कर्णालीमा निर्वाचन: जाजरकोटमा कसको सम्भावना बढी ?

सुर्खेत: परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने जाजरकोटमा २०६४ देखि माओवादीले आफ्नो बर्चश्व बनायो । २०६४ मा जिल्लाका दुवै क्षेत्र जितेको माओवादीले २०७० मा एउटा जोगाएर एउटा गुमायो । संविधान जारी भएसँगै प्रतिनिधिसभाका लागि एउटा निर्वाचन क्षेत्र कायम भएपछिका दुवै चुनाव माओवादी केन्द्रले जितेको छ ।
२०१५ देखि २०७० सम्मका कुनै पनि चुनावमा दोहो¥याएर कसैले चुनाव जित्न नसकेको जाजरकोटमा पछिल्लो पटक लगातार तीनवटा चुनाव जितेर शक्ति बस्नेतले ह्याट्रिक गरिसकेका छन् । फागुन २१ गते हुने निर्वाचनमा उनी चौथो जितेको खोजीमा छन् ।
नेपाली कम्युनिष्ट पार्टीले बस्नेतलाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक २०७० मा जाजरकोटको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । त्यसपछि २०७४ र २०७९ मा पनि उनले जित हात पारे । अघिल्लो चुनावमा एमालेको साथ पाएका उनले पछिल्लो चुनावमा कांग्रेसको साथ पाए ।
पछिल्ला दुवै चुनावमा गठबन्धनको साथ पाएका बस्नेतलाई यसपटक एक्लै लडेर जित्नुपर्ने चुनौती छ । त्यसमाथि लगातार उनले टिकट पाएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ । कतिसम्म भने नेकपाको केन्द्रीय नेतृत्वले बस्नेतलाई टिकट दिएपछि असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य गणेशप्रसाद सिंहले पार्टी नै परित्योग गरेका छन् । सिंह यसअघि माओवादीबाट प्रदेशसभा सदस्य र मन्त्री भइसकेका नेता हुन् । सिंहको पार्टी परित्यागले बस्नेतलाई क्षति हुनसक्ने देखिन्छ ।
गठबन्धनको बलमा प्रत्यक्षतर्फ बस्नेतले चुनाव जितेपनि समानुपातिकतर्फ जाजरकोटमा माओवादी केन्द्र तेस्रो भएको थियो । उनले १४ हजार चार सय १२ मत पाएको थियो । समानुपातिकतर्फ पहिलो भएको कांग्रेसले २२ हजार नौ सय ३४ मत पाउँदा दोस्रो भएको एमालेले १९ हजार सात सय ४९ मत पाएको थियो । एकीकृत समाजवादीले सात सय ८६ मत पायो ।
प्रतिनिधिसभामा मात्रै होइन प्रदेशसभाको समानुपातिक मतमा पनि माओवादी केन्द्र तेस्रो भएको थियो । योभन्दा अघि एमाले र कांग्रेस थिए । यस हिसाबले पनि एक्ला एक्लै चुनाव लड्दा नेकपाका उम्मेदवार बस्नेतले जित निकाल्न सहज हुने छैन । यद्यपि, एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीसँगको एकताले भने केही फाइदा पुग्न सक्नेछ । तर जाजरकोटमा समाजवादी पनि कमजोर नै थियो । गत चुनावमा समानुपातिकतर्फ समाजवादीले सात सय ८६ मत मात्रै पाएको थियो ।
अघिल्लो पटक बस्नेतलाई नै सघाएको कांग्रेसले यसपटक जाजरकोबाट युवा नेता खडकबहादुर बुढालाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक संसदीय चुनाव लड्दैछन् । गत चुनावको समानुपातिक मतअनुसार जाजरकोटमा कांग्रेस पहिलो पार्टी हो । यसपटक दलहरू एक्लाएक्लै चुनाव लडेकाले सहज जित निकाल्ने रणनीति कांग्रेसको छ ।
एमालेले केन्द्रीय सदस्य डम्बरबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । उनी शक्ति बस्नेतका पुरानै प्रतिस्पर्धी हुन् । २०७० मा संविधानसभा सदस्यकाका लागि भएका निर्वाचनमा बस्नेतसँग पराजित भएका थिए । त्यस्तै २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा पनि उनी पराजित भए । एमालेले यसपटक उनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राघव कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कृष्णविक्रम शाहलगायत ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि, जाजरकोटमा अन्य दलको सांगठनिक प्रभाव कमजोर छ । त्यसैले पनि कांग्रेस, एमाले र नेकपाबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन भइरहेको छ ।
प्रकाशित मितिः १३ फाल्गुन २०८२, बुधबार ०५:०५
साझा बिसौनी ।