कथा

सेटिङ

हिजोअस्तिका दिनसम्म सुनसान देखिने गैरी भञ्ज्याङ गाउँमा फेरि चहलपहल बढेको थियो । गाउँका टाठाबाठाहरू चलमलाउन थालेका थिए, किन कि उनीहरूको कमाइ हुने दिन नजिकिदै थियो ।

देशभर चुनावको महामेलाको समय थियो । अघिल्लो चुनावमा गैरी भञ्ज्याङका रिठेले तीन पार्टीबाट मनग्य आम्दानी गरेको कुरा चुनाव सकिएको करिब वर्षदिनपछि थाहा भएको थियो । उसलाई पैसो दिएका पार्टीका नेताबाट नै यो कुरा थाहा पाउँदा गाउँले युवाहरू निकै पछुताएका थिए ।

रिठेले कक्षा १२ उत्तीर्ण गरेको थियो । उसले १८ महिने सबइन्जिनियर प्राविधिक शिक्षा पनि उत्तीर्ण गरेको थियो । वि.सं. २०७२ सालमा गोरखाको बारपाकमा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण सोही बेला भुकम्प पीडित मानिसका भत्किएका घरको पुनर्निर्माणका लागि सरकारले अस्थायी करारमा विभिन्न जनशक्तिको व्यवस्थापन गर्ने क्रममा उसले जागिर पाएको थियो । केही समयपश्चात् ऊ जागिरबाट निस्केपछि व्यापार व्यावसायमा पनि हात हालेको थियो । व्यापारमा पनि लगानी डुबेपछि ऊ राजनीतिमा हाम फालेको थियो । आजभोलि उसको निकै फस्टाएको व्यापार राजनीति भएको छ, लगानीविनाको आम्दानी । हरेक चुनाव उसको लागि कमाइ गर्ने मौसम नै बनेर आउँछ ।

रिठे देशका मुख्य दल मानिएका सबै दलसँग सेटिङ मिलाउन माहिर खेलाडी हो । उसको सेटिङमा माझ गाउँका दलबिरे र तल्लो गाउँका लालबिरे पनि सामिल छन् । उसले माझ गाउँका दलबिरेलाई एउटा पार्टीको मोर्चा सम्हाल्न लगाएको छ भने लालबिरेलाई अर्को मुख्य दलको पार्टीको सेटिङमा लगाएको छ । यी तिनैजना हुन्, गाउँलेलाई गुमराहामा राख्ने पात्र । विचरा ! गाउँका सिधासादा गाउँलेहरूले यो कुराको भेउ नै पाउदैनन् ।

जगबिरे काइलाको छोरा रिठेले गाउँलेलाई हरेक चुनावमा आफूले सेटिङ मिलाएको नेतालाई मत दिन सहमत गराउने र मोटो रकम असुल्ने उसको विशेषता थियो । गाउँमा नेतालाई ल्याएर खानेपानीको बोरिङ खनाउने, घर अगाडिको बाटो बनाउने, कालोपत्रे गर्ने, नाला निर्माण, विद्यालयको भवन यस्तै–यस्तै माग पनि उठाउथ्यो, रिठेले । उसका कुराले गाउँलेहरू भरोसा मानेर रिठेलाई नै गाउँका नेता पनि मान्थे र उसले भनेको दल र नेतालाई मत दिन्थे ।

गैरी भञ्ज्याङ गाउँमा अर्का एक जना सामान्य व्यापारी रङ्गबिर पनि थियो । गाउँमा सबैजसो इमानदार मानिस बस्थे तर झुपबहादुरको छोरा रङ्गबिर चाहिँ भिन्न तर्क राख्थ्यो । रङ्गबिर सहकारीबाट ऋण गरेर सानोतिनो व्यापार गरेर जीवन गुजारा गथ्र्यो । उसका कुरामा गाउँका केही युवा पुस्ताले विश्वास गर्थे । उसले राजनीति नगरे पनि नेपालको राजनीति राम्रैसँग बुझेको थियो । वर्षौंदेखि देशमा राजनीतिक अस्थिरताले गाउँका सयौ युवाहरू विदेशिनु, उद्योग कलकारखाना नहुनु, कृषिमा आधुनिकीकरण नहुुनु, गाउँका दाजुभाइका कृषि उत्पादनले बजार नपाउनु, बाटोघाटको विकास नहुनुले गाउँलेहरू दुःख पाएको यर्थाथ ऐनाजस्तै छर्लङ थियो । तैपनि रिठेले नानाभाती प्रलोभनमा गाउँको मन जितेर आफ्नो दुनो सोझ्याउने काम वर्षौंदेखि गर्दै आइरहेको थियो ।

