मतदानस्थलमा निर्वाचन सामग्री

सुर्खेत: कर्णाली प्रदेशका हिमाली जिल्लाका मतदानस्थलहरूमा नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री पु¥याइएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका चार वटा मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामग्री र कर्मचारी पु¥याइएको छ ।

हिमपातले अवरुद्ध नाम्खा गाउँपालिका–६ स्थित पाँच हजार दुई सय मिटर उचाइको न्यालु लेक, र नाम्खा गाउँपालिका–५ को चार हजार नौ सय ४९ मिटर उचाइको नारा लेकमा आउजाउ बन्द भएपछि नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामग्री र कर्मचारीलाई पुर्‍याइएको हो ।

हिमपातले निर्वाचन सामग्री र कर्मचारी आउजाउ गर्न समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरबाट चार वटा मतदानस्थलमा निर्वाचन सामग्री र कर्मचारीलाई पु¥याएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए । नाम्खा गाउँपालिका–६ को हिमशिखर प्रथामिक विद्यालयल तिल, सुनखानी आधारभूत विद्यालय हल्जी, भृकुटी आधारभूत विद्यालयमा रहेको मतदानस्थलमा हेलिकप्टरबाट निर्वाचन सामग्री र कर्मचारी पु¥याइएको मुख्य निर्वाचन अधिकृत बरालले बताए ।

यसैगरी उपल्लो डोल्पाका मतदान केन्द्रहरूमा पनि हेलिकप्टरमार्फत निर्वाचन सामग्री पु¥याइएको छ । तर सबै केन्द्रहरूमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेको छैन । शे–फोक्सुण्डो गाउँपालिकामा केही मतदान केन्द्र र छार्काताङ्सोङ् गाउँपालिकाका मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुग्न बाँकी छ । मंगलवारसम्म सबै केन्द्रमा पु¥याइसकिने जनाइएको छ ।

डोल्पामा स्थायी र अस्थायी गरेर ७० मतदान केन्द्र छन् भने तीन सय ८३ जना कर्मचारी खटाइएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार एक सय १५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार एक सय ८७ र पुरुष ११ हजार नौ सय २८ छन् ।

प्रकाशित मितिः   १९ फाल्गुन २०८२, मंगलवार १२:४४