लीलाधर गौतमः सुर्खेती कम्युनिष्ट आन्दोलनको कोशेढुङ्गा

लीलाधर गौतम (जन्मः वि.सं. १९९२ माघ १७ गते, निधनः वि.सं. २०८३ वैशाख ५ गते) सुर्खेती कम्युनिष्ट आन्दोलनमा पहिलो पुस्ता, जसलाई स्थापना कालको पुस्ता पनि भनिन्छ र कोशेढुङ्गाको रूपमा पनि लिन सकिन्छ । उहाँको ९१ वर्षको उमेरमा असामयिक निधन भयो । उहाँको निधनले न केवल कम्युनिष्ट आन्दोलनमा मात्र क्षति भयो, बरु समग्र प्रगतिशील, आमूल परिवर्तनकारी धारामा समेत ठूलो क्षति भयो, अपूरणीय क्षति भयो । अतः सर्वप्रथम उहाँको निधनप्रति गहिरो दुःखका साथ भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

गौतम सर सामान्य किसान परिवारमा जन्मिएको एउटा असाधारण कम्युनिष्ट क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । उहाँको जीवनशैली सामान्य, परिश्रमी एवम् अध्ययनशील थियो । सुर्खेतमा यति धेरै अध्ययनशील नेताहरू सायदै होलान्, उहाँको अध्ययन गर्ने बानी त्यति धेरै थियो । आजको पुस्ताले उहाँबाट यो गुण सिक्न जरूरी छ ।

मैले पञ्चायत कालदेखि संगत गरेका अग्रजहरूमध्ये उहाँको दैनिकी नियाल्दा कतै पनि खोट लागेको, निजी सुखदुःखमा रमाएको वा विभिन्न प्रकारले अनियमितताको शिकार भएको कहिल्यै पाइन । जीवनभर कम्युनिष्ट आन्दोलनमा सतीसालझैं ठिङ्ग उभिएर निर्भिकतापूर्वक आफ्ना विचारहरूको प्रवाह गरिरहने व्यक्तित्वका रूपमा गौतम सरको नाम अग्रणी रहेको छ । पञ्चायतकालको कष्टकर समयमा पनि अनेकौँ अप्ठ्यारा र कठिनाइहरूसँग जुध्दै क्रान्तिकारी एवम् आमूल परिवर्तनको पक्षधर बनेर लडिरहनु उहाँको अद्वितीय क्षमता हो । जसलाई साधारण व्यक्तिमा भएको असाधारण गुणको रूपमा उपमा दिन सकिन्छ । जुन उहाँको नसा–नसा र जीवनशैलीबाट समेत प्रतिविम्बित भएको थियो ।

लीलाधर सरको राजनीतिक यात्रा र शिक्षण पेसा सँगसँगैजसो सुरु भएको हो । उहाँसँगका अन्तरंग कुराकानीमा भन्ने गर्नुहुन्थ्यो, ‘मैले २०१५ सालको आम निर्वाचनमा निर्मल लामालाई सघाएको हुँ । लामाजी हट्टाकट्टा युवा, जोसिलो, निडर र साहसी हुनुहुन्थ्यो । उहाँले नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट सुर्खेत, दैलेख (एउटै क्षेत्र) बाट उम्मेदवारी दिनुभयो र मैले उहाँलाई सघाउने काम गरेँ ।’ यसरी उहाँको राजनीतिक सुरुवात नै कम्युनिष्टहरूको स्कुलिङबाट भयो र जीवन पर्यन्त उहाँले यो आदर्शलाई पछ्याइरहनु भयो । वि.सं. २०१५ देखि नै उहाँ कम्युनिष्ट क्रान्तिकारी बन्नुका साथै शिक्षकका रूपमा पनि स्थापित हुनु भयो । सुर्खेतका विभिन्न विद्यालयमा उहाँले आफ्नो ज्ञान, विवेक र चेतना प्रवाहमा अमूल्य योगदान दिनुभएको कुरा सर्वविदितै छ । फलस्वरूप जनताले उहाँको नाम नै ‘गौतम माड्साव’ राखिदिए । यही नाम उहाँको सक्कली पहिचान पनि बन्यो ।

