निर्वाचनको तयारी

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्रता दिएको छ । अन्य तयारी सँगसँगै मतपत्र छपाइको काम पनि धमाधम भइरहेको छ । कर्णाली प्रदेशका दशवटै जिल्लाको मतपत्र छपाइ सकिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले दिएको जानकारी अनुसार देशभरका ८४ भन्दा बढी मतपत्र छपाइ सकिएको छ । जसमा कर्णाली प्रदेशका दश जिल्लाका १२ वटै निर्वाचन क्षेत्रको पनि सकिएको हो । डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रूकुम (पश्चिम भाग), सल्यान र सुर्खेतको मतपत्र छपाइसहित प्याकिङ सम्पन्न भइसकेको जनाइएको छ ।

कर्णालीका १० जिल्लामा प्रतिनिधिसभाका १२ वटा निर्वाचन क्षेत्र छन् । जहाँ एक सय ३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका छन् । प्रदेशमा कुल दश लाख ३७ हजार दुई सय ५० मतदाता रहेका छन् । त्यसमध्ये पाँच लाख ९३ हजार ६१ जना महिला मतदाता छन् भने पाँच लाख २७ हजार आठ सय ८६ पुरुष मतदाता रहेका छन् । तीन जना अन्य मतदाता रहेको जनाइएको छ । निर्वाचन आयोगका अनुसार प्रदेशमा नौ सय सय ४१ मतदान स्थल रहँदा एक हजार चार सय ३७ मतदान केन्द्र रहेका छन् । कर्णालीसहित बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ र गुल्मी गरी जम्मा ३२ जिल्लाको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको छ । प्रत्यक्ष निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने जम्मा दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार दुई सय नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरूमा पठाइ सकिएको आयोगले जनाएको छ ।

गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वतयारीअन्तर्गत डिजिटल प्लेटफर्म टिकटकसँग सहकार्यका लागि हस्ताक्षर सम्पन्न गरेको छ । निर्वाचनको तयारीमा देखिएको तयारीले निर्धारित समयमा चुनाव हुने वातावरण पनि बन्दै गएको छ । संशय र आशंका मेटिदै गएका छन् ।

प्रकाशित मितिः   २६ माघ २०८२, सोमबार १०:५४