पुराना दललाई नयाँको चुनौती

विरासत जोगिएला कि भत्किएलान् ?

सुर्खेत: सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट अहिलेसम्म नेपाली कांग्रेस र नेकपा (एमाले) बाहेक अन्य कुनै पनि राजनीतिक दलले आम चुनाव जितेका छैनन् । २०४८ यताकै सातवटा निर्वाचनमा पनि पाँच पटक कांग्रेसले जित्दा दुई पटक एमालेले बाजी मारेको थियो ।

त्यसैगरी सुर्खेतको निर्वाचन क्षेत्र नं. २ मा पनि एकपटक बाहेक सबै आम निर्वाचनमा कांग्रेस र एमालेले नै चुनावी नतिजा आफ्नो पक्षमा पार्दै आएका छन् । २०६४ मा भने यो क्षेत्रबाट तत्कालीन नेकपा (माओवादी)ले जितेको थियो । त्यसबाहेकका हरेक निर्वाचनमा कहिले कांग्रेस त कहिले एमालेले बाजी मार्दै आएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पनि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी दल कांग्रेस र एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने आंकलन भइरहेको छ । यद्यपि, बदलिँदो राजनीतिक परिवेशमा हुन लागेको यो चुनावले कांग्रेस र एमालेका लागि चुनौती भने थपिएको छ ।

परम्परागत शक्तिका रूपमा स्थापित र दशकौंदेखि सत्ताभोग गरिरहेका दलहरूको एकाधिकारलाई चुनौती दिँदै जेन–जी आन्दोलनको जगमा उदाएका नयाँ राजनीतिक शक्तिहरूले चुनावी मैदान तताउन थालेका छन् । जसले गर्दा कांग्रेस–एमाले त्रसित हुने अवस्था सिर्जना भएको देखिन्छ । कांग्रेस–एमाले आफ्नो विगतको विरासत जोगाउने र फर्काउने ध्याउन्नमा हुँदा अन्य दलहरू उनीहरूलाई चुनौती दिँदै आफ्नो जितको नयाँ इतिहास बनाउने योजनामा देखिन्छन् ।

२०७९ मा सुर्खेतका दुईवटै निर्वाचन क्षेत्र नेपाली कांग्रेसले जितेको थियो । तत्कालीन नेकपा (माओवादी केन्द्र)लगायतसँग गठबन्धन गरेर कांग्रेसले बाजी मार्दा एमाले भने प्रतिनिधिसभामा नतिजाशून्य हुन पुगेको थियो । कांग्रेस अबको निर्वाचनमा पनि दुईवटै क्षेत्रको विजयी विरासत जोगाउने योजनामा छ । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका दलहरू कांग्रेसको त्यो विरासत तोडेर आफ्नो पक्षमा ल्याउने कसरतमा जुटेका छन् ।

गत चुनावमा क्षेत्र नं. १ बाट कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ४२ हजार ६ सय सात पाएर निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीले ३० हजार नौ सय ८८ मत पाएका थिए । अन्य दलहरूको मत भने एक हजारभन्दा पनि कम थियो ।

त्यसैगरी क्षेत्र नं. २ मा पूर्वमन्त्री हृदयराम थानीले ३४ हजार ६ सय २५ मत प्राप्त गरी जितेका थिए । उनका प्रतिद्वन्द्वी एमालेका अमृतबहादुर बुढाक्षेत्रीले २९ हजार पाँच सय ५८ मत पाएका थिए । त्यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का टेकबहादुर चुनाराले चार हजार ६ सय एक मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भीमबहादुर शाहीले दुई हजार ६ सय ३२ मत पाएका थिए ।

अघिल्लो पटक निर्वाचित दुवैजना यसपटक उम्मेदवार छैनन् । खड्का र थानी नहुँदा नयाँ उम्मेदवारहरूलाई नतिजा आफ्नो पक्षमा पार्ने अवसर हुनेछ । यो अवसर छोप्न केही पुराना र अधिकांश नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

एमालेले क्षेत्र नं. १ मा पुरानै उम्मेदवार ध्रुवकुमार शाहीलाई उठाएको छ । यसअघि पनि दुईपटक संसदीय निर्वाचन लडेका शाहीले एकपटक जित निकाल्दा एक पटक हार बेहोरेका छन् । उनी तेस्रो पटक चुनावी मैदानमा उत्रिदा भने प्रतिस्पर्धामा सबै नयाँ उम्मेदवार छन् । शाहीलाई चुनौती दिन नेपाली कम्युनिष्ट पार्टीबाट जितबहादुर राना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रवि हमाल ठकुरीलगायतका उम्मेदवार छन् ।

यसैगरी क्षेत्र नं. २ मा थानीले मैदान खाली गरेपछि कांग्रेसले नारायण कोइरालालाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक संसदीय चुनाव लड्दैछन् । कोइरालासँगको प्रतिस्पर्धामा एमालेबाट पनि पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका कुलमणि देवकोटा छन् । एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेना एमाले सांगठिनक रूपमा बलियो रहेकाले पनि सहजै चुनाव जित्ने दाबी गर्छन् । अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन भएकोले थोरै मतले पछाडि परेको भएपनि यस पटक संगठन बलियो भएको हुँदा विगतको कांग्रेसको विरासत तोडिने जिकिर गरे ।

त्यसो त कांग्रेसले पनि विजयी विरासतलाई यसपटक पनि निरन्तरता दिने दाबी गरेको छ । अघिल्लो पटक जितेको विरासत कायमै राख्ने गरी निर्वाचनमा उत्रिएको कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले बताए ।

यो क्षेत्रमा कांग्रेस र एमालेलाई चुनौती दिन नेपाली कम्युनिष्ट पार्टीले झकबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । मल्ल पनि पहिलो पटक संसदीय चुनाव लड्दैछन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले रमेशकुमार सापकोटालाई उम्मेदवार बनाएको छ । यसबाहेक अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले समेत पुराना दलहरूलाई चुनौती दिइरहेका छन् ।

प्रकाशित मितिः   २० माघ २०८२, मंगलवार १०:२२