बुलबुले क्षेत्र व्यवस्थापन

वीरेन्द्रनगर उपत्यकाभित्रको पानी व्यवस्थापनको उचित प्रबन्ध छैन । ढल तथा नदी नियन्त्रणका लागि पर्याप्त योजना र कार्यक्रम पनि छैनन् । यद्यपि, पछिल्लो समय यसका लागि केही प्रयास भने हुन थालेका छन् । प्रदेश राजधानी संरक्षण योजनाअन्तर्गत नदी नियन्त्रणको काम अघि बढाइएको छ । यो योजनाअन्तर्गत अहिले बुलुबले क्षेत्रको पानी व्यवथापन गर्न लागिएको छ । ठेक्का सम्झौता गरेर निर्माणको काम सुरु गरिएको छ । २०८२ चैत महिनादेखि सम्झौता गरेर नदी नियन्त्रणको काम सुरु गरिएको हो । १७ करोड १५ लाख ६७ हजारमा ठेक्का सम्झौता भएको छ ।

यो योजनाअनुसार बुलबुले तालदेखि काँक्रेविहार जंगलसम्म करिब एक किलोमिटरमा नदी नियन्त्रणको काम गरिनेछ । बुलबुले तालबाट आएको पानीलाई बुलबुले तालको किनारबाटै काँक्रेविहार जंगलको किनारसम्म पु¥याउने गरी निर्माणको काम अघि बढाइएको आयोजनाले जनाएको छ । सम्झौता भइ काम सुरु गरेको दश दिन मात्र भएको छ । जथाभावी रूपमा बगिरहेको पानीलाई व्यवस्थापन गर्नका लागि योजना कार्यान्वयन गरिएको प्रदेश सरकारले जनाएको छ । पानी नियन्त्रण नहुँदा किसानले उत्पादन गर्ने खेतबारीमा समेत असर पर्नुका साथै बुलबुले आसपासका क्षेत्रका स्थानीयलाई समेत बस्तीमा पानी पस्दा समस्या हुने गरेको थियो । कर्णाली प्रदेश सरकारले विशेष गुरुयोजना निर्माण गरेर प्रदेश राजधानी संरक्षण योजना कार्यान्वयन गरेको हो । उक्त योजनाअन्तर्गत यो वर्ष एक किलोमिटर बुलबुले क्षेत्रको पानीमा पलम वाल निर्माणको काम गर्न लागिएको हो । बुलबुलेलाई थप सुन्दर बनाइ पर्यटन प्रवद्र्धन गर्ने योजनाअन्तर्गत ताल निर्माणको काम सुरु गरिएको छ ।

मानिसहरूलाई बुलबुलेदेखि काँक्रेविहारसम्म सहज रूपमा पुग्नका लागि समेत यस योजनाले सहयोग पु¥याउनेछ । पैदल यात्रीले बुलबुलेदेखि काँक्रेविहारसम्म छिट्टै पुग्नेछन् । मानिसहरूको सहज आवातजावतका लागि उक्त क्षेत्रमा दुईवटा साना पुल निर्माण गरिने छ । यस्तै, नयाँ ताल निर्माणको काम धमाधम रूपमा भइरहेको छ । चरा र पानी संरक्षणको लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयनअन्तर्गत ताल निर्माण गर्न लागिएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एक करोड १२ लाख ३६ हजारमा ताल निर्माण गर्न लागिएको हो । कम्पनीले कम्पाउण्ड वाल, नालालाई व्यवस्थित बनाउनुका साथै ताल वरिपरि मान्छे हिँड्ने फुटपात बनाइने लगायतका काम गर्नेछ । भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेखर चपाईका अनुसार अहिले पानीको स्रोत भएपनि लिकेज भइरहेको छ । त्यसलाई संरक्षण गर्नु पनि उद्देश्य रहेको छ । यसले बुलबुले क्षेत्र व्यवस्थापनमा सघाउ पुग्नेछ ।

प्रकाशित मितिः   १ बैशाख २०८३, मंगलवार १७:३०