जोखिममा बालबालिका
कर्णालीको कुल जनसंख्यामध्ये ४० प्रतिशत बालबालिका छन् । प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ छ । पछिल्लो जनगणना तथ्यांकअनुसार यसमध्ये ६ लाख ७७ हजार ४८ जना बालबालिका छन् । यसमा पनि बालकको संख्या बढी छ । तीन लाख ४५ हजार चार सय २९ जना बालक छन् भने तीन लाख ३१ हजार पाँच सय ५६ जना बालिका छन् । प्रदेशका तीन लाख चार हजार एक सय ८४ जना बालबलिकालाई विभिन्न कारणले विशेष संरक्षण र वैकल्पिक संरक्षणको आवश्यकता देखिएको छ । राष्ट्रिय बाल कल्याण परिषद्का अनुसार कर्णालीका ४१ हजार बालबालिका बालविवाहको शिकार भएका छन् । बालविवाहका कारण उनीहरू विभिन्न अधिकार प्राप्तिबाट वञ्चित भएको जनाइएको छ ।
यस्तै एक लाख ३७ हजार अर्थात् जम्मा संख्याको २० प्रतिशतभन्दा बढी बालबालिका बालश्रम गर्न बाध्य छन् । उनीहरू पारिवारिक, भौगोलिक, अभिभावकको चेतनाको कमीजस्ता विविध कारणले श्रममा लाग्न बाध्य भएको तथ्यांकले देखाएको छ । नेसनल इन्स्टिच्युट अफ कन्टेम्पोरारी स्टडिज (एनआइसिएस) ले निकालेको तथ्यांकअनुसार कर्णाली प्रदेशका २५ हजार तीन सय ६३ जना अर्थात् करिब चार प्रतिशत बालबालिका अभिभावकदेखि टाढा बसिरहेका छन् । पछिल्लो समय कोभिडका कारण देशमा निम्तिएको आर्थिक मन्दीका कारण उनीहरू अभिभावकभन्दा बाहिर रहेको जनाइएको छ । त्यसैगरी तीन हजार दुई सय ८७ बालबालिका नजिकका अन्य अभिभावकसँग बसिरहेका छन् । ९५ हजार पाँच सय ३४ जना बालबालिका एकल अभिभावकसँग छन् । दुई हजारभन्दा बढी बालबालिका विभिन्न बालगृहमा बस्न बाध्य छन् । यसैबीच कर्णालीका ६ सयभन्दा बढी बालबालिकाको परिवारसँग पुनर्मिलन गराइएको छ । हिमाली नविन समाजको सन् २००६ देखि २०२५ सम्मको घटना व्यवस्थापनको तथ्यांक अनुसार ती बालबालिकाको परिवारसँग पुनर्मिलन गराइएको पाइएको हो । यो अवधिमा कर्णालीबाट ६ सय ७६ जना बालबालिलाई परिवारको जिम्मा लगाइएको छ ।
यो अवधिमा नेपालभर नौ सय ६७ जना बालबालिकाको उद्धार गरिएको थियो । जसमा सबैभन्दा धेरै कर्णालीका बालबालिका रहेको तथ्यांकले देखाएको छ । राम्रो शिक्षा पाउने लोभले अभिभावकले नै बालबालिका बालगृहमा पठाउने गरेको पाइएको छ । अभिभावकविहीनका लागि खोलिएका बालगृहमा बाबुआमा भएका बालबालिका बस्ने गरेको पाइएको हो । कानुनमा बाबुआमा दुवै र संरक्षत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था भएपनि बालगृहमा अधिकांश बाबुआमा भएका बालबालिका बस्ने गरेको पाइएको छ । यो तथ्याकले कर्णालीमा ठूलो संख्याका बालबालिका जोखिममा रहेको देखाउँछ ।
प्रकाशित मितिः ९ माघ २०८२, शुक्रबार १८:१३
सम्पादकीय ।