विद्यालयबाहिर मतदान
आवधिक निर्वाचन मुलुकका लागि महङ्खवपूर्ण प्रक्रिया हो । यसलाई सफल बनाउन राज्यका सबै क्षेत्रको भूमिका उत्तिकै महङ्खवपूर्ण रहन्छ । यद्यपि, यो प्रक्रियामा विद्यार्थीहरूको पढाइ नै प्रभावित हुने कार्यलाई भने अन्य विकल्पद्वारा व्यवस्थापन गर्न सकिने अवस्था छ । तर हरेकजसो निर्वाचनमा मतदान केन्द्रका रूपमा विद्यालयलाई प्रयोग गर्ने गरिन्छ । जसका कारण विद्यार्थीहरूको नियमित पढाइ प्रभावित हुने गरेको छ । आगामी निर्वाचनले पनि पढाइ प्रभावित हुने चिन्ता सरोकारवालाहरूले व्यक्त गरिरहेका छन् । सबै तहको निर्वाचनमा मतदान केन्द्र विद्यालयमा तोकिँदा वार्षिक पढाइ तालिका प्रभावित हुने गरेको हो । विद्यालयको विकल्प खोजेर चुनाव गर्न सकिने थुप्रै आधार भएपनि सरकारले ध्यान दिन सकेको छैन । बन्द–हड्ताल, पार्टीका आमसभा तथा मेला महोत्सवसमेत विद्यालयमा गरिँदा पढाइ प्रभावित बन्ने गरेको हो ।
विगतमा स्थानीयस्तरमा कुनै पनि तहका निर्वाचन सम्पन्न गराउन सहज थिएन । यातायातका साधन, सडकको पहुँच, सुरक्षा व्यवस्था, खटिएका कर्मचारीको खाने–बस्ने व्यवस्थालगायत मतदानस्थलको व्यवस्थापन गर्न हम्मे पथ्र्यो । जसका कारण अधिकांश मतदान केन्द्र सामुदायिक विद्यालयमा राखिन्थे । तर अहिले ठूला–ठूला सरकारी संरचना निर्माण गरिएका छन् । तरपनि बालबालिकाको निर्वाध रूपमा पठनपाठन गर्ने अधिकारलाई वञ्चित गराउँदै विद्यालयमा नै मतदान केन्द्र राख्ने गरिएको गुनासो सरोकारवालाहरूको छ । जसले गर्दा आउँदै गरेको एसईई र तथा सम्पूर्ण वार्षिक परीक्षा प्रभावित बन्नेछन् । केही सरकारी भवन प्रयोगविहीन बनिरहँदा अहिले पनि खोजीखोजी विद्यालयमा मतदान केन्द्र राख्ने गरिएको छ । विद्यालयमा मतदान केन्द्र बनाइँदा पठनपाठनको वातावरण कम्तीमा एक साता बिग्रिने शिक्षकहरूको गुनासो छ । सामान्यता विद्यालयमा मतदानस्थल कायम गर्दा दुई÷तीन दिन बिदा हुने भए पनि अरू व्यवस्थापनका कामले कम्तीमा एक साता पठनपाठन अवरुद्ध हुने गरेको छ । यद्यपि, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पनि अधिकांश विद्यालयलाई मतदानस्थलको रूपमा प्रयोग गरिने भएको छ । अन्य क्षेत्रभन्दा विद्यालय नै सुरक्षित हुने गरेकाले मतदानस्थलमा विद्यालयलाई नै प्राथमिकता दिने गरिएको छ ।
अहिले वडा कार्यालयदेखि ठूला–ठूला संरचना बनिसकेको अवस्थामा विद्यालय नै खोजीखोजी मतदान केन्द्र राखिनु उचित होइन । उदाहरणका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि थुप्रै विकल्प छन् । वडा नं. ७ मा प्रदेशसभा, वडा नंं. ६ मा सभाहल, वडा नं. ८ मा प्रदेश रंगशालाजस्ता क्षेत्र छन्, जहाँ मतदान गराउन सकिन्छ । तर ति क्षेत्रमा पनि विद्यालय नै प्रयोग गर्ने गरिएको छ । सरकारले अन्य सरकारी संरचनाको भरपूर प्रयोग गरी विद्यालयलाई शान्ती क्षेत्रको रूपमा कायम गर्न आवश्यक छ ।
प्रकाशित मितिः २० माघ २०८२, मंगलवार १०:२३
सम्पादकीय ।