आज कांग्रेसको आमसभा

सुर्खेत: नेपाली कांग्रेसले आज (बिहीवार) वीरेन्द्रनगरमा आमसभा गर्दैछ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन केन्द्रित आमसभा आयोजना गरिएको हो ।

आमसभामा पार्टीका स्थानीय कार्यकर्तादेखि केन्द्रीय नेताहरू सहभागी हुँदैछन् । सभालाई सम्बोधन गर्न सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरू सुर्खेत आउँदैछन् ।

आमसभा वीरेन्द्रनगरस्थित घण्टाघर डबलीमा हुने कांग्रेसले जनाएको छ । कांग्रेस निर्वाचन प्रचार–प्रसार समितिका अनुसार सभामा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरिनेछ । आमसभामा सुर्खेतसहित छिमेकी जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदका सबै उम्मेद्वारहरूको समेत सहभागिता रहने जनाइएको छ ।

कर्णाली प्रदेशको भौगोलिक विकटताका कारण अधिकांश उम्मेद्वारहरू हाल गाउँ–गाउँमा मतदाता भेटघाटमा व्यस्त रहेकाले सबै उम्मेदवारको एकैपटक उपस्थिति सम्भव नहुने कांग्रेसले जनाएको छ । यद्यपि, सुर्खेतबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारहरूले आमसभामा सहभागिता जनाउनेछन् । आमसभा अघि वीरेन्द्रनगरको मंगलगढी चोकबाट ¥याली निकालिने कार्यक्रम पनि रहेको छ । कांग्रेसले यसअघि आफ्नो पहिलो चुनावी सभा मधेश प्रदेशमा गरिसकेको छ ।

प्रकाशित मितिः   १४ फाल्गुन २०८२, बिहीबार ०५:०१