उद्योग स्थापनामा अलमल

पश्चिम सुर्खेतको चौकुनेमा चार दशकअघि नै चुनढुंगा खानी पत्ता लागेको थियो । जुन चुनढुँगाबाट सिमेन्ट उत्पादन गर्न सकिन्छ । तर अहिलेसम्म पनि प्रयोगमा आउन सकेको छैन । वि.सं. २०३९ सालमा नै चौकुनेमा फेला परेको चुनढुंगा खानीबाट सिमेन्ट उत्पादन गर्न सकिने पुष्टि भएको थियो । तर सिमेन्ट उद्योग स्थापनाको योजना भने आजसम्म पनि अलपत्र परेको छ । पत्ता लागेको २७ वर्षपछि सिमेन्ट उद्योग स्थापनकाका लागि सरकारले अनुमतिसमेत दिएको थियो । यद्यपि, अनुमति पाएको समेत १६ वर्ष बितिसक्दासम्म आयोजना अघि बढ्न सकेको छैन । चौकुने चुनढुंगा खानीबाट सिमेन्ट उत्पादन योजना जग्गा विवादमै अल्झिएको छ ।

खानी विभागले २०३९ सालमा चौकुनेमा खानी भएको पत्ता लगाएको थियो । चौकुने डाँडाको करिब ११ हजार रोपनी क्षेत्रफलमा चुनढुंगा भएको दाबी गरिएको छ । विभागले २०३५ देखि २०३९ सम्म अध्ययन ग¥यो । गरिएको अध्ययनले चौकुनेको चुनढुंगा परीक्षण गरी सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो । त्यसपछि मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिले उद्योग खोल्न प्रक्रिया थाल्यो । ईजाजत लिएको लामो समयसम्म पनि आयोजनाले कुनै प्रतिफल योग्य काम गर्न सकेको छैन । सरकारकै असयोगका कारण काममा बाँधा पुगेको आयोजनाले जनाएको छ । मुक्तिश्री व्यवसायी अजय सुमार्गीको कम्पनी हो । उद्योग सञ्चालनको काम कम्पनी नवीकरणको काम भने भइरहेकै छ । लाइसेन्स लिएर काम सुरु नगरेपछि विभागले २०७४ मा रद्द गरेको थियो । लाइसेन्स रद्द भएपछि सुमार्गी अदालत गए । उच्च अदालत पाटनको आदेशपछि विभागले पुनः नवीकरण गरेको थियो । २०६६ सालमा मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिजले चौकुनेमा खानी उत्खनन् गरेर सिमेन्ट उद्योग सञ्चालन गर्न ईजाजत लिएको थियो । आयोजना जग्गा विवादमै रुमलिएको छ ।

आयोजनाले करिब चार करोड लगानीमा पहुँच माग निर्माण गरेको छ भने केही रोपनी जग्गा पनि खरिद गरिसकेको छ । तर अन्य काम अघि बढेको छैन । जसले गर्दा आयोजना होल्ड मात्रै भएको छ । अनुमति पाएर पनि लामो समयसम्म निर्माण नगरेपछि सम्झौता रद्द गर्नुपर्ने आवाज पनि उठिरहेको छ । स्थानीय नागरिक आक्रोशित बनेका छन् । लाइसेन्स लिएर लामो समय होल्ड गर्ने तर उद्योग सञ्चालन नगर्ने नियत देखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । कम्पनीले अहिलेसम्म खानी क्षेत्रमा ९५ रोपनीमात्रै जग्गा खरिद गरेको छ । खानी सञ्चालनका लागि थप साढे तीन सय रोपनी क्षेत्रफल जग्गा र सिमेन्ट कारखाना स्थापना तथा सञ्चालनका करिब ६ सय रोपनी जग्गा आवश्यक रहेको बताइएको छ ।

प्रकाशित मितिः   २५ चैत्र २०८२, बुधबार ०५:०३