यसै क्रममा चुनाव पनि नजिकिँदै थियो । रिठेको गाउँघरतिरको दौडधुप पनि बढ्न थालेको थियो । उसले गाउँलेहरूलाई यसपटक पनि आफ्नो पक्षकोलाई मत हाल्नका लागि के गर्ने भन्ने उपाय सोच्दै थियो । उसले गाउँको भेला बोलायो र भन्यो, ‘हेर्नु गाउँले दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाहरू यसपटक पनि हाम्रा नेता चुनावमा उठ्या छन् । अब छिट्टै चुनाव पनि नजिकिँदै छ । तपार्इंहरू कत्ति पनि दोधारमा नपर्नुहोला । मैले भनेको चुनाव चिन्हमा झ्याप्प छाप लगाउनु होला । विकासका लागि एकदमै राम्रो उम्मेदवार छन् ।’

त्यो भेलामा रङ्गबिर पनि उपस्थित थियो । उसले भेलामा भन्यो, ‘रिठे दाइले भनेको कुरामा विश्वास गरिहाल्नु उचित छैन । बरु चुनावमा उम्मेदवारी दिएका कुन नेता हुन् ? कस्ता एजेन्डा छन् ? पुराना दल, नयाँ दल भन्छन् । पहिला सांसद बनेका हरिबहादुरजस्तै गफाडी र काम नगर्ने पो हुन् कि ? गाउँलेका लागि यो बनाइदिन्छु, त्यो गरिदिन्छु भन्दै बकम्फुसे रहेछ भने पाँच वर्ष व्यर्थै जान्छ । देशले पनि गति लिन सक्दैन । हामीलाई त भड्खालोमा पार्छ पार्छ । देश पनि डुबाउन सक्छ । साथीहरू हो, यसपालिको चुनावमा नयाँ ढङ्गले सोच्ने हो कि ?’ यस कुराले गाउँका केही मानिसहरू सहमत भए । केही दिन पछि गाउँमा छुट्टै भेला गरियो ।

चुनावको प्रचारप्रसारको क्रममा केही दिन अन्यत्र गएको थियो, रिठे । ऊ राजनीतिक दलका ठूला भनाउँदाहरूसँग कसरी मोटो रकम असुल्न सकिन्छ भन्ने ध्याउन्नमा सदरमुकाम पसेको थियो । ऊ गाउँमा फर्केपछि माझ गाउँका दलबिरे र तल्लो गाउँका लालबिरेसँग पनि गोप्य बसाइँ गरिसकेको थियो । आफूहरू विरुद्धमा रङ्गबिर गाउँमा गाउँलेलाई भड्काएको आरोप लगाएर आफ्नो गाउँमा दलबिरे र लालबिरेलाई मतदातालाई रकम बाँड्ने, भोजभतेरको चाँजोपाँजो मिलाइसकेको थियो । गैरी भञ्ज्याङ गाउँमा दलबिरे र लालबिरे कन्सुत्ला झै गाउँलेलाई रङ्गबिरविरुद्ध उक्साए । नेताबाट पैसा खाएर गाउँमा व्यापार गरेकोसम्म भन्न भ्याए । गाउँमा खान पल्केका केही खन्चुवा ब्वासाहरू थिए । चुनावमा पुरानै नेता हरिबहादुर उठेका थिए । गाउँलेसँग उम्मेदवारीको साक्षात्कार गराए मत गुम्ने पक्कापक्की थियो । किन कि हरिबहादुर त्यो क्षेत्रबाट पटक–पटक चुनाव जितेर पटक–पटक मन्त्री पनि बनिसकेका थिए । दुर्भाग्य त्यो गाउँमा चुनाव जितेपछि न विकास गरे न फर्केर आए, मात्र चुनावकाबेला आउने गर्थे ।

रिठेले माझ गाउँका दलबिरे, तल्लो गाउँका लालबिरेको सेटिङमा गाउँलेलाई आफ्नो पक्षमा ल्याउन गाउँका वृद्ध बुवाआमाको खुट्टै ढोगेर आफूले भनेकै पार्टी र नेतालाई मत हाल्न वाचा कसम खान पनि भ्यायो । गाउँमा विभिन्न दलका नेता कार्यकर्ता आउने जाने क्रम बढेकै थियो । सुनसान गाउँमा घोषणा पत्र, पर्चा पम्पलेट लिएर ढ्वाङ फुक्थे । आआफ्ना दलका नेतालाई लिएर कार्यकर्ताहरू जनतासँग मत माग्दै नाराबाजी गर्थे । गाउँमा जात्रा मेला चलेको छ, जस्तो लाग्थ्यो । रिठेले पार्टीका नेताबाट सदरमुकाम गएकोबेला रकम असुली सकेको रहेछ ।

