भेरी–बबई निर्माणमा विलम्ब
सुर्खेत: भेरी–बबई आयोजना निर्माणमा विलम्ब भएको छ । पटक–पटक म्याद थप गर्दा पनि आयोजनाको काम अधुरै छ । राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न भइसक्नुपर्ने हो । तर पूर्वनिर्धारित लक्ष्यअनुसार निर्माण सम्पन्न हुन नसकेपछि काम अधुरै बनेको हो । आयोजनाको सिभिल वर्कतर्फको काम गर्न निर्माण कम्पनीलाई २० चैत २०८२ सम्मको समय दिइएको थियो । म्याद सकिँदासम्म ५७ प्रतिशतमात्र काम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७१/०७२ बाट आयोजनाको निर्माण कार्य थालिएको थियो । सम्झौताअनुसार आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तोकिएको समयमा काम हुन सकेन । पुनः म्याद थप भयो । म्याद थप भएसँगै आर्थिक वर्ष २०७९/०८० मा हुनुपर्ने कार्यहरूको दायित्व आर्थिक वर्ष २०८२/०८३ सारियो । तर पनि निर्माणको काम सम्पन्न हुनसकेको छैन । आयोजनाले कोरोना महामारीको असर, प्रक्रियागत जटिलता, प्रतिकूल मौसम, सामान ढुवानीमा ढिलाइलगायतका कारण देखाउँदै आउने गरेको छ । आर्थिक वर्ष २०८२/०८३ सम्म भेरी नदीबाट ४० घनमिटर प्रति सेकेन्ड पानी बबई नदीमा स्थानान्तरण गर्ने लक्ष्य थियो । आयोजनाको पहिलो चरणअन्तर्गत टनेल निर्माण कार्य २०७५ मा सम्पन्न भइसकेको छ । पहिलो चरणको काम निर्धारित म्यादअगावै सकिएको थियो । अहिले दोस्रो चरण अन्तर्गतको सिभिल संरचनाहरूको निर्माण कार्य भइरहेको छ । २०७६ मंसिरदेखि दोस्रो चरणका कार्य थालिएको थियो । आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको छ । अहिलेसम्म ५७ प्रतिशत मात्र काम सकिएको छ ।
हालसम्म आयोजनाको ५७ प्रतिशत काम सकिएको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक हरिदत्त पौडेलले बताए । अहिले म्याद थपका लागि प्रक्रिया अघि बढाइएको पौडेलको भनाइ छ । आयोजना निर्माण गर्नका लागि तेस्रो पटक दिएको समय सकिए पनि निर्माण कम्पनीले अझै साढे तीन वर्ष अर्थात् ४० महिनाको समय माग गरेको उनले जानकारी दिए । पौडेलले भने, ‘अझै पर्याप्त समय लाग्नेछ, ठेक्का तोडेर नयाँ प्रक्रिया गर्दा पनि थप समय लाग्ने भएकाले म्याद थपका लागि फाइल तयार गर्ने काम भइरहेको छ, म्याद थपको फाइल केही दिनमा विभागमा पेस गर्छौं ।’ पछिल्लो समय थप गरेको समयमा सन्तोषजनक काम देखिएकाले म्याद थप गर्न आवश्यक देखिएको उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय टेण्डर भएकाले ठेक्का लगाउन चार देखि ६ महिना लाग्छ, मुद्दा मामिलामा गयो भने अझै समस्या हुन्छ, त्यसैले म्याद थपका लागि प्रक्रिया थालेका हाैँ,’ उनले भने ।
यस्तै, जेभीमा ठेक्का लिएको चाइनिज कम्पनी ग्वाङ्डोन–युनाटियन कम्पनी काममा नआएको देखिएको र त्यसले गर्दा रमण कन्स्ट्रक्सन एक्लैको सामथ्र्यले गति लिन नसकेको निर्देशक पौडेलले बताए । अहिले कामको गति तीव्र हुन सकिरहेको छैन ।
भेरी नदीमा एक सय १४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध र हात्तीखालमा विद्युत पावरहाउसको निर्माण गर्नुपर्ने सम्झौतामा छ । त्यसका लागि आयोजनाले आठ अर्ब लागत अनुमानमा ठेक्का आह्वान गरेकोमा रमण कन्स्ट्रक्सन जेभीले झण्डै एक अर्ब ८४ करोड (भ्याटसहित) रकम घटेर ६ अर्ब १६ करोड ५२ लाख रूपैयाँमा टेन्डर पाएको थियो । अहिले आयोजनामा सिभिल, इलेक्ट्रिकल र हाइड्रो इलेक्ट्रिकल गरेर तीन छुट्टाछुट्टै सम्झौताअनुसार काम भइरहेको छ । सिभिल वर्कको काम अरु दुईसँग पनि सम्बन्धित हुन्छ । यसले गर्दा सिभिल वक्र्सको काम रोकिएमा इलेक्ट्रिकल र हाइड्रो इलेक्ट्रिकलको काम पनि रोकिने अवस्था रहेको आयोजना निर्देशक पौडेलको भनाइ छ ।
नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिको प्रयोग गरिएको आयोजनामा सुरुङमार्गको ब्रेक–थ्रु निर्धारित समय अगावै सकिएको थियो । यो आयोजना नेपालका ठूला सिँचाइ परियोजनामध्ये एक हो, जसले भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाको झण्डै ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइसँगै ४६ मेगावाट बिजुली निकाल्ने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०८७८८ सम्ममा आयोजनाको निर्माण सक्ने योजना छ । काममा भने ढिलाई हुँदा अन्योलता थपिएको हो ।
प्रकाशित मितिः २० चैत्र २०८२, शुक्रबार ०५:०५

रजनी याेगी ।