प्रतिशोध र मनोदशा
विगतमा देखेका, सुनेका र भोगेका पुरापुर घटना याद हुँदैन । विस्मृतिमा रहेका त्यस्ता घटना विषय र प्रसंगबाट फेरि सम्झनामा आइदिन्छन् । जनताको चाहना र समयको मागबमोजिम फोहरी र भ्रष्ट राजनीतिलाई विस्थापित गर्न रवि लामिछाने, बालेन्द्र शाह र एकाकार भएपछि गणतन्त्रका नाममा लुट मच्चाउनेहरू आतंकित भएका छन् । ‘हामी यो देशको पुराना शक्ति हौँ, हाम्रो अगाडि कसैको एकता टिक्दैन’ भन्दै अनेकन आरोप मात्र लगाइरहेका छैनन्, खिल्ल पनि उडाएर आफ्ना खेतालाबाट ताली खाइरहेका छन् । आफ्नो निजी स्वार्थसिद्ध अबिर लगाएर भर्खर पार्टी प्रवेश गरेका अबिरेहरूले पनि नेताको चाकरी गर्न नयाँ शक्तिलाई यो भएन र त्यो भएन भन्ने ढंगले विरोध गरिरहेका छन् । बेबुनियाद लाञ्छना लगाउँदा र आफ्नो अभिमान देखाउँदा एउटा घटना सम्झनामा फेरि ताजा भएर आएको छ ।
देश स्थानीय निर्वाचनमा थियो । काठमाडाैं महानगरको चुनाव चर्चामा थियो । एमालेका उम्मेदवार केशव स्थापितको दाँजोमा पहिला राजनीतिमा कतैपनि नदेखिएका/नसुनिएका एक जना स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको लोकप्रियता माथि माथि चढिरहेको थियो । स्थापितले भन्ने गर्थे, ‘मेरो प्रतिस्पर्धी नै छैन, चुनाव त जितेको जस्तै हो । निर्वाचनको प्रक्रिया पुर्याउनु पर्ने भएकोले विधिवत रूपमा घोषणा गर्न मात्र बाँकी हो । चुनावमा निर्वाचित भइसकेपछि म पहिला पहिलाको जस्तो खादा माला लगाउँदैन । म नेवार परिवार भएकोले सगुनमा रक्सी र अण्डा लिएर मान्छे भेट्न आउँछन्, तिनीहरूलाई अपमान गर्न मिल्दैन अलिकति रक्सी खाइदिनु पर्छ, अण्डा त खादैन साथीभाइहरूलाई बाँडिदिन्छु । कति खाने !’ भन्ने किसिमको अन्तर्वार्ता दिएका थिए । मानौं उनले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भइसके, त्यसकारण त्यो गतिविधि गर्दैछन् । ‘छोरा पाउनु कहाँ छ, कहाँ कन्दनीको तरखर’ भन्ने उखान ठ्याक्कै मिलेको थियो । निर्वाचनको मत परिणामले स्थापितको सपना भत्काइदियो । ऊनी विजयी बालेन शाहसँग मात्र पराजित भएनन्, कांग्रेसको उम्मेदवार सिर्जना सिंह श्रेष्ठसँग पनि हारेर तेस्रो तहमा पुगेका थिए ।
बालेन्द्र शाहले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीको चुनावी क्षेत्र झापाबाट उम्मेदवारी दिने चर्चा चल्यो । त्यस्तो चर्चा चल्दैगर्दा शाहलाई त्यहाँबाट उम्मेदवारी नदिनका लागि एमालेले ठुलो ब्यानरसहित विरोध ¥याली निकाल्यो । चोरको खुट्टा काट भन्ने सुनेर चोरले खुट्टा तान्छ भन्ने झैं देखिहाल्यो । एक अन्तर्वार्तामा प्रधानमन्त्री सुशीला कार्कीलाई ओलीले आफ्नो चुनावी क्षेत्रबाट प्रतिस्पर्धा गर्न