इनिसा हत्या प्रकरणः अनुसन्धान अन्तिम चरणमा

सुर्खेत: १६ वर्षीया इनिसा विकको हत्या प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले आफ्नो प्राविधिक जाँच पूरा गरेको छ । दुई साता लगाएर गरिएको अध्ययन टुँगिने अवस्थामा पुगेको जनाइएको छ । अबको एक÷दुई दिनभित्रैमा सार्वजनिक हुनेछ ।
फागुन २३ गते इनिसाको मृत्यु भएको थियो । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी उनलाई अस्पताल पु¥याउँदा मृत्यु भइसकेको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जना युवकलाई नियन्त्रणमा लिएको छ । उनीहरूमाथि अनुसन्धान चलिरहेको छ । चारैजना १८ वर्षमूनिका छन् । उनीहरू इनिसासँगै एउटै विद्यालयमा पढ्ने सहपाठीहरू हुन् ।
उक्त घटनाबारे सुर्खेत प्रहरीले सुरुवातदेखि नै अनुसन्धान अघि बढाएको थियो । बलात्कारपछि हत्या गरिएको हुनसक्ने देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि खटाइएको हो । सिआईबीबाट इन्स्पेक्टर नेतृत्वको टोली अनुसन्धान गर्न फागुन २९ गते सुर्खेत पुगेको थियो ।
उक्त टोलीले घटनाबारे विस्तृत अध्ययन गरेर काठमाडौं फर्किसकेको छ । सिआईबीका वरिष्ठ उपरीक्षक शिवकुमारी श्रेष्ठले अनुसन्धान सकेर प्रतिवेदन सुर्खेत प्रहरीलाई पठाउने तयारी गरिएको जानकारी दिएका छन् । उनका अनुसार सकेसम्म बुधवारसम्ममा प्रतिवेदन सुर्खेत प्रहरीलाई दिने तयारी भइरहेको छ । सिआईबी टोलीले आफ्नो प्राविधिक जाँचका क्रममा मोबाइल डेटा, घटनाक्रमको समय अवधि र अन्य प्राविधिक पाटोमा सूक्ष्म अनुसन्धान गरेको छ ।
फरेन्सिक रिपोर्टले बलात्कारपछि उच्च रक्तश्रावका कारण इनिसाको मृत्यु भएको पुष्टि गरिसकेको छ । यसमा थप प्राविधिक जाँच गर्न सिआईबी टोली सुर्खेत आएको थियो । सुर्खेत प्रहरीका अनुसार सिआईबीको प्रतिवेदन र केन्द्रीय विधि विज्ञान प्रयोगशालाको रिपोर्ट आउनासाथ अनुसन्धान टुँगिन्छ । जसले घटनाको वास्तबिकता पत्ता लाग्नेछ ।
टक्सिकोलोजिकल र बायो–सेरोलोजिकल परीक्षणको रिपोर्ट आउन बाँकी छ । ‘टक्सिकोलोजिकल’ भन्नाले शरीरमा कुनै विषालु पदार्थ वा औषधिको उपस्थिति छ कि छैन भनेर जाँचिन्छ । भिसेरा परीक्षणबाट शरीरमा विषालु पदार्थ छ कि छैन भनेर यकिन हुन्छ ।
त्यस्तै, बायो–सेरोलोजिकल परीक्षक भनेको रगत, वीर्य र शरीरका अन्य तरल पदार्थको जाँच हो । यसबाट यौनजन्य हिंसाका घटनामा योनिश्राव वा पीडितको शरीरमा पाइएका अन्य व्यक्तिको जैविक नमूना पहिचान गरिन्छ । यी दुई रिपोर्ट र सिआईबी प्रतिवेदन आए यसै साता अनुसन्धानको फाइल सरकारी वकिल कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ । सबै प्राविधिक जाँचको रिपोर्ट आएपछि अझै प्रष्ट हुन्छ । प्रहरीका अनुसार बलात्कार क्रममा धेरै बल प्रयोग गर्दा योनिभित्र हाइमनदेखि पाठेघरसम्म चोट पुगेकाले अत्यधिक रक्तश्राव भएको देखिन्छ ।
यो घटनामा अहिलेसम्म चार जनालाई पक्राउ गरिएको छ । उनीहरू सबै १८ वर्षभन्दा मुनिका छन् । जसमध्ये एक जनालाई बलात्कार र कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको छ भने बाँकीलाई कर्तव्य ज्यान कसुरमा मात्र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना भएको दिन फागुन २३ गते बिहान उनी ट्युसन जाने भन्दै घरबाट निस्किएकी थिइन् । कक्षा ११ मा पढ्ने उनी आफूसँगै पढ्ने १६ वर्षीय किशोरसँग वीरेन्द्रनगर नगरपालिका–१ मा रहेको सामुदायिक वनको पार्कमा गएको प्रहरी अनुसन्धानमा खुलेको छ । इनिसा र ती किशोर सँगसँगै सामुदायिक वनतिर जाँदै गरेको दृश्य सिसिटिभी फुटेजमा देखिएको छ । त्यति बेला उनीहरू दुई जना मात्र देखिएकाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । शव भेटिएको ठाउँ नजिकै ब्याग र जुत्ता फेला परेका थिए भने शव भएको ठाउँ रगताम्मे थियो । यौनागंबाट अत्यधिक रगत बगेकाले भुइँमा पनि रगत लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अत्यधिक रक्तश्राव भएपछि ती किशोरले आफ्ना नजिकका साथीहरूलाई फोन गरेर बोलाएको देखिन्छ । उनीहरूले केही स्थानीयलाई खबर गरिदिएका थिए । त्यसपछि प्रहरी टोली पुगेर उनलाई अस्पताल पु¥याएको थियो । तर त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो । समयमै अस्पताल लगिएको भए इनिसाको मृत्यु हुने सम्भावना कम रहेको डाक्टरहरूको भनाइ छ ।
यो घटनामा सामूहिक बलात्कारको आशंका गरिएको भए पनि अहिलेसम्मको अनुसन्धानबाट त्यो पुष्टि नभएको प्रहरी स्रोत बताउँछ । सबै प्राविधिक जाँचको रिपोर्ट आइसकेपछि नै यसबारे यकिन भन्न सकिने प्रहरीको भनाइ छ । यसैबीच इनिसाको परिवारले भने न्याय नपाएसम्म आफ्नी छोरीको शव दाहसंस्कार नगर्ने अडान लिएका छन् । उनको शव १८ दिनदेखि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा राखिएको छ ।
प्रकाशित मितिः ११ चैत्र २०८२, बुधबार १०:२९
साझा बिसौनी ।