प्रदेश सांसद शर्मा पदमुक्त

सुर्खेत: कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेशसभा सदस्य पदबाट हटाइएका छन् । प्रदेशसभा सचिवालयले बुधवार शर्मालाई पदबाट हटाएको जानकारी दिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले शर्मालाई सांसद पदबाट हटाउन संसद् सचिवालयलाई पत्र पठाएको थियो । तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलबीच एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि शर्माले पार्टी छोडेका थिए । उनी जनार्दन शर्मातिर गएपछि नेकपाले संसदीय दलको नेतासमेत रहेका शर्मालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जानकारी प्रदेशसभालाई गराएको थियो ।

सोही निर्णयका आधारमा कर्णाली प्रदेशसभा सचिवालयले बुधवार सूचना जारी गर्दै शर्मा पदमुक्त भएको औपचारिक जानकारी दिएको छ । सचिवालयका अनुसार शर्मालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम पार्टीबाट निष्कासन गरिएको पत्र दर्ता भएको थियो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार, जुन दलबाट निर्वाचित भएको हो । सो दलले निष्कासन गरेको सूचना प्रदेशसभामा विधिवत् रूपमा जानकारी गराएपछि सम्बन्धित सांसदको पद रिक्त हुने कानुनी व्यवस्था छ ।

शर्मा हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आवद्ध छन् । शर्मा पदमुक्त भएसँगै ४० प्रदेशसभा सदस्यीय कर्णालीमा अब ३९ सदस्य कायम भएको छ ।

प्रकाशित मितिः   १४ फाल्गुन २०८२, बिहीबार ०५:०६