चुनौती दिएका थिए । चुनाव सम्पन्न गर्ने दायित्व बोकेकी सरकार प्रमुख कार्की चुनावमा कसैसँग प्रतिस्पर्धा गर्दैनन् भन्ने बुझेर मात्रै ओलीले लोकरिझ्याइँका लागि चुनौती दिएका थिए । बालेन्द्रको बाक्लो चर्चा चल्ने बित्तिकै आत्तिए, किनकि हिजो केशव स्थापितको हालत उनले देखिसकेका थिए । विगतमा ओलीले आफ्नै चुनावी क्षेत्रमा सम्बोधन गर्ने तरखर गर्दागर्दै विरोध स्वरूप जनता जराकजुरुक उठि पिठ फर्काएर आ–आफ्नो बाटो तताएको पनि आमसञ्चारबाट सबैले देखे–सुनेकै घटना थियो । भयभित ओलीले झापामा विरोध ¥याली मात्र निकाल्न लगायनन् अन्य ठाउँबाट पनि शाहलाई लल्कार्न आफ्ना मान्छेलाई उचाल्न थाले । झापाबाट होइन बालेनको तागत छ भने मसँग चुनावमा भिड्न आए हुन्छ भनी कुना कन्दराबाट आइरहेको अभिव्यक्तिले त्यो पुष्टि गर्छ । यदि बालेन्द्र मनमा इख लिइ कुनै खेतालासँग भिड्न कुना कन्दरा गएभने ओलीको क्षेत्र ढुक्कले जोगिन्छ भन्ने एउटा बठ्याईं बाहेक अरु हुन सक्दैन भन्ने सबैले बुझिसकेका छन् ।
रवि लामिछाने र बालेन्द्र शाहको एकता जनताको लागि आशाको एउटा केन्द्र भइरहेको छ । त्यो आशाको केन्द्रसँग गणतन्त्रमा खाइखेलेका पुराना पार्टीका पुराना नेताहरू किन यति भयभित छन् भन्ने विषयमा चर्चा गरौँ । गणतन्त्र सँगसँगै देशमा परिवारवाद, नातावाद, भ्रष्टाचार, कुशासन र पक्षपात मौलाइरहेको थियो । त्यसलाई चिर्नका लागि नो नट अगेन भन्ने नारासहित अभियान बोकेर रवि लामिछाने राजनीतिमा आए, एकैचोटि चौथो शक्ति भएर उदाए । निर्वाचन परिणामबाट कुनै पार्टीले एकल सरकार बनाउन सक्ने अवस्था पनि थिएन । धोकाधडिबाट एमाले र तत्कालीन माओवादीले रविलाई उपप्रधान तथा गृहमन्त्री दिएर सरकार बनाएको घटना सबैमा अवगत छ । तर अचम्म के भयो भने रविलाई पदबाट बेदखल गर्न दोहोरो राहदानी तथा नागरिकताको मुद्दा उठाइ राजनीतिले षड्यन्त्र गर्यो । त्यतिबेला निर्वाचन आयोगले के हे¥यो र अदालतमा मुद्दा किन गएन भन्ने अहम प्रश्नको कोही कसैले चित्तबुझ्दो जवाफ दिनै परेन । त्यसकारणले षड्यन्त्र नै थियो भन्ने भनाइमा बल पुग्न जान्छ ।
अदालतको मुद्दा प्रक्रिया द्रुतगतिमा टुँगिएपछि चितवनको उपनिर्वाचनमा रविले पहिलेको भन्दा ज्यादा मत ल्याएपछि गणतन्त्र हैरान पर्यो । उपनिर्वाचनपछि आफ्नो स्वार्थसिद्ध गर्न कांग्रेसले रविलाई प्रधानमन्त्री पद दिएको कुरा जनतामा लुकेको छैन । ओली प्रचण्डले रविलाई फेरि उपप्रधान तथा गृहमन्त्री पद दिएर आफ्नो कित्तामा मिलाएका थिए । रविले प्रधानमन्त्री नस्वीकारेका कारण सरकार बनाउन नपाएको कांग्रेसले सहकारीको रकम हिनामिना गरेको आरोप लगाउँदै छानबिन नगर्दासम्म संसद् चल्न