विद्यार्थीको हातहातमै पाठ्यपुस्तक

सुर्खेत: यो वर्ष भर्नासँगै विद्यार्थीको हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । कर्णालीका सबै जिल्लाहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।

प्रादेशिक कार्यालय प्रमुख जमुना ढकालले कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक पुगेको बताइन् । उनका अनुसार जनक शिक्षा सामग्री केन्द्रको तालिका बमोजिम चैत ९ गतेदेखि पुस्तक वितरण सुरु गरिएको हो । यो वर्षका लागि आवश्यक पर्ने दश लाख थान पुस्तक ल्याइएको थियो । धेरैजसो पुस्तक जिल्ला–जिल्लामा पुगिसकेको छ । ढकालका अनुसार पहिलो चरणमा सबै जिल्लामा पाठ्यपुस्तक पुगेको छ भने छुट भएका जिल्लाहरूमा धमाधम पु¥याउने काम भइरहेको छ ।

जनक शिक्षाले जिल्लाअनुसार पालो तोकेर पुस्तक वितरण गरिरहेको छ । दुर्गम जिल्लाको पहिले पालो तोकिएको छ भने अलिक सुगम जिल्लालाई पछाडि राखिएको छ । चैत ९ गतेदेखि १४ गतेसम्म हुम्ला र डोल्पा, चैत १५ गतेदेखि १६ गतेसम्म मुगु, १७ गतेदेखि १८ गतेसम्म जुम्ला, १९ गतेदेखि २० गतेसम्म कालीकोट, २१ गतेदेखि २२ गतेसम्म जाजरकोट, २३ गतेदेखि २४ गतेसम्म दैलेख र २५, २६, २७ गते तीन दिन सुर्खेतमा पुस्तक वितरण गरिनेछ । तर अहिले तालिका अनुसार नभइ जिल्ला–जिल्लाका पुस्तक बिक्रेताले गरेको मागअनुसार पुस्तक वितरण भइरहेको कार्यालय प्रमुख ढकालले जनाइन् ।

भर्नासँगै विद्यार्थीलाई पाठ्यपुस्तक हातमै उपलब्ध गराउने सरकारको नीति अनुरूप नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पु¥याइएको हो । गोदाममा अझै सात हजार पाठ्यपुस्तक स्टक राखिएको कार्यालयले जनाएको छ । अहिलेपनि बिक्रेताको मागको आधारमा धमाधम पाठ्यपुस्तक वितरणको काम भइरहेको कार्यालय प्रमुख ढकालले बताइन् । किताब बिक्री गर्ने क्रम जारी छ ।

सरकारले वैशाख १५ गतेबाट भर्ना अभियान र २१ बाट पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । शिक्षा नियमावली २०७८ ले नयाँ शैक्षिक सत्र २ वैशाख र पठनपाठन १६ वैशाखबाट सञ्चालन गर्नु भनेको छ । कर्णालीका केही जिल्लाहरूमा भर्ना अभियान सुरु भइरहेको छ ।

हिमाली जिल्ला डोल्पा र मुगुमा भर्ना अभियान सुरु भएको हो । मुगुको छाँयानाथ रारा नगरपालिकाले वैशाख ९ गतेदेखि पालिकाभर भर्ना अभियान सुरु गरेको छ । ९ देखि १५ गतेसम्म भर्ना अभियान र १६ गतेदेखि पठनपाठन सुरु गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख विकेन्द्र विकले बताए । यो नगरपालिकाले केन्द्र सरकारले तोकेको समयअगावै विद्यालय सञ्चालन गर्ने निर्णय हो । साथै पालिकाले सरकारले आइतवार दिन थालेको बिदा पनि नदिने जनाएको छ । संविधानले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहलाई दिएको आधार प्रयोग गरी आइतवारसमेत बिदा नदिने निर्णय गरेको शिक्षा शाखा प्रमुख विकले बताए । नेपालको संविधान र प्रचलित कानुनअनुसार आधारतभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएको भन्दै आफ्नो नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यालय भर्ना तथा सञ्चालन गर्ने निर्णय गरेको छाँयानाथ रारा नगरपालिकाले जनाएको छ ।

डोल्पाको मुड्केचुला गाउँपालिकाको ३ वैशाखमा बसेको गाउँ शिक्षा समितिको बैठकले सरकारले गरेको निर्णय लागू गर्न कठिनाइ भएको जनाएको छ । हिमाली जिल्ला पर्ने भएकाले आइतवार बिदा दिँदा पाठ्यक्रमअनुसारको पाठ्यभार पूरा गर्न नसकिने भन्दै यस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ । सरकारको निर्णयले हिमाली जिल्लामा चिसोलगायतका कारणले पाठ्यभार पूरा गर्न सकस हुने भन्दै दुवै निर्णय कार्यान्वयन नगर्ने जनाइएको छ । अहिले धमाधम रूपमा भर्ना अभियान चलिरहेको शिक्षा शाखा प्रमुख गोपाल बुढाले बताए ।
यस्तै, डोल्पाकै शे–फोक्सुन्डो गाउँपालिकाले पनि भर्ना अभियान सुरु गरेको छ । वैशाख १५ गतेसम्म भर्ना अभियान र १६ गतेबाट पठनपाठ सुरु गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशराज जैसीले बताए । अहिले कर्णालीका हिमाली जिल्लाहरूले धमाधम रूपमा भर्ना अभियान गरिरहेका छन् । हिमाली जिल्लामा पुसमा १५ र माघमा ३० दिन गरी ४५ दिन बिदा हुँदै आएकोमा आइतवार बिदा दिँदा तोकिएको वार्षिक पाठ्यक्रमअनुसार कुनै पनि कक्षाको पाठ्यभार पूरा गर्न नसकिने भएकाले यस्तो निर्णय गर्नुपरेको शिक्षा शाखा प्रमुख जैसीले बताए । डोल्पाकै ठूली भेरी नगरपालिकाले पनि सरकारको निर्णय कार्यान्वय नगरेर पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ । नगरपालिकाको नगर शिक्षा समितिले पालिकामा सञ्चालित सम्पूर्ण सामुदायिक, निजी तथा धार्मिक विद्यालयहरूमा पनि पठनपाठन सुचारु हुने जनाएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकाको कार्यपालिका बैठकले पनि ७ वैशाखबाट विद्यालय अभियान सुरु गरिसकेको जनाएको छ । यस्तै आइतवार बिदा नदिने निर्णय पनि पालिकाले गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले भने केन्द्र सरकारको निर्णय कार्यान्वयन गर्ने भएको छ । केन्द्र सरकारको निर्णय कार्यान्वयन गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव धीरेन्द्र शर्माले बताए । वैशाख १५ गते भर्ना अभियानसँगै पठनपाठन भने गर्ने निर्णय भएको उनको भनाइ छ ।

प्रकाशित मितिः   १२ बैशाख २०८३, शनिबार ०५:०५