सुर्खेतमा शिक्षाको ज्योति फैलाउने अभियानको अग्रणी नेतृत्व उहाँले नै गर्नुभयो र साथसाथै शिक्षण पेसासँग क्रान्तिको चेतना पनि मिसिन पुगेकाले अब उहाँको टक्करमा जाने कुनै पनि व्यक्ति पाउन दुर्लभ प्रायः भयो । अहिले घरघरमा पढेलेखेका स्नातक वा स्नातकोत्तर तहका युवाहरूको कुनै कमी छैन तर जुन बेला भर्खरै शिक्षाको मिरमिरे उज्यालो फैलिँदै थियो, त्यतिबेला उहाँहरूको अभियान शैक्षिक जग स्थापना गर्ने कोशेढुङ्गाको रूपमा थियो । तसर्थ उहाँको नाम शैक्षिक अभियन्ताको अग्रसूचीमा पर्दछ भन्नु अत्युक्ति नहोला ।

सुर्खेतका पूर्वी पहाडी गाउँहरू डाडाँगाउँ, नेटा, च्यारकुले, बजेडीचौर, सिम्ता, राकमलगायत उपत्यकाका अधिकांश विद्यालयमा उहाँले नपढाएको कुनै एउटा विद्यालय छैन । यसरी ‘गौतम माड्साव’ अब केवल एउटा व्यक्ति हुनुहुन्थेन उहाँ यस जिल्लाको शैक्षिक क्यालेन्डर, जनताको घरदैलोमा शिक्षाको उज्यालो छर्ने अग्रदूत पनि हुनुहुन्थ्यो । यस सन्दर्भमा उहाँका समकालीनमध्ये मदन भट्टको नाम पनि अविस्मरणीय नै छ । पञ्चायतकालको पूर्वाद्धमा गौतम माड्साव र मदन माड्साव (मदन भट्ट) दुवैको सहकार्यबाट यहाँका अधिकांश विद्यालयहरू स्थापना भए, पठनपाठनको सुव्यवस्था मिल्दै गयो र आजको पुस्ता (उहाँपछिको तेस्रो पुस्ता) सम्म आइपुग्दा सुर्खेतले धेरै ठूलो फड्को मार्न सफल भयो, यसको प्रमुख देन गौतम माड्साव र मदन माड्साव दुवैको दायित्वमा पर्दछ ।

उहाँका अनेकौँ गुणहरू छन् । अद्वितीय गुण चाहीँ अध्ययनशील, वैज्ञानिक र माक्र्सवादी चिन्तन नै हो । माक्र्सवादको विकास र प्रवर्धनका लागि वैज्ञानिक चिन्तनको विकास अपरिहार्य छ भन्नु हुने गौतम माड्साव पुस्तकालयप्रेमी पनि हुनुहुन्थ्यो । उहाँलगायतकै अथक परिश्रमबाट वि.सं. २०२४ मा ‘हिमाली पुस्तकालय’ को स्थापना भयो । हिमाली पुस्तकालय पञ्चायतकालभरी प्रशासनको आँखाको तारो बनिरह्यो । त्यसको पुर्नउत्थान तथा प्रवर्धनमा गौतम माड्सावको अद्वितीय योगदान रहेको छ । जीवनको उत्तरार्धकालसम्म अझ भनौँ मृत्युपर्यन्तसम्म हिमाली पुस्तकालयको मर्मत, सम्भार, त्यसको विकास, विस्तार र प्रवर्धनमा उहाँले यति धेरै श्रम, पसिना बगाउनु भयो कि त्यसका लागि साहित्यकार, राजनीतिकर्मी, समाजसेवी, जनप्रतिनिधि सबैलाई सर्वविदित छ । यसरी अनेकौँ पक्षबाट गौतम सरको योगदान सुर्खेती समाजका लागि अग्रणी छ, सर्वोपरि छ र अविस्मरणीय छ । यो रिक्तता र अभाव हाम्रो समाजका लागि धेरै ठूलो मूल्यको हुनुको साथै उहाँको निधन अपूरणीय क्षति हो । यस्तो साधारण जीवनशैलीको सरल मानव असाधारण क्षमताको धनी हुनु विरलै मात्रै पाइन्छ । गत माघमा कर्णाली प्रदेश अस्पतालमा मैले भेट्दासम्म उहाँको स्मरणशक्ति राम्रो थियो र उहाँको स्वास्थ्यमा क्रमिक सुधार पनि भइरहेको थियो तर एकाएक उहाँको निधनले मलाई स्तब्ध बनाएको छ र उहाँको अभावको गहिरो महशुस सुरु हुन थालेको छ ।

