दलसँगको प्रतिस्पर्धामा स्वतन्त्र

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्तासहित निर्वाचन चिन्ह वितरणसमेत भइसकेको छ । उम्मेदवारहरू मतदातामाझ गइसकेका छन् । यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको संख्या पनि बढेको छ । ठूलो संख्यामा स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । २०७९ मा भएको स्थानीय चुनावको नतिजापछि नै स्वतन्त्र उम्मेदवारीप्रति लहर देखिन थालेको थियो । त्यतिबेलाको स्थानीय तह निर्वाचनमा काठमाडौं, धरान, धनगढी, जनकपुरधामजस्ता महत्वपूर्ण स्थानीय तहको प्रमुखसहित तीन सय ८४ पदमा स्वतन्त्र उम्मेदवार विजयी भएसँगै स्वतन्त्र उम्मेदवारीमा आकर्षण बढ्दो छ । जुन फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा पनि देखिएको छ ।

राजनीतिक दलहरूसँग असन्तुष्टहरू स्वतन्त्र रूपमै उम्मेदवार बनेका देखिन्छन् । जस्तो कि सुर्खेतका ४० वर्षीय रमेश परियार मुलुकमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण चरम राजनीतिकरणलाई मान्छन् । दलीय व्यवस्थाकै कारण भ्रष्टाचार बढेको बताउने उनी सुशासनको एजेन्डा बोकेर आफै चुनावी मैदानमा होमिएका छन् । सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवार बनेका हुन् । दलीय व्यवस्थाले भ्रष्टाचार झाँगिएको भन्दै उनले स्वतन्त्र रूपमा देश र जनताको अपेक्षा अनुरूप काम गर्ने संकल्पसहित उम्मेदवार बनेको बताए । नागरिकले समेत दलीय व्यवस्थालाई बहिस्कार गरिरहेको भन्दै उनले स्वतन्त्र रूपमा काम गर्नेलाई यो पटक अवसर दिने विश्वाससमेत व्यक्त गरेका छन् । सुर्खेतकै निर्वाचन क्षेत्र नं. २ बाट जेन–जी पुस्ताका कृष्ण खत्री पनि स्वतन्त्र उम्मेदवार बनेका छन् । राजनीतिसहित राज्यका सबै निकायहरूमा युवा पुस्ताको प्रतिनिधित्व हुनुपर्ने भन्दै उनले प्रतिनिधिसभाको चुनाव लड्ने निर्णय लिएका हुन् । सुर्खेतमा कृष्ण, रमेश र उदिरामजस्तै आसन्न प्रतिनिधिसभा निर्वाचनमा देशभर नै स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य रूपमा बढेको छ । यस पटक नेपालको निर्वाचन इतिहासमै सबैभन्दा धेरै एक हजार एक सय ३१ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

स्वतन्त्र उम्मेदवारीको लहर देशभर नै देखिएको हो । फागुन २१ को निर्वाचनमा ६८ दलले निर्वाचनमा भाग लिँदा एक हजार एक सय ३१ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्, जुन नेपालको निर्वाचन इतिहासमै सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवारी हो । प्रदेशगत रूपमा पनि मधेशमै सबैभन्दा धेरै पाँच सय ५४ जना चुनावी मैदानमा छन् भने कर्णालीमा सबैभन्दा कम १२ जना मात्र स्वतन्त्र उम्मेदवार दर्ता भएका छन् । एक सय ६५ क्षेत्रमध्ये २७ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी परेको छैन । यसपटक तीन सय ८८ महिला उम्मेदवार बन्दा स्वतन्त्र एक सय ५७ जना छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा पार्टीबाट टिकट नपाएकादेखि व्यवसायी, कानुनविद्, प्राध्यापक, पत्रकार तथा जेन–जी युवासम्म छन् ।

प्रकाशित मितिः   १५ माघ २०८२, बिहीबार १०:०१