पालिकास्तरीय सिकाइ आदान–प्रदान

सुर्खेत: हेम्पेल फाउण्डेशनको आर्थिक सहयोग, स्ट्रिट चाइल्ड अफ नेपालको प्राविधिक सहयोगमा आसमान नेपालले सञ्चालन गरेको ‘बिल्ड द बेसिक’ परियोजनाअन्तरगत पालिकास्तरीय सिकाइ आदान–प्रदान बैठक सम्पन्न भएको छ । तेस्रो वर्ष अन्तरगत परियोजना लागु भएका जाजरकोटको भेरी नगरपालिका र सल्यानको कुमाँख गाउँपालिकामा परियोजनाको उपलब्धि र सिकाइ आदान–प्रदानसँगै परियोजना समापन बैठक गरिएको हो ।

भेरी नगरपालिकाको ५१ र कुमाखको ४७ वटा सामुदायिक विद्यालयमा परियोजनाअन्तरगत कक्षा ३ देखि ५ मा सिकाइस्तरमा आधारित शिक्षण विधिबाट कक्षा सञ्चालन गरिएको थियो । जसमा नेपाली र गणित शिक्षण गर्ने शिक्षकहरूलाई सिकाइस्तरमा आधारित शिक्षणसम्बन्धी आठ दिने तालिम प्रदान गरी विद्यालयहरुमा कक्षा सञ्चालन गरिएको हो ।

शिक्षकहरूले विद्यार्थीको सुरुवाती मुल्याकंन गरेर स्तर पहिचान गरी सिकाइ स्तर अनुसारको समूह विभाजन गरेर अध्यापन गरेका थिए । केही समय कक्षा सञ्चालन भएपछि भएको मध्यावधी मुल्याकंन र अन्तिम मुल्याकंन गरिएको थियो । बैठकमा तीनवटै मुल्याकंनको तुलनात्मक नतिजासँगै कक्षाको प्रभावकारिताका विषयमा छलफलसमेत भएको छ ।

सिकाइ आदान–प्रदान बैठकमा बोल्दै भेरी नगरपालिका जाजरकोटका प्रमुख चन्द्रप्रकाश घर्तिले छोटो अवधिको कार्यक्रम भएतापनि विद्यार्थीको सिकाइस्तर सुधारका लागि उल्लेखनीय योगदान गरेको बताए । विद्यार्थीको मापनको नतिजाले पनि सुधार देखिएको र शिक्षकहरूसँगको छलफलका क्रममा पनि प्रभावकारी रहेको पाइएको उल्लेख गरे । उनले नगरपालिकाले आगामी शैक्षिक सत्रमा पनि निरन्तरता गर्ने गरी कार्यक्रमहरू अगाडि बढाउने बताए । त्यसैगरी उपप्रमुख सीता जैसीले केही विद्यालयमा अनुगनमा जादा शिक्षकहरूले कार्यक्रम निकै प्रभावकारी रहेको प्रतिक्रिया दिएको बताइन । विशेषगरी आधारभूत तहमा रहेका कमजोर सिकाइस्तर भएका विद्यार्थीहरूमा कार्यक्रम प्रभावकारी रहेको उनको भनाइ थियो । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रमोद कुमार विष्टले यस परियोजनाले पालिकामा सिकाइ आपुरण तथा दु्रत सिकाइ योजना कार्यान्वयनका लागि पनि सहयोग पुगेको बताए ।

त्यसैगरी कुमाख गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रेमलाल केसीले आधारभूत तहमा अध्ययनरत बालबालिकाको भाषिक र गणितीय सीप सुधारका लागि सिकाइ स्तरमा आधारित शिक्षण प्रभावकारी रहेको बताए । उनले आगामी शैक्षिक सत्रमा पनि यस कार्यक्रमलाई निरन्तरता दिनका लागि पहल गर्ने बताए । दुवै स्थानीय तहमा आयोजित बैठकमा जनप्रतिनिधी र शिक्षासँग सम्बन्धित सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १३ चैत्र २०८२, शुक्रबार ०५:०२