चुनावी प्रचारको मैझारो, मध्यरातदेखि मौन अवधि

मतदान अघि मतदाताले निर्णय गर्ने समय

सुर्खेत: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । सोमवार मध्यरातदेखि मौन अवधि सुरु भएको हो ।

अब चुनाव अवधिभर कसैको पक्ष वा विपक्षमा प्रचार–प्रसार गर्न वा भोट माग्न पाइँदैन । त्यसैले चुनावी सभा र प्रचारका लागि राजनीतिक दल तथा उम्मेदवारहरूले सोमवार राति अवेरसम्म आफ्नो सभा तथा मतदाता भेटघाटसहित चुनावी प्रचारको मैझारो गरेका छन् । मौन अवधि सोमवार राति १२ बजेदेखि सुरु भएको छ भने मतदान नसकिएसम्म लागू हुनेछ ।

मतदानको समयमा प्रतिस्पर्धीहरूबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । शान्त वातावरणमा निर्वाचन गर्न, अनि उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ । मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि शान्त हुने भएकाले मतदानको वातावरण बन्छ र मतदाताहरू उत्साहित भएर मतदान गर्छन् भन्ने अपेक्षा गरिन्छ ।

यदि मौन अवधिको व्यवस्था नराख्ने र मतदानको अघिल्लो दिनसम्म पनि प्रचारप्रचारको छुट हुने हो भने उम्मेदवार र राजनीतिक दलहरूले मतदातालाई प्रभावित पार्ने जोखिम रहन्छ । निर्वाचन आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने ।’ मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरूलाई मतदान केन्द्रको तीन सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ ।

मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार सामाजिक सञ्जालमार्फत् पनि कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न पाइँदैन ।

राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।

यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्‍जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आयोगले बताएको छ ।

यसैबीच निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न सबै जिल्लाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई निर्देशन दिएको छ । सोमवार ७७ वटै जिल्लाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई मौन अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न र गराउन निर्देशन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । आयोगले भनेको छ, ‘जिल्ला आचारसंहिता अनुगमन समितिसमेतको सहकार्यमा अनुगमनकर्ताको अधिकारको प्रयोग गरी निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न÷गराउन निर्देशन गरिएको छ ।’

आयोगले सबै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आर्थिक पाटो हेर्ने जिम्मेवारी दिइएको छ । उनीहरूलाई मान अवधिमा आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिइएको हो । मतदान हुनुभन्दा अघिको ४८ घण्टालाई आयोगले मौन अवधि तोकेको छ । फागुन २१ गते निर्वाचन भएकाले फागुन १८ गते राति १२ बजेदेखि मौत अवधि सुरु हुन्छ ।

मौन अवधि सुरु भएदेखि चुनावका दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न भनिएको हो । यससँगै मतदानका दिन पालना गर्न पर्ने आचार पनि प्रभावकारी रूपमा पालना गर्न र गराउन निर्देशन दिइएको छ । यससँगै आयोगले राजनीतिक, उम्मेदवार र उम्मेदवारका समर्थकलाई पनि मौन अवधिमा चुनावी प्रचारप्रसार नगर्न आग्रह गरेको छ । निर्वाचन आचारसंहिता बमोजिम गर्न नहुने भनी तोकिएका कार्य नगर्न सचेत गराइएको छ ।

प्रकाशित मितिः   १९ फाल्गुन २०८२, मंगलवार १२:४९