हिउँ छिचोल्दै चुनावको तयारी

सुर्खेत: कर्णालीको हिमाली जिल्ला हुम्लामा केही दिनयता हिउँ परिरहेको छ । तर हिउँ छिचोलेर भएपनि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूलाई मतदाता भेट्न हिउँले छेकेको छैन । यद्यपि, हिउँकै कारण समस्या भने भइरहेको छ ।

हिमाली जिल्लाहरूमा हिमपातले एउटा बस्तीबाट अर्को बस्तीमा आउजाउ गर्न समेत हम्मेहम्मे परिरहेको छ । विकट बस्तीहरूमा पुग्न कठिन भइरहेको नेकपा (एमाले) हुम्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका दल फडेराले बताए । जिल्लाको मध्य भागहरूमा चुनावी प्रचार–प्रसारको काम भइरहेको भन्दै उनले हिउँ परिरहेकाले सोचेअनुरूप प्रचार गर्न नसकिएको जनाए ।

जिल्लाको नाख्मा क्षेत्रमा पुग्न कठिन भइरहेको फडेरा बताउँछन् । उनले भने, ‘लगातार हिउँ परिरहेको छ, तर पनि चुनावी अभियान रोकिएको छैन, पुग्न सकिने ठाउँमा आफ्ना ऐजेन्डासहित भेटघाटमा जुटिरहेका छौँ ।’ निर्वाचनको दिन नजिक आउन थालेकाले पनि उम्मेदवारहरूलाई भ्याइ–नभ्याइ छ । ‘हिउँ त हरेक वर्ष पर्छ, समस्या पनि पुरानै हो,’ फडेराले भने, ‘अब चाहिँ समस्या समाधान गर्ने मान्छे चाहिएको हो, जनतालाई बुझाउन जरुरी छ ।’

प्रायः वैशाख र मंसिरमा हुने चुनाव यो पटक फागुनमा हुँदैछ । मौसमी हिसाबले हिमाली क्षेत्रका लागि यो समय निर्वाचनका लागि उपयुक्त भने होइन । तर देशमा उत्पन्न विषम् परिस्थितिका कारण अहिले प्रतिनिधि सभाको चुनाव हुन लागेको हो । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । निर्वाचन लक्षित चुनावी प्रचार–प्रसार चलिरहेको छ । अन्य जिल्लामा सहज रूपमा चुनावी प्रसारका गतिविधि भइरहेपनि कर्णालीका हिमाली जिल्लामा निकै समस्या भइरहेको छ । यद्यपि, हिउँ छिचोल्दै चुनावी प्रचार–प्रसारलाई तीव्र पारिएको जुम्लाबाट प्रतिनिधि सभा उम्मेदवार बनेका नेपाली कांग्रेसका दीपबहादुर शाहीले बताए । चुनावी अभियान भने धमाधम भइरहेको उनले जनाए । पुग्न सकिने स्थानहरूमा प्रसार–प्रचारका काम भइरहेको र अन्य स्थानमा मौसम खुलेपछि पुग्ने योजना बनाइएको उनको भनाइ छ । आफूले सकेको पुगेको ठाउँमा चुनावी प्रतिवद्धता समेत गरिरहेको उनले जानकारी दिए ।

हिमाली बस्तीका कैयौँ मतदाता यो समयमा सुर्खेत र नेपालगञ्ज झरिसकेका छन् । मतदाता रिझाउन उम्मेदवार गाउँ पुगेपनि नागरिक सबै गाउँमा छैनन् । सहज तरिकाले सबै ठाउँमा चुनावी प्रचार–प्रसार गर्न नसकिएको नेकपा (एमाले) जुम्लाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार शान्तिलाल महतले बताए । मौसमकै कारण सबै ठाँउमा चुनावी कार्यक्रम गर्न नसकिएको उनले जानकारी दिए । कतिपय स्थानमा बाटो अवरुद्ध बनेको छ भने टेलिफोनले समेत काम गरेको छैन । उनले भने, ‘सबै जनतामाझ चुनावी ऐजेन्डा पु¥याउन सकिएको छैन, टाढाटाढाका बस्तीमा पुग्नै मुश्किल बनिरहेको छ, बेमौसमी समयमा चुनाव तोकिदा समस्या भयो ।’

हिमपातका कारण कर्णालीका हिमाली बस्तीहरूमा निर्वाचन गराउन चुनौती देखिएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार उच्च हिमाली बस्तीका २० वटा मतदान केन्द्रमा अत्यधिक हिमपात हुन्छ । ती क्षेत्रका झन्डै चार हजार मतदाता बाहिर रहेको प्रहरीको तथ्यांक छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ उपरीक्षक रामप्रकाश शाहले अत्यधिक चिसो हुने कर्णालीका दश वटा प्रहरीचौकी कार्तिक दोस्रो सातादेखि जिल्ला प्रहरी कार्यालयमै विस्थापित भएको बताए । ‘ती चौकीहरू गाउँ फर्काउन पहल थालिएको छ,’ उनले भने, ‘अबको दुई साताभित्र सबै चौकी पुनःस्र्थापित भइसक्छन् ।’

मुगुको मुगमकार्मारोङ गाउँपालिकास्थित मुगुगाउँ, कीर्ति, डोल्फु, किम्री, कार्तीलगायत गाउँका अधिकांश मानिस बाहिर छन् । मुगुगाउँका मात्रै झन्डै चार सय जना जाडो छल्न गाउँबाहिर गएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले सुरक्षा निकायमार्फत कति मतदाता बाहिर छन् भन्ने तथ्यांक संकलन गर्न थालिएको बताए । उनका अनुसार बढी हिमपात हुने मुगमकार्मारोङका पाँच वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट मतपेटिका र निर्वाचन सामग्री ओसार्नुको विकल्प नभएको बताए । ‘ती मतदान केन्द्रसम्म जान सडक सुविधा छैन, हिमपात भइरहने क्षेत्र भएकाले बोकाएर पठाउन सकिँदैन,’ उनले भने ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले भने मतदान आउन एक महिनाभन्दा बढी बाँकी भएकाले आत्तिनुपर्ने अवस्था नभएको बताए । उनले मतदाता शिक्षा र प्रचारको काममा भने केही समस्या आउने बताए । उनका अनुसार लिमीमा झन्डै ५० प्रतिशत मानिसले गाउँ छोडेका छैनन् ।

प्रकाशित मितिः   १५ माघ २०८२, बिहीबार १०:००