यातायात र मालपोतबाट १६ जना पक्राउ
सुर्खेत: बिचौलियाको काम गरेको आरोपमा सुर्खेत प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुवै कार्यालयबाट १० जना महिला र ६ पुरुष गरी १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । सेवाग्राहीको सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण गरिदिन्छु, जग्गा नामसारी तथा भू–सेवासम्बन्धी काम गरिदिन्छु भन्दै रकम लिइ बिचौलियाका रूपमा कार्य गर्दै आएका उनीहरूलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
उनीहरूले बिचौलियाको काम गर्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको आरोप छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट बिलबुकलगायतका कागजात पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २० चैत्र २०८२, शुक्रबार ०५:०२
साझा बिसौनी ।