विद्युत उत्पादनको अपेक्षा
कर्णाली प्रदेशमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना छ । तर अहिलेसम्म उत्पादन निकै न्यून छ । नगन्य छ भन्दा हुन्छ । विद्युत उत्पादनका लागि अध्ययन पनि भएका छन् । कतिपय आयोजना निर्माणको प्रक्रियामा पनि पुगेर अल्झिएका छन् । यसबीच पनि केही थोरै आयोजना निर्माणको चरणमा अघि बढेका छन्, तिनैमध्ये एक हो, बेतन कर्णाली जलविद्युत आयोजना । यो आयोजना निर्माणको चरणमा अघि बढेको छ । आयोजना निर्माणको अध्ययनको काम सकिएको छ । सुर्खेत र अछाम जिल्लाको सिमानामा निर्माण हुने जलविद्युत आयोजनाको निर्माणपूर्वका सम्पूर्ण काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
विद्युत खरिद सम्झौता (पीपीए) को काम पनि अन्तिम चरणमा पुगेको छ । २०८२ असारमा आयोजना निर्माणका लागि उत्पादन अनुमति पत्र समेत पाइसकेको छ । मुआब्जा वितरणका लागि ऊर्जा मन्त्रालयमा फाइल पेस गरिएको छ । मन्त्रालयबाट स्वीकृति आए मुआब्जा वितरण गरिने छ । यो आयोजना निर्माण गर्दा सुर्खेत र अछाम जिल्लाको गरी करिब १८ रोपनी जग्गा आयोजनाबाट प्रभावित हुनेछ । अहिले आयोजनाबाट प्रभावित हुने क्षेत्रमा रुख कटानको लागि प्रक्रिया पनि अघि बढाइएको छ । रुख कटानको अनुमतिका लागि मन्त्रालयमा प्रस्ताव गरिएको छ । आयोजना स्थलसम्म पुग्नका लागि पहुँचमाग निर्माणका कामका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ । कर्णाली पुलमा पक्की पुल निर्माण गरिनेछ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । चार सय ३९ मेगावाट क्षमताको यो आयोजना निर्माण गर्न ८८ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ तर हालसम्म लगानीको स्रोत सुनिश्चित भइसकेको छैन । कर्मचारी सञ्चय कोषले लगानी गर्ने सात अर्ब बजेट मात्रै सुनिश्चित भएको छ । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताको अवकाशपछिको जीवनलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चयकर्ता हाइड्रोको अवधारणा अनुरूप कर्मचारी सञ्चय कोष, नेपाल विद्युत उत्पादन कम्पनी लिमिटेड तथा कोषका करिब ६ लाख सञ्चयकर्ता संस्थापक रहने गरी पब्लिक कम्पनीका रूपमा स्थापित रहेको छ ।
कर्णालीसँग जोडिएको अर्को ठूलो जलविद्युत आयोजना हो, यो । निर्माणपूर्वको तयारी भने करिब अन्तिम चरणमा छ । आयोजनाको मुख्य काम गर्नुअघि गर्नुपर्ने तयारी र पूर्वाधार विकासका काम सञ्चालन भइरहेका छन् । यसले आयोजना निर्माणतर्फ जाने अपेक्षा गर्न सकिन्छ । अहिलेसम्मको प्रगति हेर्दा थप कुनै उल्झन नपरेमा आयोजना निर्माणका लागि काम अघि बढ्ने छ । जलविद्युत उत्पादनको पर्याप्त सम्भावना हुँदाहुँदै पनि लगानी अभावले थुप्रै आयोजना अलपत्र परेका छन् । यो अवस्थाको अन्त्य गरेर जलविद्युत उत्पादनमा सरकारले पनि विशेष चासो दिनुपर्ने देखिन्छ ।
प्रकाशित मितिः २० चैत्र २०८२, शुक्रबार ०५:०३
सम्पादकीय ।