नदिने लफडा झिक्यो । बरु संसद् नचले नचलोस् कुनै हालतमा छानबिन हुन दिइन्न भनी ओलीले अड्डि कसे । जब आरजु देउवाको पहलमा कांग्रेस र एमालेको गठबन्धन भएर ओली प्रधानमन्त्री र आरजु शक्ति शाली परराष्ट्रमन्त्री बनिन् तब यिनका लागि रविको औचित्य समाप्त भयो । यहाँ रवि दूधले नुहाएका सफा र विवादरहीत व्यक्ति हुन भन्न खोजिएको होइन तर राजनीतिमा होमिएपछि भ्रष्टाचार गरेको र अनियमितता मुछिएको कतै केही भेटिँदैन । राजनीतिमा आउनु अगावै गरेका कसुर अपराध थिए भने सुरुमै छेकिदिएको भए हुनेथियो । निर्वाचित भइसकेपछि पनि मन्त्री नबनाएको भए हुनेथियो । सहकारी रकम हिनामिनामा प्रश्न उठिसकेपछि ओलीले छानबिनमा सहयोग पुग्ने भूमिका निभाउनु पर्ने थियो । तर प्रतिशोधको लागि गणतन्त्रका धूर्त खेलाडीले राज्यका निकाय दुरूपयोग गरेर रविलाई थुनामा पठाए । रविलाई थुन्नका लागि मात्र आरजुले रमेश लेखकलाई गृहमन्त्री बनाएकी हुन भन्ने खबर पनि सतहमा आइरहेका थिए । प्रयोजन सकिएपछि भविष्यमा उठ्न नसक्ने गरि ओलीले जाक्न खोजेको देखिन्छ । त्यो किनभने रविको लोकप्रियता प्रतिदिन बढ्दै जाँदा भोलि आफै सकिनु पर्छ कि भन्ने भयले उनको मनमा सुरुदेखि नै बेचैनी बढाएको हुँदोहो भनी सिधा अड्कल काट्न सकिन्छ ।
काठमाडाैं महानगरका मेयर बालेन्द्र शाहका विरुद्ध कहिले वडा वडाका अध्यक्षलाई चिमोटेर त कहिले उपमेयर उचालेर असफल बनाउने दुष्प्रयामा ओली हात धोएर लागे । त्यहाँ मेयरसँग मन मिलेर कामकाज गरिरहेका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई अकारण आठ महिनामै अन्यत्र सरुवा गरेर सरोज गुरागाइँलाई महानगरमा सरुवा गरियो । मेयरसँग कार्यशैली नमिलेपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाइँसमेत अन्यत्र सरुवा भइ गएपछि लामो समयसम्म सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर दुःख दियो । अन्त्यमा मेयर बालेन्द्रसँग भिडाउनका लागि उनै गुरागाइँलाई सरुवा गरि पठाइयो । देशको प्रधानमन्त्रीले काठमाडौं महानगरका मेयरलाई त्यस्तो अप्ठेरो पार्ने नियतले सताएको र प्रतिशोध साँधेको दुनियाँले छर्लङ्ग बुझेकै छ ।
सुरुमा रवि र बालेन्द्रसँग कुलमान पनि एक ढिक्कामा थिए, पछि कुलमान अलग्गै भए । उनीहरूको मिलनपछि कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको शिकार गर्न सक्दैन भनी ओलीले छुद्र टिप्पणी गरेपनि हिजो एकअर्कालाई कटाक्ष गरी हुक्कापानी बाराबार गर्ने तर स्वर्थ मिल्दा भाग विलो बाँडेर खाने कांग्रेस–एमाले र माओवादीको खरानी अर्थात् नेपाली कम्युनिष्टका शीर्ष नेतृत्व आपसमा गोप्य भेटघाट गरि नयाँका विरुद्ध चुनावमा गठबन्धन गर्नुपर्छ भन्ने तहसम्म पुगेका खबर मिडियामा नआएका होइनन् । किनकि नयाँ शक्तिले भ्रष्टाचारको पहाड खोतलेर बर्बाद पार्छ की भन्ने आतंकले मुटुमा ढ्याँग्रो ठोकेको छ तब अनेकन तिगडम भजाउन खोजिएको छ । कांग्रेसले सुझबुझपूर्ण विद्रोह गरेर पुराना भ्रष्टलाई नेतृत्व खोसेर पाखा लगाएपछि सेटिङ ध्वस्त भएको हुँदा खड्ग ओली हैरान छन् । थिति पद्धति मिचेर सडकबाट बहुमत देखाउन खोज्ने भन्ने आसयले कांग्रेसका गगन थापालाई आरोपित गर्नु नै ओलीको हतास मनस्थिति हो भन्नुपर्ने हुन्छ ।
भदौ २४ गतेको विध्वंसलाई एमालेको ओली समूहले सुरुमा तत्कालिन माओवादीलाई आरोपित गर्ने जमर्को गरी रहेको थियो । माओवादीभन्दा रास्वपालाई नै प्रतिस्पर्धी र जोखिम देखेर होला बालेनलाई लुसिफर र रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै खुइल्याउँदै विध्वंसको दोषारोपण गरियो । भदौ २४ गते विनाशको कारण २३ गतेको नरसंहार नै हो, त्यो विषयमा ओली समूह बिल्कुल मौन छ । मौनताले २३ गतेको दुःखद घटना मेटिन सक्दैन । चुनावले त्यसको जवाफ खोज्ने नै छ । झापा क्षेत्र नं. ५ मा पहिला देखि नै बालेनको चर्चा चलिरहेको थियो, तर उम्मेदवार दर्ता गर्न बालेन आएपछि भने ओली निकै तनावमा देखिन्छन् । उनका केही अभिव्यक्ति र हाउभाउको अड्कल काटेर विश्लेषकहरू त्यस किसिमको व्याख्या गरिरहेका छन् । बालेन झापा पुग्दा सडक ढाकेर उर्लिएको जनसागरले पनि मनोदशामा धक्का दिइरहेको छ ।
के कारणले मनोदशा खलबलिन्छ भन्ने विषयमा २०७९ को मत परिणाम थोरै अवलोकन गरौँ । ओलीले प्राप्त गरेको मत ५२ हजार बढी छ, निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीको २३ हजार बढी छ । एमालेको समानुपातिकमा ३५ हजार देखिन्छ । प्रत्यक्ष भनेको पार्टीको व्यक्ति पनि हो भने समानुपातिक भनेको पार्टी मात्रै हो । ओलीलाई ५२ हजार मत आउँदा एमाले पार्टीलाई त्यो भन्दा अति थोरै ३५ हजार मात्रै किन आएको होला ? किनभने त्यहाँ घोषित–अघोषित गठबन्धन थियो । प्रत्यक्षमा चुनाव चिन्ह हँसिया हथौडा र हलोलाई इच्छुक मतदाताहरूले मत हाल्नै पाएनन् किनकि त्यहाँ ती चुनाव चिन्ह नै छापिएका थिएनन् । गठबन्धनका नाममा त्यहाँ ‘ठगबन्धन’ भैरहेको थियो । यतिखेर गठबन्धन र तालमेल गर्ने मौका नभेटेर त होइन ओलीमा तनाव चढ्दै गएको ? यदि बालेनले चुनाव हारे भने एउटा पाठ सिकाइ हुन्छ तर त्यही चुनाव ओलीले हार्दा विरासत नै समाप्त हुन जान्छ । भिडले मात्र राजनीति को दिशा निर्देश गर्दैन, छाप लागेर बाकसमा खसेको जनमतले नै जित हारको फैसला गर्छ र गन्तव्य पहिल्याउँछ ।
– उमालाल आचार्य
प्रकाशित मितिः ११ माघ २०८२, आईतवार ११:०७

उमालाल आचार्य ।