लीलाधर सर मेरो राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो । क्रान्तिकारी आशावाद उहाँको मृत्युपर्यन्तसम्म कायम रह्यो । अहिलेको वैचारिक विचलन र दक्षिणपन्थी–विसर्जनवादी हावाका विपरीत पनि उहाँ सदैव आशाको दियो बनिरहनु भयो, सतिसालझैं हावाहुरी र हुन्डरीका बीचमा एक्लै पनि ठिङ्ग खडा रहनु भयो । यो उहाँको जीवनभरको अमूल्य सम्पत्ति बनेको छ । उहाँको उठबस, आचारविचार र बानीव्यवहार सदैव सामान्य रह्यो । कतिपय अवस्थामा त उहाँ पृथ्वीको सबैभन्दा खाँट्टी सर्वहारा समान पनि देखिनु हुन्थ्यो । उहाँको वास्तविक जीवनशैलीलाई नजिकैबाट देख्नेहरूका लागि उहाँ सम्पूर्णतः श्रमजीवी, सर्वहारा वर्गीय नै हुनुहुन्थ्यो । कहिलेकाहीँ त उहाँलाई देख्दा उहाँका अगाडि सम्पूर्ण समाज नै बुर्जुवा जस्तो लाग्थ्यो । यस्तो अभाव र कठिनाइमा पनि उहाँको अविचलित धैर्यताको फराकिलो क्षितिजले हामी सबैलाई गर्व गर्न सक्ने आदर्श व्यक्तित्वका रूपमा उहाँलाई पाएको लाग्दथ्यो । निर्भिक, निष्कलंकित र निरन्तर सक्रियताले उहाँलाई मौलिक रूपमै बेग्लै धातुले बनेको सचेत कम्युनिष्ट योद्धाको रूपमा उभ्याएको छ । गौतम सर हाम्रो समाजको सबैभन्दा अग्लो पूर्ण कदको ज्यूँदो मानव स्मारक हो भन्ने लाग्छ मलाई । यसरी भन्नुपर्दा गौतम सर हाम्रो समाजका आदर्श, मार्ग दर्शक हो र हाम्रा लागि प्रेरणाका दिग्दर्शन पनि हो ।

 

लीलाधर गौतम

 

