चुलियो खानेपानी संकट

सुर्खेत: अघिल्ला वर्षहरूमाजस्तै यो वर्ष पनि गर्मीयाम सुरु भएसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको संकट सुरु भएको छ । मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो ।

वीरेन्द्रनगरमा खानेपानीको पर्याप्त स्रोत छैन । स्रोत पर्याप्त नहुँदा बर्सेनि खानेपानीको समस्या हुने गरेको छ । विशेष गरेर गर्मी मौसममा पानीको समस्याले सधैँ सताउँने गरेको वीरेन्द्रनगर–३ की हिमा थापाले बताइन् । अहिले धारामा खानेपानी चार–पाँच दिनमा मात्र आउने गरेको उनले सुनाइन् । एकातर्फ पानीको स्रोत घटेको हुन्छ भने अर्कोतर्फ सबैभन्दा बढी पानीको खपत हुने मौसम यही हो । जसका कारण खानेपानीको संकट चुलिदा दैनिक गुजरा चलाउन पनि धाैँ–धाैँ भइरहेको वीरेन्द्रनगर–६ की सगुन नेपालीले बताइन् । उनले बर्सेनि खानेपानीको संकट झेल्नुपरिरहेको जनाइन् ।

उपत्यकामा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले मागअनुसार पानी पुर्‍याउन सकेको छैन । संस्थाले हाल झुप्राखोला, खरीखोला, बोरीखोला र उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गरिँदै आएको छ । मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताका धारामा आलोपालो प्रणालीबाट पानी वितरण हुँदै आएको छ । मुहानमा पानी घटेपछि अहिले ४८ घण्टाको फरकमा पानी वितरण गर्न थालिएको छ । तर उपभोक्ताहरू भने चार/पाँच दिनसम्म पनि धारमा पानी नआउने गरेको बताउँछन् । गर्मीयाममा पानी आपूर्तिमा ५० प्रतिशतले कमी आउने गरेको छ । संस्थाका अनुसार अहिले मुहानमा ४० प्रतिशत पानी घटेको छ । पानीको माग भने आपूर्तिभन्दा दोब्बरले बढी छ । त्यसमाथि घर र जनसंख्या वृद्धि हुँदै गइरहेको छ । पानीका सीमित स्रोत तथा संकलन र प्रशोधनका लागि आवश्यक संरचनाको समेत कमी हुँदा पानीको संकट बर्सेनि चुलिने गरेको हो ।

समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना अपरिहार्य हुन्छ । यसका लागि केही प्रयास पनि भइरहेका छन् । वीरेन्द्रनगर नगरपालिकाले तत्काल पानीको समस्या समाधान गर्नका लागि बोरिङ मर्मत गर्न बजेट विनियोजन गरिएको जनाएको छ । बोरिङ निर्माणका लागि कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले अनुदान दिने गरेका छन् । समुदायको मागका आधारमा बोरिङ निर्माणका लागि अनुदान दिने गरिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । प्रदेश सरकार र नगरपालिकाको संयुक्त बजेटबाट अनुदान दिने गरिएको छ । प्रतिबोरिङ दशदेखि १५ लाखका दरले वितरण गर्ने गरिएको ढकालको भनाइ छ । उनका अनुसार भूमिगत स्रोतको पानी निकाल्न तथा उपभोग गर्न अनुमति पत्र जारी गर्ने निर्देशिका–२०७६ निर्माण गरिएको छ । उक्त निर्देशिका बमोजिम माटो परीक्षण गर्नुपर्ने, जग्गाको मञ्जुरी हुनुपर्ने, समिति गठन, वडाको सिफारिस, नापीको नक्सा अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रदेश सरकार र नगरपालिकाले बोरिङ निर्माणका लागि मागका आधारमा अनुदान दिने गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाबाट अनुमति लिएर मात्र बोरिङ निर्माण गर्ने गरिएको छ । प्रत्येक वर्ष अनुदानका कार्यक्रम कार्यान्वयन भइरहेको जनाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ६१ वटा बोरिङ निर्माणका लागि अनुमति दिइएको थियो । त्यसपछि आर्थिक वर्ष २०७८/०७९ मा तीन, आर्थिक वर्ष २०७९/०८० मा २४, आर्थिक २०८०/०८१ मा २२, आर्थिक वर्ष २०८१/०८२ मा २४ वटा बोरिङ निर्माण भएका छन् । चालु आर्थिक वर्षमा चार वटा बोरिङ निर्माणका लागि सम्झौता गरिएको छ ।

अनुदान पाएर बोरिङ निर्माण गर्नेक्रम बढेपनि नगरपालिकाका सबै वडामा बोरिङको सम्भावना देखिएको छैन । वीरेन्द्रनगरका केही वडामा मात्र बोरिङ निर्माण गरेर पर्याप्त पानी आउँछ । वडा नंं. २, ३, ७, ९ र १० मा बोरिङमा पानी पर्याप्त आउँछ । वीरेन्द्रनगरको वडा नं. १ मा धेरै खानेपानीको संकट हुने गरेको छ । त्यहाँ सबै स्थानमा इनार तथा बोरिङ खन्दासमेत पानी आउँदैन ।

यस्तै, खानेपानीको समस्या दिर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउने काम धमाधम रूपमा भइरहेको छ । वल्र्ड बैंक, नेपाल सरकार र नगरपालिकाबीच त्रिपक्षीय सम्झौता भइ काम अघि बढेको हो । प्रादेशिक राजधानी बनेपछि वीरेन्द्रनगरमा दिनहुँ जनसंख्या बढ्दो क्रममा छ । अन्य जिल्लाबाट बसाइँ सरी आउने र नयाँ घर बन्ने क्रम रोकिएको छैन । यसले खानेपानीको समस्या बढ्दै गएको छ । बढ्दो सहरीकरण, प्रशासनिक, शैक्षिक, पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रको विकाससँगै सुर्खेत उपत्यकामा दिनानुदिन जनसंख्या बढ्दै गएको छ । वीरेन्द्रनगर उपत्यकामा हाल खरीखोला, बोरीखोला, झुप्रा खोला, इत्राम खोला र खोर्के खोलाबाट पानी ल्याइएको छ । यी पानीका स्रोतको पनि अपुग भएपछि पाँच दिनमा एक दिन गरेर वितरण गरिँदै आएको जनाइएको छ ।

प्रकाशित मितिः   ९ जेष्ठ २०८३, शनिबार ०५:०५