खेलकुद परिषद्मा पदाधिकारी नियुक्त

सुर्खेत: कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले एक वर्षपछि पदाधिकारी पाएको छ । प्रदेश सरकारको मन्त्रिपषिद् बैठकले परिषद्को उपाध्यक्ष, सदस्य र सदस्य सचिव नियुक्त गरेको हो ।
उपाध्यक्षमा पुनः प्रमोद हमाल नियुक्त भएका छन् । उनी यसअघि पनि उपाध्यक्ष नै थिए । पहिलो कार्यकाल सकिएपछि उनले सदस्य सचिवका लागि आवेदन दिएका थिए । उक्त पदका लागि छनोट समितिले सिफारिस गरेको अन्तिम तीनजनामा समेत उनको नाम थियो । तर मन्त्रिपरिषद्को बैठकले उनलाई दोस्रो पटक पनि उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।
सदस्य सचिवमा भने रविन्द्र चन्द नियुक्त भएका छन् । छनोट समितिले उनलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले पनि उनलाई नै सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । पूर्व खेलाडी चन्द अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य पनि हुन् । लामो समयदेखि खेलकुदमा सक्रिय उनले अब कर्णाली प्रदेश खेलकुद विकासको जिम्मेवारी पाएका छन् ।
सदस्य सचिवका लागि दश जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट योग्यता हेरेर छनोट समितिले तीनजनाको नाम मन्त्रिपरिषद्मा पठाएको थियो । सोही सिफारिसमध्येबाट चन्द सदस्य सचिव बनेका हुन् ।
त्यसैगरी परिषद्को सदस्यहरूमा पंखबहादुर मल्ल, भीमकुमारी भुषाल, गोर्खबहादुर शाही, पवनकुमार थापा र किरणकिशोर सापकोटालाई मनोनयन गरिएको छ । उनीहरूलाई सरकारले नै मनोनयन गरेको हो । अघिल्लो कार्यकालका पदाधिकारीको पदावधि २०८१ पुस ६ मा सकिएको थियो । त्यसयता पटक–पटक नयाँ पदाधिकारी नियुक्तको प्रक्रिया अघि बढाए पनि ढिलाइ भएको थियो ।
प्रकाशित मितिः १३ चैत्र २०८२, शुक्रबार ०५:०१
साझा बिसौनी ।