क्षयरोगबारे सचेतनामा जुट्दै युवा

सुर्खेत: कर्णालीका युवाहरूले क्षयरोग (टीबी) सँगै एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोगले निम्त्याउने समस्याबारे गाउँ–गाउँमा सचेतना फैलाउने भएका छन् । शनिवार वीरेन्द्रनगरमा नि–म्याट ग्लोबल र ग्लोबल कोअलिशन अफ टीबी एड्भोकेट (जीसीटीए) को साझेदारीमा आयोजित कार्यक्रममा सहभागी युवाहरूले सचेतना अभियान चलाउने प्रतिबद्धता जनाएका हुन् ।
प्रदेशस्तरीय युवा नेतृत्व विकास, क्षयरोग नियन्त्रण तथा एन्टिबायोटिक औषधिको असावधानीपूर्ण प्रयोगबाट उत्पन्न हुने प्रतिरोधी समस्याबारे छलफल गरिएको कार्यक्रममा कर्णालीका विभिन्न जिल्लाका २० भन्दा बढी सक्रिय युवा सहभागी थिए । कार्यक्रममा युवाहरूलाई क्षयरोगका आधारभूत पक्ष, रोगको पहिचान, उपचार प्रक्रिया तथा एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले निम्त्याउने चुनौतीबारे नि–म्याट ग्लोबलका कार्यकारी निर्देशक मधुसुदन काफ्लेले जानकारी गराएका थिए । उनले क्षयरोग लागेमा औषधि निःशुल्क पाइने, पूरा औषधि सेवन गर्ने, लागिहालेमा नडराउनेजस्ता विषयमा समुदाय र परिवारमा सचेतना जगाउन युवालाई आग्रह गरे । साथै उनले पछिल्लो समय एन्टिबायोटिकको जथाभावी प्रयोग बढ्दै गएको भन्दै चिकित्सकको पुर्जीबिना प्रयोग नगर्न, रातो धर्का भएका एन्टिबायोटिक मात्र प्रयोग गर्नका लागि पनि गाउँ–गाउँमा जनचेतना जगाउन आवश्यक रहेको बताए ।
कार्यशालामा सहभागी युवाहरूले आफ्नो क्षेत्रका अनुभव र स्वास्थ्य चुनौतीबारे खुला रूपमा धारणा राखेका थिए । जुम्लाकी ज्वाला रोकायाले कार्यक्रमले टीबीका प्राविधिक तथा सामाजिक पक्षसँगै जनस्वास्थ्यका विषयमा नयाँ जानकारी हासिल गर्ने अवसर दिएको बताइन् । ‘हामीले यसबारे आफ्नो समाजमा पनि जानकारी दिनेछौँ’ उनले भनिन् ‘यसले समुदायमा काम गर्दा आवश्यक ज्ञान र आत्मविश्वास दुवै दिएको छ ।’
सुर्खेतका उदयमान पाङ्गालीले टीबी र औषधिको सही प्रयोगबारे सचेतना फैलाउने अभियानलाई अझ प्रभावकारी र व्यापक बनाउन आगामी दिनमा थप सक्रिय हुने प्रतिबद्धता जनाए । उनले भने, ‘हामी सबै मिलेर आ–आफ्नो समुदायमा पुगेर सचेतना फैलाउने कामलाई अभियानकै रूपमा अघि बढाउँछौं ।’
त्यस्तै, कालिकोटको नरहरिनाथ गाउँपालिकाका अकेन्द्र दर्जीले कार्यशालाबाट सिकेको ज्ञान गाउँ–गाउँसम्म पु¥याउने योजना सुनाए । कालिकोटमा पनि समूह बनाएर सचेतनामूलक अभियान सञ्चालन गर्ने उनको भनाइ छ । कार्यक्रममा कर्णालीका युवाहरूले स्वास्थ्य क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै टीबी तथा एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगविरुद्धको अभियानमा आफूहरू अग्रपंक्तिमा रहने बताएका छन् ।
प्रकाशित मितिः १० जेष्ठ २०८३, आईतवार १६:०१
साझा बिसौनी ।