पूर्वाधार विकासमा प्रगति
सुर्खेत: कर्णाली प्रदेशमा बर्सेनि पूर्वाधार विकासमा प्रगति भएको छ । प्रदेश सरकारले हालसम्म तीन सय किलोकिलोमिटर भन्दा बढी सडक कालोपत्रे गरेको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको विवरण अनुसार हालसम्म तीन सय दुई दशमलव ८४ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
चालु आर्थिक वर्षमा मात्र ५३.२६ किलोमिटर सडक कालोपत्रे गरिएको मन्त्रालयका प्रवक्ता एवम् सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिए । उनका अनुसार यो वर्ष एक सय ६१ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो । यस्तै, प्रदेश सरकारले हालसम्म सात सय ७४.७ किलोमिटर सडक ग्रावेल गरेको छ । चैत मसान्तसम्मको वितरणमा उल्लेख गरिएअनुसार यो वर्ष मात्र ६१.०६ किलोमिटर सडक ग्रावेल गरिएको हो । यो प्रगति लक्ष्यभन्दा कम हो । सरकारले यो वर्ष एक सय ३९.७० किलोमिटर सडक ग्रावेल गर्ने लक्ष्य राखेको थियो ।
हालसम्म तीन हजार दुई सय ७६ किलोमिटर माटे सडक निर्माण गरिएको छ । यो वर्ष एक सय ८४ किलोमिटर माटे सडक निर्माण गर्ने लक्ष्य राखिएको भएपनि एक सय १३.९८ किलोमिटर मात्र माटे सडक निर्माण गरिएको छ । अहिलेसम्म नाला लगायतका अन्य पूर्वाधार सात सय ४५.५९ वटा निर्माण भएका छन् । यो वर्ष ९६.८० वटा निर्माण गर्ने लक्ष्य राखिएकोमा १००.८४ वटा निर्माण गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले अहिलेसम्म एक सय ५१ वटा झुलुङ्गे पुल निर्माण गरेको छ । यो वर्ष मात्र ६३ वटा झुलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा २६ वटा मात्र निर्माण भएका छन् । सरकारले हालसम्म ६२ वटा सडक पुल निर्माण गरेको छ । यो वर्ष मात्र ४४ वटा सडक पुल निर्माण गर्ने लक्ष्य लिएको प्रदेश सरकारले नौ वटा सडक पुल मात्र निर्माण गरेको हो ।
अहिलेसम्म प्रदेश सरकारले २६ वटा सार्वजनिक भवन निर्माण गरेको छ । यो वर्ष ५१ वटा निर्माण गर्ने लक्ष्य लिएकोमा सात वटा मात्र निर्माण गरिएको छ । संघीय सरकारको जनता आवास कार्यक्रमअन्तर्गत तीन हजार पाँच सय ६८ वटा घर निर्माण भएका छन् । यो वर्ष एक सय ५३ वटा घर निर्माण गर्ने लक्ष्य राखिएकोमा ३८ वटा मात्र निर्माण भएका छन् । सोही कार्यक्रमअन्तर्गत प्रदेश सरकारले छुट्टै घर निर्माणको काम गरिरहेको छ ।
प्रदेश सरकारले कार्यान्वयन गरिरहेको जनता आवास कार्यक्रमअन्तर्गत सात सय ३६ वटा घर निर्माण भएका छन् । यो वर्ष दुई सय ३२ वटा आवास निर्माण गर्ने लक्ष्य राखिएकोमा ३० वटा मात्र निर्माण भएका छन् । विपन्नको घर कार्यक्रमअन्तर्गत हालसम्म ६ सय ५२ वटा निर्माण भएका छन् । यो वर्ष मात्र दुई सय ७९ वटा घर निर्माण गर्ने लक्ष्य राखिएकोमा ३२ वटा निर्माण गरिएको छ ।
लक्ष्य अनुरूप न्यून प्रगति
प्रदेश सरकारले लक्ष्य अनुरूप काम गर्न सकेको छैन । बजेट कार्यान्वयनको गति नबढ्दा पूर्वाधार विकास लक्ष्य अनुरूप काम हुन नसकेको हो । कर्णाली प्रदेश सरकारले ल्याउने बजेटको ठूलो हिस्सा खर्च नभएर बचत रकममा आधारित हुने गरेको छ । जुन यो पटक अझ ठूलो मात्रामा रकम बचत हुने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको सरकारले चैत मसान्तसम्म आठ अर्ब तीन करोड ६२ लाख बराबरको बजेट खर्च भएको छ, जुन कुल बजेटको २४ दशमलव २१ प्रतिशत हो । कर्णालीको आफ्नो आन्तरिक स्रोत निकै कमजोर छ । त्यसो हुँदा पूर्णतः संघीय अनुदान र बाँकी सञ्चित रकमलाई नै प्रमुख आधार बनेर कर्णालीको बजेट निर्माण हुने गरेको छ । अहिले इरान युद्धका कारण पेट्रोल, डिजल बढेर बिटुमिन आउन छाड्यो, जसका कारण विकासका काम सुस्ताएका छन् । कालोपत्रेको काम हुनै छाड्यो । यो अवस्थामा चालु आर्थिक वर्षमा पुँजीगत बजेट ६० प्रतिशत कार्यान्वयन हुन पनि मुश्किल छ । यो अवस्थामा ठूलो रकम बचत हुन्छ । यसैलाई आधार बनाएर आगामी बजेटको आकार तय हुन्छ । यदि चालु बजेट ८० प्रतिशत खर्च भयो सञ्चित कोषमा रकम न्यून बचत हुन्छ । चालु आर्थिक वर्षको बजेटमा झन्डै ६ अर्ब बचत रकमका आधारमा ३१ अर्ब बढीको बजेट ल्याइएको थियो ।
प्रकाशित मितिः १९ बैशाख २०८३, शनिबार ०५:०५
रजनी याेगी ।