न्यायमा विलम्ब नगर

१६ वर्षीया इनिसा विकको हत्या प्रकरणको अनुसन्धान टुँग्याएर प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । अब यो विषयमा अदालतमा जानेछ । सरकारी वकिलको कार्यालयले प्रतिवेदनमाथि जाँचबुझ गरेपछि अभियोगपत्र तयार पारेर अदालत पेस गर्नेछ । अनुसन्धानमा नै लामो समय लाग्दा पीडित परिवार थप पीडामा छ । त्यसमाथि न्याय नपाइने डरले मृतक छोरीको शव बुझ्न समेत मानेको छैन । २० दिनदेखि इतिसाको शव कर्णाली प्रदेश अस्पतालमा अलपत्र परेको छ । यो घटनाले न्याय प्रक्रियाप्रतिको अविश्वासलाई समेत दर्शाएको छ ।

रहस्यमयी तरिकाले इनिसाको मृत्यु भएपछि त्यसले उनको परिवारलाई मात्रै नभएर आम मानिसहरूलाई मर्माहत बनाएको छ । त्यसैले पनि उनको न्यायका लागि सुर्खेतसहित देशभर नै दबाबमूलक गतविधि भइरहेका छन् । त्यसो त प्रहरीले घटना भएलगत्तैदेखि अनुसन्धान सुरु गरिसकेको थियो । तत्कालै चारजना युवकले पक्राउ गरेर अनुसन्धान थालेको थियो । सुर्खेत प्रहरीले सुरुवाती अनुसन्धान गरिरहँदा सामूहिक बलात्कारको आशंकामा विस्तृत अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) परिचालन गरिएको थियो । सिआईबीले आफ्नो प्राविधिक जाँच पूरा गरेको छ । दुई साता लगाएर गरिएको अध्ययन प्रतिवेदन जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई बुझाएपछि सुर्खेत प्रहरीले पनि प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको हो । प्रहरीले प्रतिवेदन बुझाइसकेपनि केही प्राविधिक जाँच भने सकिएको छैन । टक्सिकोलोजिकल र बायो–सेरोलोजिकल परीक्षणको रिपोर्ट आउन बाँकी छ । ‘टक्सिकोलोजिकल’ भन्नाले शरीरमा कुनै विषालु पदार्थ वा औषधिको उपस्थिति छ कि छैन भनेर जाँचिन्छ । भिसेरा परीक्षणबाट शरीरमा विषालु पदार्थ छ कि छैन भनेर यकिन हुन्छ । त्यस्तै, बायो–सेरोलोजिकल परीक्षक भनेको रगत, वीर्य र शरीरका अन्य तरल पदार्थको जाँच हो । यसबाट यौनजन्य हिंसाका घटनामा योनिस्राव वा पीडितको शरीरमा पाइएका अन्य व्यक्तिको जैविक नमूना पहिचान गरिन्छ ।

एकातिर प्रहरी अनुसन्धानमा हुने ढिलाई त छँदैछ, अर्कोतिर न्यायिक प्रक्रियामा पनि उस्तै विलम्ब हुने गरेको छ । मुद्दा प्रक्रिया अदालत पुगेर टुँगो लाग्न निकै समय लाग्छ । यसले पीडितहरूले लामो समय पीडा झेल्नुपर्ने अवस्था निर्माण हुन्छ । इनिसाको घटना अब न्यायिक प्रक्रियामा प्रवेश गर्दैछ । यसलाई जतिसक्दो छिटो टुँगोमा पु¥याउन सकेमा पीडित परिवारलाई केही राहत हुनेछ । किनभने न्याय नपाएसम्म उनीहरू इनिसाको शव बुझ्न समेत मानिरहेका छैनन् । अस्पतालका शवगृहमा छोरीको शव अलपत्र छोडेर न्याय माग्न विभिन्न ठाउँमा धाइरहनुपर्ने बाध्यात्मक अवस्था निकै दुखद् छ । पीडितहरूलाई समयमा न्यायको प्रत्याभूमि दिन यसका प्राविधिक प्रक्रियालाई पनि समयमै टुँग्याउनेतर्फ सम्बन्धित निकायहरूको ध्यान पुग्न जरुरी छ ।

प्रकाशित मितिः   १२ चैत्र २०८२, बिहीबार ०५:०३