नेपाली राजनीतिको क्रान्तिकारी एवम् प्रगतिशील धारा नेपाली कम्युनिष्ट आन्दोलन उहाँजस्ता सयौँ, हजारौँ ज्युँदा शहीदहरूले स्थापना गरेको आदर्शबाट अभिप्रेरित छ । आजपर्यन्त पनि यहाँका हरेक क्रान्तिकारी आन्दोलन र वर्गसंघर्षका पेचिलो धाराहरूमा लीलाधर सरजस्ता मौलिक चिन्तन र सरल जीवनशैली बोकेका नेता, कार्यकर्ता, शुभचिन्तक र शुभेच्छुकहरूले यसलाई निरन्तरता दिइरहेका छन् । उहाँको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनप्रतिको लगानी आउने पुस्तासम्मका लागि ठूलो मूल्यको रूपमा पूँजीकृत बनेको र त्यसले नेपाली कम्युनिष्ट आन्दोलनमा अक्षयकोषको आकार ग्रहण गरेको छ । वि.सं. २०१५ देखिको उहाँको परिश्रम गणतन्त्र प्राप्तिको आन्दोलनसम्म आइपुग्दा अझ धेरै फल्न, फुल्न र फक्रिन सकेको प्रति गर्व गर्नु पर्दछ । उहाँ कम्युनिष्ट आन्दोलनमा सहभागी हुँदाको बखत देशमा एकतन्त्रिय, जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको अभ्युदय भइसकेको थियो । तर त्यसले स्थायित्व नपाउँदै वि.सं. २०१७ पुस १ गते तत्कालिन राजा महेन्द्रले दलमाथिको प्रतिबन्ध लगाए, तत्पश्चात गौतम सर त्यसको निशानामा पर्नु भयो र प्रहरीले उहाँको खुट्टामा निर्मम प्रहार ग¥यो, जसकारण जीवनभर उहाँ खुट्टाको समस्याबाट पीडित भइरहनु भयो । त्यसपछि पनि उहाँ चुप लागेर बस्नु भएन । पञ्चायत विरोधी आन्दोलनमा कहिले भूमिगत, कहिले प्रवास गर्दै उहाँ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कमा पुग्नुभयो । बनारसमा उहाँ पुष्पलालसँग रहेर लामो समय प्रवासी नेपालीलाई पञ्चायत विरोधी धारमा संगठित गर्न लाग्नु भयो । पुष्पलाल श्रेष्ठ, एकदेव आले, कविवर युद्धप्रसाद मिश्रलगायतसँगको उठबस, निकट सानिन्ध्य एवम् संगतबाट उहाँलाई अझैं ठूलो वैचारिक बल मिल्यो र उहाँ पूरै समर्पित भएर कम्युनिष्ट आन्दोलनमा होमिनु भयो ।

वि.सं. २०१८ मा प्रहरीको कुटाइबाट खुट्टामा गहिरो चोट पुगेपछि उहाँ बाँकेका विभिन्न रस्तीबस्तीहरूमा काम गरेको अनुभव पनि हामीलाई सुनाउनु हुन्थ्यो । निरकुंश राजतन्त्रको अन्त्य र नयाँ जानवादी क्रान्तिको कार्यदिशालाई दह्रोसँग पक्रिदै उहाँ नेकपा (पुष्पलाल समूह) मा क्रियाशील रहनु भयो । वि.सं. २०३५ पछि पुष्पलालसँगको मतभेदपछि उहाँ तत्कालिन कोअर्डिनेशन केन्द्र(को.के.झापाली समूह)मा काम गर्दै २०४६ सालको जनआन्दोलन पश्चात बनेको पूर्व माले र पूर्वमाक्र्सवादीको एकतापछि निर्मित नेकपा (एमाले) मा आवद्ध हुनुभयो । एमालेमा वैचारिक विचलन आएपछि उहाँको विचारधारात्मक मतैक्यता रहन सकेन र २०५२ सालदेखि महान् जनयुद्धको अग्रमोर्चामा समाहित हुँदै तत्कालिन ने.क.पा. (माओवादी) मा आवद्ध हुनुभयो ।

जनयुद्ध र महान् क्रान्तिकारी अभियानमा सामेल हुनु उहाँको जीवनभरीको सपना थियो र उहाँले बारम्बार भन्दै आएको माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराका वैज्ञानिक सिद्धान्तका आधारमा नयाँ जनवादी क्रान्तिको झण्डा बोक्ने अभियानको नेतृत्व गर्न आइपुग्नु भयो । वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्व, सशस्त्र संघर्ष, नयाँ जनवादी क्रान्ति उहाँले सदैव लिइरहने नामहरू हुन् । क्रान्ति र परिवर्तनको सपना देख्नु बाहेक उहाँको अर्को कुनै उद्देश्य थिएन । हरेक समाजको वर्गसंघर्षको आफ्नै नियम र चरित्र हुन्छ । नेपालको परिस्थिति र यहाँको वर्गसंघर्षको स्वरूपका बारेमा गौतम सर धेरै नै जानकार हुनुहुन्थ्यो र उहाँ उन्नत चेतनास्तरको अध्ययनशील क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । नेकपा (माओवादी) पार्टीले सुरु गरेको जनयुद्धकालभरी उहाँ ‘सुर्खेत पोष्ट’ साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक र पछि सल्लाहकारको रूपमा जनयुद्धमा सूचना, समाचार र विचारहरूलाई जनताका धरदैलोमा पु¥याउने काममा लाग्दालाग्दै प्रहरीको निशानामा पर्नु भयो । त्यसैक्रममा सुर्खेत पोष्टका प्रधान सम्पादक विष्णु खनाल र उहाँ पक्राउ पर्नु भयो, कैयौँको भागाभाग भयो । पत्रिकाको कार्यालयमा छापा मार्ने काम भयो । उहाँहरू दुवै जना लामो समय हिरासत र जेलको यातना भोग्नु भयो । ती दिनहरूको कष्टकर यात्रामा पनि अविचलित भइ क्रान्तिको पथमा लागिरहनु भयो भन्ने कुरा सुर्खेती जनतामा जगजाहेर नै छ ।

