कामको गति

कर्णाली प्रदेश सरकारको समग्र प्रगति अवस्था हेर्ने हो भने निकै कमजोर देखिन्छ । बजेट कार्यान्वयनको गति सुस्त छ, योजनाहरूको कार्यान्वयन पनि अपेक्षित गतिमा हुन सकेको छैन । यसकाबीच पनि प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आयोजना कार्यान्वयनमा तीव्रता दिएको छ । बजेट र जनशक्तिको अभावमा चलिरहेको मन्त्रालयले लक्ष्यअनुसारका योजना कार्यान्वयनमा भने प्रगति हासिल गरेको देखिएको छ । न्यून बजेट, अपुग जनशक्ति हुँदा अघिल्ला वर्षहरूमा लक्ष्य अनुरूपको योजना कार्यान्वयनमा चुनौती हुने गरेको थियो । मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/०८३ मा बजेट विनियोजन भएका एक हजार दुई सय ४२ योजना कार्यान्वयनमा ल्याएको छ ।

मन्त्रालयका एक हजार तीन सय ७६ योजनामध्ये झण्डै ९० दशमलव २६ प्रतिशत योजना कार्यान्वयन भइरहेको तथा एक सय ३४ वटा योजना कार्यान्वयनको चरणमा छन् । योजना कार्यान्वयनको गति बढेको छ । त्यसमध्ये एक सय ३९ वटा योजना सम्पन्न भइसकेका छन् भने ५६ वटा योजना विभिन्न कारणले कार्यान्वयन हुन नसकेको मन्त्रालयले जनाएको छ । जिल्लागत विवरण अनुसार सुर्खेतमा सबैभन्दा धेरै एक सय ७७ योजना सञ्चालनमा रहेकामा एक सय ६८ वटा कार्यान्वयन भइसकेका छन् । सल्यानमा ७९ मध्ये ७४, दैलेखमा एक सय ८३ मध्ये एक सय ७४, कालीकोटमा एक सय ५९ मध्ये एक सय ५३, जुम्लामा एक सय चारमध्ये ९७, मुगुमा ९४ मध्ये ८४ योजना कार्यान्वयन भएका छन् । त्यस्तै, रूकुमपश्चिममा एक सय ४३ मध्ये एक सय २०, जाजरकोटमा एक सय १३ मध्ये एक सय दुई, डोल्पामा एक सय ६ मध्ये एक सय एक, हुम्लामा दुई सय २२ मध्ये दुई योजना कार्यान्वयन भएको देखिन्छ । आर्थिक वर्ष २०८२/०८३ मा यस मन्त्रालयका लागि तीन अर्ब ८३ करोड तीन लाख बजेट विनियोजन भएकोमा अहिलेसम्म ९४ करोड २४ लाख रूपैयाँ खर्च भएको छ । जसमा चालुतर्फ ५३ दशमलव तीन र पुँजीगततर्फ २२ दशमलव ४१ प्रतिशत गरी जम्मा २४ दशमलव ६० प्रतिशत बजेट खर्च भएको छ ।

संख्यात्मक रूपमा मन्त्रालयको योजना कार्यान्वयन अन्यको तुलामा अगाडि देखिन्छ । यद्यपि यो पनि पर्याप्त भने होइन । मन्त्रालयको बजेट कार्यान्वयन अहिले पनि अपेक्षित रूपमा हुन सकेको छैन । पुँजीगत खर्च कम हुनुले मन्त्रालयको कमजोरी देखाउँछ । त्यसैले संख्यात्मक रूपमा आयोजना तथा कार्यक्रमहरूको कार्यान्वयनका साथसाथै समग्रमा प्रगति देखिने गरेर काम गर्न आवश्यक देखिएको छ । आवश्यकताका आधारमा योजना निर्माण गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनले मात्रै समग्रमा मन्त्रालय र सरकारकै प्रगति देखिन्छ ।

प्रकाशित मितिः   २१ बैशाख २०८३, सोमबार ०५:०३