पहुँचयोग्य संरचना

अहिले पनि निजी हुन् वा सार्वजनिक संरचनाहरू अपाङ्गतामैत्री छैनन् । जसले गर्दा अपाङ्गता भएका नागरिकहरूलाई असहज हुने गरेको छ । त्यसो त सबै सार्वजनिक संरचनाहरू अपांगतामैत्री बनाउनुपर्ने कानुनी व्यवस्था पनि गरिएको छ । तथापी त्यसको पूर्ण कार्यान्वयन भएको छैन । त्यसमाथि विपद्को समयमा अपाङ्गता भएकाहरूको लागि थप जटिलता हुने गरेको छ । जस्तो कि २०८० कार्तिक १७ गते गएको भूकम्पले जाजरकोट र रुकुम–पश्चिममा धनजनको ठूलो क्षति गर्‍यो । भूकम्पमा परी एक सय ५४ जनाले ज्यान गुमाए । तीन सय ७२ जना घाइते भए । विद्यालय, स्वास्थ्य चौकीसहित सयौं निजी घर भत्केका छन् । मसिनोसँग केलाउँदा उक्त विपद्मा ज्यान गुमाउनेहरूमा अपाङ्गता भएका महिला र बालकालिकाको संख्या धेरै रहेको पाइएको छ ।

यो त भयो विपद्को एउटा उदाहरण । यस्ता साना तथा ठूला विपद्का घटनाहरूमा समेत महिला तथा बालबालिका, त्यसमा पनि अपाङ्गता भएका व्यक्तिहरू धेरै प्रभावित हुने गरेका छन् । भनिन्छ, विपद् बाजा बजाएर आउँदैन । अर्थात्, यो जुनसुकै दिन अनि जुनसुकै समयमा पनि निम्तिन सक्छ । कर्णाली प्रदेश विपद्को जोखिमयुक्त प्रदेशमध्यको एक भनेर विज्ञले औंल्याइरहेका छन् । प्राकृतिक र भौगोलिक हिसाबले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरू स्वतः जोखिममा पर्ने नै भए । त्यसमा पनि अपाङ्गता भएकाहरू सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन् । किन कि अपाङ्गता नभएका मान्छे दौडिएर सुरक्षित स्थानमा पुगिसक्दा अपाङ्गता भएका व्यक्ति भने जहीँको त्यही हुने गर्छन् । यहाँ मानव निर्मित संरचना अपाङ्गतामैत्री छैनन् । अपाङ्गता भएकाहरू बढी जोखिममा पर्नुमा निर्मित संरचना दोषी रहेको सरोकारवालाहरूले बताएका छन् । वीरेन्द्रनगरमा भएको विपद् न्यूनिकरण गर्न सरोकारवालाहरूको भूमिका विषयेक कार्यक्रमका सहभागीहरूले पनि यही कुरामा जोड दिएका थिए ।

कार्यक्रममा सहभागी अपाङ्गता भएका प्रतिनिधिहरूले उठाएका विषय निकै गम्भिर थिए । छलफलमा बोल्दै शारीरिक अपाङ्गता भएकी बिमला बुढाले भनेकी थिइन्, ‘यहाँका सरकारी कार्यालयमा पुग्दा वा होटलमा बैठक बसेको बेलामा भूकम्प गयो भने हामी कसरी बाँच्ने ?’ उनी त्यतिमा रोकिनन् र अगाडि भनिन्, ‘तपाईंहरू त दौडेर सुरक्षित स्थानमा पुग्नु होला, तर म कसरी निस्किन्छु ?’ उनले विपद्का बेला बाहिर निस्किने आकस्मिक ढोकासमेत सरकारी कार्यालय वा होटल, अस्पतालमा नभएको भन्दै गुनासो गरिन् । बिमलाले भनेजस्तै सार्वजनिक र निजी घर तथा अन्य भौतिक संरचनाहरू अपाङ्गतामैत्री नहुनुले उनीहरूको जीवनयापन थप जटिल बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ । घरमा होस् वा अन्य सार्वजनिक क्षेत्रमा अपाङ्गता भएका नागरिकका लागि उत्तिकै सहज र पहुँचयोग्य हुनु अपरिहार्य छ ।

प्रकाशित मितिः   ९ बैशाख २०८३, बुधबार ०५:०३