लाभ लिन सकिने पर्यटन

कर्णाली प्रदेश पर्यटकीय गन्तव्य बन्नसक्ने सम्भावना बोकेको क्षेत्र हो । तर छिटफुटबाहेक ठूलो संख्यामा पर्यटक भिœयाएर कर्णालीले लाभ उठाउन सकिरहेको छैन । आवश्यक पूर्वाधारको अभावदेखि प्रचार–प्रसारको कमीका कारण पर्यटन प्रवद्र्धन योजनाले सफलता पाएको छैन । पछिल्लो समय भने त्यसका लागि केही प्रयास भइरहेका छन् । जसअन्तर्गत ‘गन्तव्य कर्णाली’ एप पनि एक हो । कर्णालीका पर्यटकीय स्थलहरूको प्रचारका लागि सरकारले नै एप सञ्चालनमा ल्याएको हो । तर त्यसको व्यवस्थित उपयोग हुन सकिरहेको छैन । अब भने थप व्यवस्थित र परिमार्जनसहित सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । जसले कर्णालीका नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचानका साथसाथै भएका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रवद्र्धनमा ठूलो मद्दत हुने अपेक्षा गरिएको छ ।

यसअघि निर्माण गरिएको ‘गन्तव्य कर्णाली’ मा केही गन्तव्यका क्षेत्र थप गरेर एपलाई अन्तिम रूप दिन लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । गन्तव्य कर्णाली एप परिमार्जन गर्नेदेखि ‘पर्यटक गाइड’ पुस्तक प्रकाशन गर्ने तयारी पनि भइरहेको छ । कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यको प्रचार तथा गन्तव्य पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले एप परिवर्तित गर्नेदेखि पर्यटक गाइड पुस्तक निर्माण गरिएको हो । अहिले स्वीकृतिका लागि मन्त्रालयको खरिद समितिमा पठाइएको छ । समितिबाट स्वीकृत हुनेबित्तिकै सरकारले ‘गन्तव्य कर्णाली एप’ र ‘पर्यटक गाइड’ पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्षबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्नेगरी योजना निर्माण गरिएको छ ।

कर्णालीको पहिचान दिलाउने थुप्रै सम्पदा छन् । पर्यटकीय सम्भावना बोकेको प्रकृतिको ‘भर्जिन गन्तव्य’ का रूपमा कर्णालीलाई लिने गरिएको छ । कर्णालीको भौगोलिक विकटता, सडक यातायातको पहुँच अभाव र पर्यटकीय स्थलहरूको प्रचार तथा प्रसार नहुँदा ती थुप्रै सम्पदा ओझेलमा परेका छन् । कर्णालीमा देशको सबैभन्दा ठूलो रारा ताल, ऐतिहासिक काँक्रेविहार मन्दिर, पञ्चकोशी क्षेत्र, शे–फोक्सुण्डो ताल, कुपिण्डे र बुलबुले ताल, पचालझरना, सिंजा सभ्यता र ऐतिहासिक दरबार तथा देवलहरू छन् । पछिल्लो समय कर्णालीका पर्यटकीय क्षेत्रहरूको अवलोकनका लागि पर्यटकहरू आउन थालेका छन् । कर्णालीबाटै तिब्बतमा रहेको धार्मिक महत्वको मानसरोवर दर्शन गर्न सकिने भएकाले पर्यटकहरू आउने गरेका छन् । कर्णाली प्रदेश सरकारले प्रदेशका दशवटै जिल्लाका पर्यटकीय क्षेत्र पहिचान गरेर पर्यटकीय गन्तव्यका रूपमा ‘गन्तव्य कर्णाली एप’ निर्माण गरेर कार्यानवयन गर्न लागेको हो । प्रदेशभित्र भएका प्राकृतिक सम्पादनहरूका साथसाथै साहसिक पर्यटनलाई पनि प्रवद्र्धन गर्न सक्ने हो भने कर्णालीले पर्यटन क्षेत्रबाटै ठूलो आर्थिक लाभ लिन सक्नेछ ।

प्रकाशित मितिः   २४ बैशाख २०८३, बिहीबार ०५:०३