एक दिन रिठेले आफ्नो घरमा गाउँमा भोजभोतेरको आयोजना गरेको थियो । उक्त भोजभतेरमा गाउँमा को–को विरोधी छन् ? तिनलाई मासुभात, वियर खुवाएर विरोधी युुवालाई आफ्नो बनाइ छाड्यो । उता गाउँका सोझा दिदीबहिनीलाई गुन्युचोली, चप्पल पाएर मख्ख थिए । रिठे र उसका साथी दलबिरेले राती राती गुन्युचोली, चप्पल दिने क्रममा साइली पुकुली बज्यैलाई एकैपट्टिका एक जोर चप्पल परेछ । भोलिपल्ट बिहानै दाहिने दाहिने चप्पल लगाएर निकै खुसीका साथ रङ्गबिरको पसलमा पुगेकी थिइन्, पुकुली बज्यै । उनी नयाँ एक हजार रूपैयाँको नोट दिएर एक पाकेट बिंडी मागेकी रहेछिन् । रङ्गबिरले पुकुली बज्यैको खुट्टामा दुवै दाहिने दाहिने चप्पल देखेपछि अचम्म पर्दै सोध्छन् ।

‘पुकुली बज्यै भोट हाल्न जानलाई नयाँ चप्पल किनेर ल्याउनु भएछ कि क्या हो ।’
‘का किन्नु नाति आज राती त्यै रिठेले दिया त हो नि । मैले भन्या ठाउँमा बोट हाल्नु भन्दै थियो । बुहारीलाई पनि नयाँ गुन्यु चोली दियो । छोरोलाई त वियर पनि खुवाएछ मोराले । अस्ति घरदैलो कार्यक्रममा नयाँ नेतालाई ल्याएर भेटघाट गरायो । यसपालि त नेता पनि नयाँ रहेछन्, नाति ।’

रङ्गबिर अक्मकियो । किनकि त्यही पुरानै दलका भ्रष्ट नेता उनै हरिबहादुर चनावमा टिकट पाएका थिए । गाउँमा हरिबहादुर छिरेकै थिएनन् । रिठेले हरिबहादुरलाई गाउँले भोट दिदैनन् भनेर सेटिङमा एकजना नयाँ अनुहारका अरुलाई नेता बनाएर घरघरमा भेटाएका रहेछन् । उनी पुकुली बज्यैलाई ए ए भन्दै एक पाकेट बिंडी पनि दिए । रिठेको यस्तो चाला खासै नौलो होइन । अघिल्लो वर्ष गाउँमा आएको सडक मर्मत नाला निर्माण योजनामा आफ्नै श्रीमतीलाई अरुको श्रीमती भनी कोषाध्यक्ष बनाएको थियो र आफू अध्यक्ष भएर लाखौँ रकम हसुरेको थियो । पुकुली बज्यै प्राय घरकै काँचो पातको तमाखु खाने गर्थिन् । आज एकाबिहानै त्यो पनि हजारको नयाँ नोट लिएर पसलमा बिंडी किन्न आएकोमा अचम्मित परे, रङ्गबिर ।

ठट्टा गर्दै रङ्गबिर भने, ‘यो त हातै काट्ने जस्तो नयाँ नोट दियौ, बज्यै भत्ता बुझ्नु भो कि क्या हो ।’
‘काँ बुझ्नु नाति । यै चप्पल दिन आ बेला त्यो रिठेले त दिएको हो नि । अघि भने त भोट माग्न आयाथ्यो भनेर ।’

रङ्गबिरले उत्सुकतापूर्वक, ‘कति दिएछन्, त रिठे दाइले ।’
‘खै, के भनु नाति मलाई त यै एउटै दिए । छोराबुहारीसँग खासखुस कुरा गर्दै यस्तै पाँच सात वटा गनेको देख्याथे ।’

रङ्गबिरले गाउँमा केही युवाहरूलाई जम्मा गरेर यसबारे बुझ्न कोसिस ग¥यो । जो–जो विरोधी थिए ती सबै अब रिठेका भइसकेका थिए । यो सब सेटिङमा भएको थियो । ती परिवर्तन चाहनेहरू पनि रङ्गबिरका खिल्ली उडाइरहेका थिए । यसले गर्दा रङ्गबिरको अनुहारको रङ उडिसकेको थियो । अघिल्लो चुनावपछि पनि गाउँमा विकासको योजना आएको रहेछ । त्यो पनि लालबिरे, दलबिरेको सेटिङमा कागजी विकास गरी करोडौको बजेट कुम्ल्याएको रहेछ, रिठेले । यसरी सेटिङमा कति दिन देश चल्ने हो भनी रङ्गबिर निराश हुँदै घरतिर लाग्यो ।

 

– मानबहादुर चौधरी ‘पन्ना’

प्रकाशित मितिः   १६ फाल्गुन २०८२, शनिबार १२:०३