जोखिममा सुत्केरीको ज्यान

कर्णालीका कैयन् सुत्केरी महिलाहरूको अस्पतालमै ज्यान जाने गरेको छ । हरेक वर्ष कर्णालीमा सुत्केरी महिलाहरूको मृत्यु भएको घटना सञ्चार माध्यममा समाचार बनिरहन्छन् । कतिपय स्वास्थ्य संस्थामा पुगिसकेपछि ज्यान गुमाउँछन् भने कतिपयले स्वास्थ्य संस्था पुग्न नपाएर मृत्युवरण गरिरहेका छन् । यो श्रृंखला बर्सेनि दोहोरिरहन्छ । आमाहरूको मात्रै होइन, शिशुको मृत्यु पनि उस्तै भयावह छ । कर्णालीमा मातृ–शिशु मृत्युदर डरलाग्दो छ । प्रदेशमा बर्सेनि विभिन्न कारणले सुत्केरी आमा र नवजात शिशुको ज्यान जाने गरेको छ । अत्यधिक रक्तश्राव, इम्बोलिजम्, पाठेघर फुट्ने समस्या, गर्भवती अवस्थामा हुने कम्पन (मुर्छा पर्ने समस्या) लगायतका कारण सुत्केरीहरूले ज्यान गुमाउने गरेका छन् । ज्यान गुमाउनेहरूको संख्या घट्नुको साटो बढ्दै गएको छ ।

केही उदाहरणको रूपमा हेर्दा कालीकोटको नरहरिनाथ गाउँपालिका–८ की २७ वर्षीया भावना विष्टको उपचारका क्रममा मृत्यु भयो । प्रदेश अस्पताल सुर्खेतमा चैत ३० गते शल्यक्रिया (सिजेरियन) मार्फत सुत्केरी भएकी उनको पहिलो अप्रेशन सफल भएपनि वैशाख २ गते रगत जमेको भन्दै गरिएको दोस्रो शल्यक्रियापछि अवस्था अटिल बन्यो । अवस्था बिग्रँदै गएपछि आफन्तले करिब आठ लाख ६० हजार रूपैयाँ खर्च गरेर हवाई एम्बुलेन्समार्फत काठमाडौं लगेका थिए । परिवारले वैशाख ४ गते चिकित्सकसहितको हेलिकोप्टर चार्टर गरी उनलाई काठमाडौं लगेका थिए । काठमाडौंस्थित मेडिसिटी अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरे । यस्तै, २०८० भदौ ३१ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–२ की जानकी रेग्मीको पनि अस्पतालमै मृत्यु भयो । उनलाई सुत्केरी व्यथाले च्यापेपछि प्रदेश अस्पतालको प्रसूति वार्डमा भर्ना गरिएको थियो । अन्य समस्या नदेखिए पनि सुत्केरी भएको दुई दिनपछि उनको मृत्यु भएको अस्पतालले घोषणा ग¥यो । यी दुवै घटना एउटै प्रकृतिका हुन्, जसले कर्णालीका सुत्केरी महिलाहरूको जोखिमलाई देखाउँछन् ।

राष्ट्रिय जनगणना–२०७८ को तथ्यांकका अनुसार कर्णाली नेपालमा सबैभन्दा धेरै मातृ मृत्युदर भएको प्रदेश हो । कर्णालीमा अझै पनि राष्ट्रिय र अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर एक सय ७२ (प्रति एक लाखमा) रहेको जनगणनाको तथ्यांकले देखाएको छ । दीगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्ममा कर्णालीको मातृ मृत्युदर ७० प्रतिशतमा झार्ने गरी सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरूले काम गरिरहेको दाबी गरिरहेका छन् । तर, प्रदेशमा भौगोलिक रूपले मात्रै होइन, सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति उपलब्ध भएको भनिएको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमै सुत्केरी हुन पुग्ने ठूलो संख्यामा महिलाले ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ ।

प्रकाशित मितिः   ८ बैशाख २०८३, मंगलवार ०५:०३