प्रज्ञा प्रतिष्ठान विधेयक पारित
सुर्खेत: कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धी विधेयक पारित भएको छ । मंगलवार बसेको प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको आठौँ बैठकले विधेयक पारित गरेको होे ।
यो विधेयक कर्णाली प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि ऐनको रूपमा कार्यान्वयनमा जानेछ । कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न कानुन बनेको हो । उक्त विधेयकमा कर्णाली प्रदेशभित्रको भाषा, लिपि, कला, साहित्य, लोकसंस्कृति, लोकगाथा, लोकवार्ता र संगीतको अध्ययन, अनुसन्धान संरक्षण, प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले ल्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
२०७९ भदौ २२ गतेको मन्त्रीपरिषद्को बैठकबाट सैद्धान्तिक स्वीकृति दिइएको थियो । त्यतिबेला ऐन निर्माणको काम हुन सकेको थिएन । बेलाबेला भइरहने सरकार फेरबदलले गर्दा ऐन निर्माणको काम ओझेलमा परेको थियो । लामो समयदेखि रोकिएको कर्णालीको संस्कृतिसँग जोडिएको ऐन निर्माण भएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । उक्त विधेयकले कर्णाली प्रदेशभित्रको भाषा, लिपि, कला, साहित्य, लोकसंस्कृति, लोकगाथा, लोकवार्ता र संगीतको अध्ययन, अनुसन्धान संरक्षण, प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले ल्याएको मन्त्री भण्डारीको भनाइ छ ।
अब भने प्रदेश सरकारलाई प्रज्ञा प्रतिष्ठान गठनको बाटो खुलेको छ । खस भाषाको उद्गमस्थल कर्णाली प्रदेशको मौलिकता हराउँदै गएकोले पुरातात्विक महत्वका सम्पदा, कला, संस्कृति र जनजीवनलाई जीवन्त राख्न, खोज अनुसन्धान गर्न प्रतिष्ठान स्थापना हुनु अनिवार्य भएको सामाजिक विकासमन्त्री भण्डारीले बताए ।
प्रकाशित मितिः ११ चैत्र २०८२, बुधबार १४:४५

साझा बिसौनी ।