जुम्ला सुरुङमार्ग

सुर्खेत: पर्याप्त बजेटको व्यवस्थापन नहुँदा ठप्प रहेका योजनालाई अघि बढाउने तयारी गरिएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कर्णालीको यस्तो योजना अघि बढाउने भएको हो ।

यसअघि जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको काम अघि नबढ्ने भन्दै रोकिएको थियो । दुरीका हिसाबले लामो र धेरै लागत लाग्ने भएपछि निर्माणको काम अघि नबढाउने निर्णयमा पुग्दै काम नै ठप्प भएको हो । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटसहित नीति तथा कार्यक्रममा समेटेर यो योजना अघि बढाउने भएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मुल्साङदेखि जुम्लाको टोप्ला सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने बताएका छन् ।

पहिले नै यसको अध्ययनको काम भएको छ । यसअघि सुरुङ मार्गको प्रि–फिजिविलिटी अध्ययन गरिएको थियो । उक्त अध्ययनले थप काम गर्न उपयुक्त नभएको देखाएको छ । जाजरकोटदेखि जुम्लासम्म सुरुङमार्गको दश किलोमिटर दुरी छ । दुरीका हिसाबले लामो र लागत धेरै लाग्ने भएपछि काम अघि बढाउन समस्या भएको गुणस्तर तथा अनुसन्धान केन्द्रले जनाएको छ । लागत धेरै लाग्ने भएपछि तत्काल थप प्रक्रिया अघि नबढेको केन्द्रका इन्जिनियर प्रदिप भण्डारीले बताए । उनका अनुसार गरिएको प्रि–फिजिविलिटी अध्ययनले २९ अर्बको प्रारम्भिक लागत अनुमान निकालेको छ । सो लागत अनुरूप प्रतिफल नआउने भएपछि थप प्रक्रिया अघि नबढाइएको उनले जानकारी दिए ।

२०८० जेठमा सुरुङमार्ग निर्माणका लागि प्रि–फिजिविलिटी अध्ययनको काम सुरु गरिएको थियो । २०७८ मा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी रूकुमपश्चिमले त्यसका लागि स्थानसमेत उपयुक्त रहेको भन्दै फाइलसमेत खडा गरेको थियो । त्यतिबेला सामान्य अध्ययनका काम भएका थिए । विभागले २०८० जेठमा इटीको– टि.एम.एस–रेज जेभीसँग सुरुङमार्गको प्रि–फिजिविलिटी अध्ययन सम्झौता गरेको थियो । उक्त अध्ययनको अन्तिम रिर्पोट आएको छ । उक्त रिर्पोटले काम गर्न उपयुक्त नभएको देखाएपछि अन्य काम ठप्प छ । उक्त गरिएको अध्ययनले सरकारले कुनै विकल्प देखाएर काम अघि बढाउन सक्नेछ भनेको छ । अब भने बालेन सरकारले सुरुङमार्ग निर्माणको कामलाई अघि बढाउनेछ ।

 

२९ अर्ब लागत अनुमान

यसअघि गरिएको अध्ययनमा जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारी सम्मको लम्बाइ करिब १० किलोमिटर छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर सुरुङमार्ग निर्माणको काम थालिएको थियो । प्रि–फिजिविलिटी अध्ययनको काम सकिएको छ । अध्ययनको अन्तिम रिर्पोटअनुसार करिब २९ अर्ब लागत अनुमान छ । अहिले सुरुङमार्ग निर्माणको बाँकी काम ठप्प छ । प्रस्तावित सुरुङमार्गले जाजरकोटको कुसे गाउँपालिका वडा नं. ८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ८ इमिल्चाघारी जोड्ने लक्ष्य राखिएको थियो ।

सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट अपेक्षा राखिएको थियो । गौरवको आयोजनाका रूपमा सुरुङमार्ग निर्माण योजना अघि सारिएको भएपछि अध्ययनले काम गर्न उपयुक्त नभएको देखाएको छ । दुरी र व्यापारका हिसाबले सुरुङमार्ग नै उपयुक्त विकल्पका रूपमा लिइएको बताउने गरिएको छ । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि उक्त सुरुङमार्ग निर्माण थालिएपनि लामो दुरीका कारण काम अघि नबढ्ने भएको हो ।

सडकको दुरी छोट्याइ इन्धन बचत गर्ने, भौगोलिक रूपमा कठिनाइ र पहिरोको जोखिम भएका ठाउँमा सुरक्षित हुने भएकाले जाजरकोट–जुम्ला सुरुङमार्ग निर्माण थालिएको थियो । तर सुरुकै अध्ययनले उपयुक्त नभएको देखाएको छ । सुरुङमार्ग निर्माणसँगै कर्णालीको व्यापारमा वृद्धि हुने अपेक्षा राखिएको पूर्व सांसद तथा माओवादी नेता नरेश भण्डारी बताउँछन् । दुरी लामो भएपनि खण्ड–खण्डमा गरेर उक्त काम अघि बढाउनुपर्ने उनको भनाइ छ । आफूले वर्षाैंदेखि उठाइरहेको विषयलाई अहिलेको सरकारले आफ्नो नीति तथा कार्यक्रममा राखेकाले पुन आशा जागेको उनको भनाइ छ । पहिलोको अध्ययनले उपयुक्त नभएको भनेकाले पुनः अध्ययन गरेर काम अघि बढाउन उनले सरकारलाई सुझाव दिएका छन् ।

प्रकाशित मितिः   १९ जेष्ठ २०८३, मंगलवार १७:०९