माओवादी जनयुद्धका पक्षमा वैचारिक प्रचार सामग्री बोकेर घरघरमा पुग्नु कुनै मामुली काम थिएन । त्यतिबेला सुर्खेत पोष्टले मध्यपश्चिमभरी नै लेनिनको बोल्सेभिक क्रान्तिको मुखपत्र ‘प्राभ्दा’ र ‘इस्क्रा’ पत्रिकाले जुन भूमिका खेलेको थियो त्यहीँ र त्यस्तै वा फरक परिस्थिति र परिवेशमा आफ्नो भूमिका खेलिरहेको थियो । सुर्खेत पोष्ट ५० र ६० को दशकभरी यस भेगको क्रान्तिकारी मिसायल बनेको थियो र त्यसको केन्द्रविन्दुमा लीलाधर सर हुनुहुन्थ्यो । क्रान्तिको पक्षमा जनतालाई वास्तविकताको अवगत गराउनु मात्रै नभएर राज्य आतंकको भण्डाफोर गर्नु पनि यस पत्रिकाको अहम् दायित्व बनेको थियो । देशमा संकटकाल लागेको थियो, प्रहरी, सेनाको दमन तीव्ररूपमा बढिरहेको प्रतिकूल परिस्थितिमा पनि उहाँले जुन योगदान पु¥याउनु भयो, सुर्खेती क्रान्तिकारी पत्रकारिताको इतिहासमा त्यसको उच्च महत्व रहेको छ ।

यसरी अहोरात्र क्रान्ति र आमूल परिवर्तनको पक्षमा दह्रो वकालत गर्ने गौतम सर समाज रूपान्तरण अभियानको महŒवपूर्ण कलमी मुक्तिसेना जोनरिडजस्तै निडर र साहसी पत्रकार हो भन्ने कुरामा दुईमत छैन ।

गौतम सर नेकपा (माओवादी) को विभाजनबाट पनि विचलित हुनु भएन र नेकपा (वैद्य समूह) मा समाहित हुनु भयो । यो दशकभरी माओवादी आन्दोलनमा धेरै टुटुफुट र विघठन देखाप¥यो । उहाँ यहीँ आन्दोलनभित्र विभिन्न भंगालाहरूमा कुनै न कुनै रूपमा सक्रिय भइनै रहनुभयो । उहाँको राजनीतिक यात्राको सुरुवात क. पुष्पलालले नेतृत्व गरेको नेकपाबाट भयो र गलत धार र प्रवृत्तिसँग लड्दै नेकपा (एकीकृत माओवादी) हुँदै जीवनको उत्तरार्ध अथवा मृत्युपर्यन्तसम्म नेपाल कम्युनिष्ट पार्टी (बहुमत), जसको नेतृत्व क. कञ्चन (धर्मेन्द बास्तोला) ले गर्नु भएको छ, त्यसको केन्द्रीय सल्लाहकारको रूपमा रहनु भयो । उहाँको विचार, सिद्धान्त र नीति जहिलेसुकै सर्वहारा वर्गीय क्रान्तिकारी एवम् नयाँजनवादी क्रान्तिको पक्षधरतामा आधारित रह्यो । यो उहाँको राजनीतिक चिन्तनको सबैभन्दा महत्वपूर्ण पूँजी हो । जसलाई अबका नयाँ पुस्ताले उहाँले सुम्पेको दायित्वका रूपमा ग्रहण गर्दै अगाडि बढ्न सक्यौँ भने मात्रै उहाँप्रति सच्चा सम्मान र न्याय गरेको हुनेछ ।

