सहमतिपछि खुल्यो कर्णाली करिडोर

सुर्खेत: हुम्ला बाजुरा सीमा विवादपछि बन्द भएको कर्णाली करिडोर तत्कालका लागि खुलेको छ । विभिन्न पाँच वटा मागमा प्रहरी प्रशासनसँग सहमति भएपछि करिडोर खुलेको हो । स्थानीय हिमाली युवा क्लब, गाउँपालिका, राजनीतिक दलका प्रतिनिधि र प्रहरी प्रशासनबीच सहमति भएपछि यातायात सञ्चालन भएको हो ।

सम्झौतापत्रमा २४ घण्टाभित्र पाँच वटा मागका विषयमा कानुनी प्रक्रियामा नगए फेरि आन्दोलन तथा अनिश्चितकालीन यातायात बन्द गर्ने चेतावनीसमेत उल्लेख छ । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गगनसिंह भाटले १२ बजेतिर यातायात सञ्चालनमा आएको जानकारी दिए ।

मंगलवार साइपाल हिमालको आधार शिविर रानीसैन क्षेत्रको सीमा विवादका कारण बाजुरा र हुम्लाका स्थानीयबीच झडप भएको थियो । लामो समयदेखि सीमा विवाद रहेको रानीसैन र लाम्पाटा क्षेत्रमा बाजुरा प्रशासनले प्रहरी चौकी निर्माण सुरु गरेपछि विवादले उग्र रूप लिएको हो ।

बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले साङ्घातिक आक्रमण गर्दा ६ जना घाइते भएका छन् । घाइतेलाई बुधवार घाइतेमध्ये गम्भीर अवस्थाका तीन जनालाई काठमाडौं पठाइएको छ । साथै, धनगढीका नगर प्रमुख गोपाल हमालको नेतृत्वमा रहेको ३० जनाको टोलीलाई स्थानीय युवाहरूले चुची खोलासम्मै लखेटेर आक्रमणको प्रयास गरेका थिए । नगर प्रहरी र सुरक्षाकर्मीले मेयर हमाललाई जोगाउन सफल भए पनि स्थानीयले आवागमन अवरुद्ध गर्न खोलाको काठेपुल समेत आधा भत्काइदिएका थिए ।

प्रकाशित मितिः   ९ जेष्ठ २०८३, शनिबार ०५:०१