‘सरकार सही बाटोमा हिँडेन’
सुर्खेत: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारले सुझावलाई गम्भीर रूपमा नलिए सदन र सडक दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन् । आइतवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक अभ्यास विपरीत भएको टिप्पणी गरे ।
अध्यादेश ल्याउने, ट्रेड युनियन खारेज गर्नेजस्ता कदमले सरकारप्रति समर्थनभन्दा विरोध गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । ‘संविधान संशोधन वा लोकतन्त्रको रक्षाका निम्ति हामीले रचनात्मक ढंगले समर्थन गर्ने भनेका थियौँ,’ उनले भने, ‘तर पछिल्ला सरकारी कदमले समर्थनभन्दा पनि प्रतिवाद गर्नुपर्ने अवस्था बनाएको छ ।’
दाहालले झन्डै दुई–तिहाई नजिकको सरकारले संविधान संशोधनजस्तो संवेदनशील विषयमा पारदर्शिता कायम गर्न नसकेको आरोप लगाए । सदनलाई छल्दै अध्यादेश ल्याइनु लोकतन्त्रमाथिको अपमान भएको उनको भनाइ थियो । कम्युनिष्ट एकताबारे उनले नेताहरूबीच छलफल जारी रहेको जानकारी दिए । ‘कम्युनिष्टबीच एकता गर्ने भनेर नीतिगत निर्णय भएको छ,’ उनले भने, ‘तर तत्कालै पार्टी एक भइहाल्ने अवस्था भने छैन ।’
दाहालले सर्वदलीय सहमतिमा प्रदेश सरकारहरू पुनर्गठन नभए आफूहरूलाई सरकारमा जान कुनै हतारो नभएको बताए । ‘प्रमुख पार्टीहरूले अब प्रदेशका सरकारहरू हामी मिलेर बनाऔँ भनेर कतै कांग्रेसको तर्फबाट, कतै नेकपा एमालेको तर्फबाट प्रस्ताव हामीकहाँ आउने गरेको थियो, आइरहेको पनि छ,’ उनले भने ।
अहिले यो वा त्योसँग मिलेर सरकार बनाउने खेलमा आफू नभएको पनि प्रचण्डले प्रष्ट पारे । उनले अगाडि भने, ‘त्यसले फेरि जनतामा भ्रम मात्रै सिर्जना गर्छ, अरूहरूलाई मद्दत पु¥याउन सक्छ । त्यसकारण अहिले कांग्रेसलाई बाहिर पठाएर एमालेसँग मात्रै मिलेर सरकार बनाउने वा एमालेलाई बाहिर पठाएर कांग्रेससँग मिलेर सरकार बनाउने नीति आजको परिस्थितिमा गलत छ भनेर हामीले इन्कार गरेका छौँ ।’
यदि प्रदेश सरकारमा नयाँपन ल्याउने हो भने कांग्रेस, एमाले, नेकपा र मधेस केन्द्रित दलहरूसमेत मिलेर साझा सरकार बनाउने कुरामा चाहिँ आफ्नो सहमति रहने उनले बताए । त्यसो गरे देशमा लोकतन्त्र, गणतन्त्रका पक्षधर तथा हिजोको शान्ति सम्झौता र संविधानसभाका पक्षधर सबै शक्ति एक ठाउँमा उभिँदा जनतालाई पनि एउटा ढाडस र राहत मिल्ने प्रचण्डको भनाइ छ । त्यसो गरे प्रदेश सरकार पनि तुलनात्मक रूपले राम्रो चल्न अपेक्षा उनले गरे । ‘यही कारण प्रदेशसभामा प्रतिनिधित्व भएका दलहरूको सर्वदलीय सरकार बनाउने हो भने हामी सहमत छौँ,’ उनले थपे, ‘होइन भने अहिले जसरी एमाले–कांग्रेसले जसरी चलाएका छन् चलाउन् ।’
प्रकाशित मितिः ४ जेष्ठ २०८३, सोमबार ०५:०४
साझा बिसौनी ।