स्मरणीय रहोस् कि २०४६ सालको परिवर्तनपश्चात् सरकारले उहाँलाई राजनैतिकरूपमा लामो योगदान गरेवापत क्षतिपूर्ति दिने र सम्मानको लाभ लिन धेरैपटक अनुरोध गरेको थियो तथापि उहाँले यसलाई ठाडै अस्वीकार गरिरहनु भयो र क्षतिपूर्ति शीर्षकको कवितामार्फत ‘क्षतिपूर्ति हुनैपर्छ शहीदका परिवारको, क्षतिपूर्ति हुनैपर्छ टुटेका तरवारको, क्षतिपूर्ति हुनैपर्छ भत्केका पहरा पाखा, बिग्रेका घरवारको !’ भनेर कडा जवाफ फर्काउँदै त्यागी नेताका रूपमा प्रसिद्धिको शिखर चुम्नु भयो । उहाँमा त्यागको भावना यति बढी थियो कि कहिल्यै कुनै पुरस्कार थाप्न तयार हुनु भएन, सम्मानको भोको हुनु भएन, अवसरको अगाडि गिडगिडाउँदै विचार परिवर्तन गर्नु भएन । यसकारण गौतम सरबाट त्यागको पाठ सिक्नुपर्ने पनि धेरै जरुरी छ । उहाँ यस मध्यपश्चिमाञ्चल एवम् राष्ट्रियस्तरकै क्रान्तिकारी कवि पनि हुनुहुन्थ्यो । पुस्तकाकार कृतिका रूपमा यदि प्रकाशन गर्ने हो भने उहाँका दर्जनौँ कविता कृतिहरू प्रकाशन गर्न सकिन्छ । त्यसका लागि उहाँका परिवारका सदस्यको सहयोगमा प्रकाशनको दाँचोपाजो मिलाउनुपर्ने हुन्छ । जीवनमा हामीले उहाँलाई कृति प्रकाशनका लागि अनुरोध, अनुनय, विनय गरिरह्यौँ तापनि उहाँ यस पक्षमा कहिल्यै सहमत हुनु भएन । यदि उहाँको सहमति भएको भए अहिले उहाँका दशौँ कृतिहरू प्रकाशन भइसक्थे तर त्यो काम उहाँको जीवनकालभरि उहाँकै विरोधका कारण सम्भव भएन । प्रचारमुखी बन्न हुँदैन भन्ने यो धारणा उहाँको कमजोरीको रूप हो भन्ने मलाई लागेको छ ।

गौतम सर बहुमुखी प्रतिभा सम्पन्न साहित्यकार हुनुहुन्थ्यो । उहाँ कवि, निबन्धकार तथा राजनैतिक विचारक हुनुहुन्थ्यो । प्रगतिशील लेखक संघमा लामो समय उहाँले नेतृत्व प्रदान गर्नु भयो । हामी त्यहीँ नर्सरीमा हुर्किने, फुल्ने र फल्ने अवसर पायौँ । यसकार्यमा उहाँ हामी सबैको साहित्यिक फूलबारीका माली हुनुहुन्थ्यो र हामी त्यसका नर्सरी थियौँ । अब ती दिन गए, उहाँको स्मृति सदैव रहिरहोस्, उहाँको कामको अनुशरण होस्, उहाँप्रति यहीँ नै सच्चा न्याय हुनेछ, सच्चा श्रद्धाञ्जली हुनेछ ।

अन्तमा हाम्रो युगको क्रान्तिकारी नेता, असल शिक्षक, माक्र्सवादी चिन्तक एवम् श्रद्वेय गुरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

२०८३ वैशाख ६ गते, सुर्खेत ।

प्रकाशित मितिः   १२ बैशाख २०८३, शनिबार ०५:०४